काठमाडौं : बहिर्मुखी स्वभावका रवि लामिछाने जति आक्रामक छन्, त्यत्तिकै आशावादी पनि। पार्टी गठन गरेको तीन वर्ष मै पाएको झन्डै दुईतिहाइ जनमतले सत्ता प्राप्ति हुँदै छ। बुधबार पार्टीबाट निर्वाचित सांसदहरूसामु उनले परिपक्वताका साथ भने, ‘वी विल ह्यान्डल इट विथ केयर (हामीले सावधानीपूर्वक सम्हाल्ने छौं)।’
जनताले दिएको ऐतिहासिक जनमतलाई व्यक्तिगत लाभका लागि होइन, प्रणाली सुधार, सुशासन र सामाजिक न्याय स्थापना गर्न प्रयोग गर्न उनले सांसदहरूलाई आग्रह गरे। मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जान अहोरात्र काम गर्ने अठोट व्यक्त गरे। सुशासनमा नयाँ मानक स्थापना हुने उनको दाबी थियो।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा १ सय ८२ सिट जितेको छ। प्रत्यक्ष र समानुपातिकबाट सांसद बनेकाहरू सीमान्तकृतदेखि विभिन्न विषयका विज्ञहरू छन्। मुलुकको काँचुली फेर्नका लागि नेपाली जनताले अभिमत दिएको उनको प्रष्टोक्ति थियो।
बुधबार ललितपुरमा आयोजित दुईदिने अभिमुखीकरणको समापन कार्यक्रममा बोल्दै लामिछानेले भने,‘चाहेर पनि कैयौं साथीहरूलाई जोड्न सकिएन। हामी समावेशी हुन चाहन्थ्यौं, तुलनात्मक रूपमा। अन्य राजनीतिक दलभन्दा धेरै महिला साथीहरूलाई उठाए पनि पर्याप्त होइन। म दुःखका साथ क्षमायाचना गर्दै भन्छु– हाम्रो पार्टीभित्रबाट राई–लिम्बू समुदायको प्रतिनिधित्व यो पालि प्रतिनिधिसभामा हुन सकेन। आगामी दिनमा समावेशिताको यो कडीलाई प्राथमिकतामा राख्ने विश्वास दिलाउँछु।’
आक्रामकता न्यून, जिम्मेवारी बढी
५० वर्षीय रविको बोलीमा देखियो– ‘आक्रामकता थोरै, जिम्मेवारीबोध धेरै। ‘ल मेकर’ (कानुन निर्माता) का रूपमा तपाईं–हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। पछिल्लो परिवर्तन र संविधान कार्यान्वयन हुनका लागि समेत कैयौं कानुनहरू बन्न सकेका छैनन्,’ उनले थपे, ‘संविधान निर्माण भएको यति लामो समय हुँदासमेत विभिन्न बाधा–अड्चनहरू भए। तर, नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग दुईतिहाइको बहुमत दिएका छन्। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा होइन।’
अब संसद्को सेसन चलेको बेलाबाहेक सांसदहरूकोे भेट जनतासँग हुनुपर्नेमा उनले जोड दिए। ‘आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। चुनाव त फेरि पनि आउँछ, तर यसपटक हामीले नागरिकसँग ‘करार’ गरेका छौं। त्यो करारका अक्षर–अक्षर पढ्नुहोला,’ उनले भने। कानुन बनाउने प्रमुख जिम्मेवारी नेपाली जनताले काँधमा दिएको उनले स्मरण गराए। उनले जनताको आधारभूत आवश्यकतातर्फ ध्यानाकृष्ट गराए।
‘जनतालाई थाहा छैन कुन कानुन फेरेर उनको घरको बाटो बन्छ ? धारामा पानी आउँछ, बिजुली आउँछ वा इन्टरनेट चल्छ ? तर, तपाईंलाई थाहा हुनुपर्छ–कुन धाराले कहाँ अड्काएको छ। मान्छेको घरमा धारा ल्याउन तपाईंले अध्ययन गर्नुपर्ने हुन्छ। यो देशको भविष्य कस्तो लेख्ने भन्ने तपाईंहरूकै हातमा छ,’ लामिछानेले जिम्मेवारी बोध गराउँदै थपे, ‘नजानेको कुरा सिक्न कहिल्यै अप्ठ्यारो मान्नुपर्दैन। सांसदको लोगो लगाउनेबित्तिकै ज्ञान ओइरिएर आउने होइन, अध्ययन र रिसर्च गर्नुपर्छ।’
कस्तो बन्ला मन्त्रीमण्डल ?
लामिछानेले नै प्रधानमन्त्रीमा प्रस्तावित गरेका ३६ वर्षीय बालेन्द्र (बालेन) शाह ‘बेस्ट पर्फमेन्स’ दिने मन्त्रिपरिषद् गठनको गृहकार्यमा व्यस्त छन्। त्यसैले उनी दुईदिने अभिमुखीकरण कार्यक्रममा उपस्थितिसमेत जनाएनन्। यद्यपि, उनको स्वास्थ्य अवस्था र कार्यव्यस्तताका कारण अभिमुखीकरण कार्यक्रममा सहभागी नभएको रास्वपाले जनाएको छ।
रास्वपाको वाचापत्रमा १८ सदस्यीय मन्त्रिपरिषद् बन्ने उल्लेख छ। यद्यपि, १५ देखि १८ जनासम्मको छरिता मन्त्रिपरिषद् बनाउने गृहकार्यमा बालेन जुटेको स्रोत बताउँछ। जसको संकेत अध्यक्ष लामिछानले पनि गरे। ‘कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर या ‘मिडिया ट्रायल’ गरेर ‘म फलानो मन्त्री’ भन्ने जस्ता चिज बन्द गरिदिनुहोला,’ उनले निर्णय भइनसकेको उल्लेख गर्दै भने, ‘पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने निर्णय गरिसकेको छैन। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईंले भन्नुपर्दैन। पार्टीलाई तपाईंहरूको क्षमता र विज्ञता थाहा छ।’
ठूलो पार्टी भएकाले सदनलाई मर्यादित र सरकारलाई जिम्मेवारीपूर्वक सञ्चालन गर्ने छनक पाइन्छ। पार्टी सभापति रवि लामिछानेको अभिव्यक्तिमा जिम्मेवारीबोध झल्किन्छ।
प्राडा मीना वैद्य मल्ल, पूर्वविभागीय प्रमुख, केन्द्रीय विभाग, राजनीति शास्त्र, त्रिभुवन विश्वविद्यालय।पार्टीबाट निर्वाचित सांसदहरूलाई जनताले दिएको म्यान्डेट अनुसारको आचरण र कामकारबाही गर्न निर्देशन दिइएको छ। सांसदहरूलाई नैतिक चरित्र र प्रभावकारी भूमिका निर्वाह गर्नमा आत्मबल दिने खालको छ।
डा. विपिन अधिकारी,संविधानविद्झन्डै दुईतिहाइको जनम्यान्डेट छ। यसले चुनौती बढाएको छ। जनआकांक्षाको व्यवस्थापन गर्दै सरकार सञ्चालनको प्रभावकारिता नै चुनौतीका रूपमा देखिएका छन्।
लोकराज बराल, प्राध्यापक, राजनीतिक विश्लेषक
बिचौलिया र दुष्प्रभावबाट जोगिऊँ
सभापति लामिछानेले देशमा बिचौलियाको बिगबिगी रहेको अनुभव सुनाए। स्वार्थको बन्दी बनेमा समस्या सिर्जना हुने बताए। ‘देशको परिस्थिति यस्तो छ कि सरकार बनेको दिनबाटै एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ–ठाउँबाट प्रयास हुन्छन्,’ उनले थपे, ‘हामी बच्नुपर्छ। हामीलाई फुटाउने र गिराउनेहरूको बिगबिगी छ। विरोधीहरूको कमी रहँदैन। अर्काले फुटायो, विदेशीको चाल, उसको चाल’ जस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। हामी बलियो हुनुपर्छ।’
विभिन्न पृष्ठभूमिबाट पार्टीमा प्रवेश गरी निर्वाचित भएका सांसदहरूलाई ‘म केन्द्रित’ राजनीतिबाट बाहिर उठेर देश केन्द्रित राजनीति गर्न उनले सुझाए।
परिणाममुखी राजनीतिमा जोड
सांसदहरूलाई स्टन्ट नभई परिणाममुखी काम गरेर देखाउनुपर्नेमा जोड दिए। फोटो, प्रचार र प्रभाव देखाउने राजनीतिबाट टाढा रहन आग्रह गर्दै जनताले महसुस गर्ने गरी डेलिभरी (सेवाप्रवाह) हुनुपर्नेमा जोड दिँदै देखिने राजनीतिभन्दा महसुस हुने परिणामलाई प्राथमिकता दिन आग्रह गरे। प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुको अर्थ कानुन बनाउन आएको भन्दै उनले सांसदहरूलाई आफ्नो भूमिकाप्रति स्मरण गराए।
फेरिएको भूमिकाप्रति सचेत गराउँदै थपे, ‘तपाईं–हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको अभिव्यक्ति वा क्रियाकलापबाट हुनुहुँदैन। सञ्चारमाध्यममा बोल्न र आफ्ना बारेमा ‘वाहवाह’ हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरूले राम्रो कुरा लेखी दिँदा मख्ख पर्नुहोला, तर तपाईंले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्ध वा अर्थतन्त्रमा के प्रभाव पारेको छ भन्ने याद नगरी हल्काफुल्का रूपमा उभिनुभयो भने त्यसले देशलाई दीर्घकालीन असर गर्न सक्छ। अब तपाईं हिजोको मान्छे होइन, जिम्मेवार सांसद र राजनीतिज्ञ हो।’
विजेता हुनुको अर्थ जिम्मेवार र सहिष्णु
पार्टी सभापति लामिछानेले लोकतान्त्रिक पद्धति, वर्तमान व्यवस्था र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए। शासकीय स्वरूपमा सामथ्र्य पुग्दा केही सुधार चाहिएको हेक्का भएको उल्लेख गर्दै संविधानप्रतिको प्रतिबद्धता कायमै रहेको बताए।
जहानियाँ राणाशासन र पञ्चायती निरंकुश शासन व्यवस्थाविरुद्ध आन्दोलन गरेका पुराना राजनीतिक दलप्रति सहिष्णुता देखाए। ‘इतिहास रचनामा एउटा मान्छे वा पार्टीको मात्र हात हुँदैन। पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आजको दिन ल्याउनुभएको छ। उहाँहरूका बेथितिप्रति हाम्रो प्रश्न हो, तर इतिहासले दिएको उहाँहरूको योगदानलाई अपमानित गर्ने हक हामी कसैलाई छैन। इतिहास उहाँहरूले लेख्नुभयो, भविष्य हामी बनाउँछौं,’ उनले भने।
विपक्षी राजनीतिक दलहरूप्रति कटाक्ष भएमा अनर्थ हुने भन्दै सांसदहरूलाई जिम्मेवार र सहिष्णु बन्न आग्रह गरे। ‘आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विपक्षीहरूप्रति सामाजिक सञ्जालमा जुन ढंगले अभिव्यक्ति दिइरहनुभएको छ, त्यो कदापी स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु वा विपक्षीलाई कटाक्ष गर्नु होइन, रास्वपाका समर्थकहरू अराजक, असहिष्णु र सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिन्छन् भन्ने आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईंहरूको काँधमा छ,’ उनले सांसद र समर्थकहरूलाई अनुरोध गर्दै भने, ‘सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार र सहिष्णु भएर प्रस्तुत हुन अनुरोध गर्दछु। यो रास्वपाले जितेको होइन, देशले जितेको हो।’
- ५० वर्षीय रविको बोलीमा देखियो–आक्रामकता थोरै, जिम्मेवारीबोध धेरै।
- विभिन्न पृष्ठभूमिबाट पार्टीमा प्रवेश गरी निर्वाचित भएका सांसदहरूलाई ‘म केन्द्रित राजनीतिबाट बाहिर उठेर देश केन्द्रित’ राजनीति नगर्न सुझाव।
- जहानियाँ राणाशासन र पञ्चायती निरंकुश शासन व्यवस्थाविरुद्घ आन्दोलन गरेका पुराना राजनीतिक दलप्रति सहिष्णुता देखाए।
- संसद्को सेसन चलेको बेलाबाहेक सांसदहरूकोे भेट जनतासँग हुनुपर्नेमा जोड।
रास्वपाका सांसदलाई ‘डिपफेक’को डर
कोट पाइन्टमा सजिएर पार्टीको अभिमुखीकरण कार्यक्रममा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद दीपकराज बोहरालाई ‘फेक फोटो’ले दिक्क पार्यो। सामाजिक सञ्जालमा भाइरल बनेको फोटोमा देखाइएको थियो, ‘मदिराको बोतल र ड्रमिस्टिक (मासुको परिकार)। त्यहीं ‘फेक फोटो’ फेसबुकमा राख्दै कतिपयले केएफसीमा मस्त भन्दै घृणास्पद अभिव्यक्ति कटाक्ष गरे।
कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहरा पनि के कम ! उनले पनि सामाजिक सञ्जालबाटै खण्डन गरे। आफूमाथि भएको साइबर हिंसाको प्रतिकार गर्दै उनले फेसबुकमा लेखे, ‘देश बनाउने काम सस्ता बकम्फुसे बहसले होइन, सही जानकारी र इमानदार आलोचनाले हुन्छ। भ्रम फैलाएर होइन, सही बाटो देखाएर मात्रै देश बन्छ।’
छापा र टेलिभिजन पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका बोहराले कांग्रेसका एनपी साउदलाई पराजित गरेका हुन्। वास्तविक फोटो सम्पादन गरेर अफवाह फैलाउने प्रवृत्ति चिर्नुपर्ने चुनौतीप्रति उनी जानकार छन्। रास्वपाको सचिवालय सदस्यसमेत रहेका बोहराको भनाइ छ, ‘हामीलाई आलोचना र निगरानी पनि चाहिन्छ। तर,तथ्यलाई मोडेर होइन, तथ्यकै आधारमा।’
झन्डै दुईतिहाइ बहुमतसहित नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरेको रास्वपाका सांसदमाथि डिजिटल दुष्प्रचार सुरु भएको छ। जसको पहिलो पीडित हुन पुगेका छन्, ‘३८ वर्षीय सांसद बोहरा।
संसद्मा प्रवेश गर्न नपाउँदै सामाजिक सञ्जालमा फेक फोटो र भिडियो फैलिन थालेपछि डिजिटल दुष्प्रचारको चुनौती देखिएको छ। विज्ञहरूका अनुसार, डिजिटल माध्यमबाट आफूलाई लाभ वा अरू कसैलाई हानि नोक्सानी पुर्याउने वा आम मानिसलाई झुक्याउने बदनयतकासाथ जानीजानी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य नै दुष्प्रचार हो।
नवनिर्वाचित सांसदहरूले अभिमुखीकरण कार्यक्रमको पहिलो दिनमै फेक फोटो र भिडियो बनाउनेलाई कानुनी कठघरामा उभ्याउनुपर्ने महसुस गरेका छन्। ‘अबको राजनीति केवल संसद्भित्रको बहसमा सीमित रहने छैन, डिजिटल प्लेटफर्ममा हुने ‘दुष्प्रचार’को जोखिम पनि उत्तिकै छ,’ नवनिर्वाचित एक सांसदले भने, ‘झन्डै दुई तिहाइ बहुमतसहित उदाएको रास्वपा जस्तो नयाँ शक्तिका लागि यो चुनौती झन् संवेदनशील छ। किनभने पार्टीको राजनीतिक पुँजी नै स्वच्छ छवि र जनविश्वासमा अडिएको छ।’
झन्डै दुईतिहाइ पछि सरकार गठनको तयारीमा रहेको बेला अभिमुखीकरण कार्यक्रममा सहभागी सांसदहरूको छवि नै धुमिल पार्ने प्रयासलाई सुनियोजित आक्रमणको संकेतका रूपमा शीर्ष नेताहरूले लिएका छन्। रास्वपाको शक्ति कमजोर पार्ने मनोविज्ञान सक्रिय रहेको र डिजिटल माध्यमबाट प्रहार सुरु भएको शीषनेताहरूको बुझाई छ।
फेक फोटो र भिडियोपछि अब ‘फेक न्युज’को बाढी आउने जोखिमले चुनौती थपेको नेताहरू स्वीकार्छन्। नवनिर्वाचित सांसदहरूलाई सूचनाप्रविधि विज्ञ डा. दोभान राईले बुधवार प्रशिक्षण दिँदै प्रविधिको सदुपयोग/दुरुपयोगको सम्बन्धमा जानकारी गराएकी थिइन्। उनले कृत्रिम बुद्धिमता र एल्गोरिद्मः लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा प्रभाव विषयमा प्रशिक्षण दिएको रास्वपाले जनाएको छ।
के हो डिपफेक ?
प्रविधिको प्रयोग गरेर कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरी श्रव्य, दृश्य सामग्री उत्पादन गर्ने सोको प्रयोगमार्फत तस्बिर, आवाज र भिडियोको मिश्रणबाट मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति र भ्रामक समाचार तयार पार्ने कार्य नै डिपफेक हो।
डिपफेकबाट नेताहरूले नबोलेका कुरा बोले झैँ देखाइने, नभएको घटनालाई वास्तविक जस्तो प्रस्तुत गरिने सम्भावना रहेको विज्ञहरू बताउँछन्। यस्तो अवस्थामा सत्य र गलत छुट्ट्याउने आम नागरिकका लागि मात्र होइन,स्वयं नेताहरूका लागि पनि चुनौतीपूर्ण बन्ने देखिएको छ।
सामाजिक सञ्जाल कम्पनीहरूको कार्यालय नेपालमा नहुनु, फेक आईडी पहिचान गर्न नसक्नु अर्को चुनौती रहेको छ। प्रविधि तीव्र गतिमा अघि बढ्दा राज्य संयन्त्र भने पछि परेको छ। ‘डिजिटल नियमन गर्नुपर्छ। तर,कडिकडाउ होइन,’ अधिवक्तासमेत रहेका रास्वपाका सांसद यज्ञमणि न्यौपानेले भने, ‘आर्टिफिसिलएल इन्टेलिजेन्स (एआई ) र डिजिटल माध्यमको दुरुपयोग रोक्नुपर्छ। व्यवस्थित गर्नुपर्छ।’
सीएनएनकी पूर्वपत्रकारसमेत रहेकी सांसद सुम्निमा उदासले पनि डिपफेक चुनौतीपूर्ण रहेको बताइन्। ‘धेरै नीति, नियमहरू परिमार्जन र परिवर्तन गर्नुपर्ने छ,’ धादिङ–१ बाट निर्वाचित सांसद आसिका तामाङले भनिन्, ‘विगतमा जे जति बेथितिहरू थिए, ती हटाउनका लागि नै जनताले जिताउनु भएको हो। बोल्नभन्दा काम गर्न जनताले म्यान्डेट दिनुभएको हो।’
प्रतिक्रिया दिनुहोस !