के गगन थापाको राजीनामा केन्द्रीय समितिले स्वीकृत गर्ला ?

के गगन थापाको राजीनामा केन्द्रीय समितिले स्वीकृत गर्ला  ?
सुन्नुहोस्

चुनावको मुखमै विशेष महाधिवेशनबाट पार्टी नेतृत्व काँधमा लिएका कांग्रेस सभापति गगन थापा आफैंले चुनाव हारे। पार्टी पनि निकै खुम्चियो। त्यसपछि सभापति थापालाई ‘नैतिकता’ को आधारमा राजीनामा दिन ‘दबाब’ सिर्जना भयो। सभापति थापाले पदबाट राजीनामा दिए। तर, जिज्ञासा छ– के उनको राजीनामा केन्द्रीय समितिले स्वीकृत गर्ला ? कांग्रेसको राजनीतिक यात्रा कसरी अघि बढला ? 

किनभने, सभापति थापाले राजीनामा दिएको खबर सँगै पार्टीकै पदाधिकारीहरूले उनलाई राजीनामा नदिन सुझाएका थिए। विशेष महाधिवेशनबाट एकतर्फी चयन भएको केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्छ भन्ने थाहा पाएरै थापाले राजीनामा दिएका हुन त ? सँगसँगै जर्बजस्त प्रश्न उब्जेको छ। किनभने, उपसभापति विश्वप्रकाश शर्माले राजीनामा नदिन सार्वजनिक रूपमै थापालाई सुझाइसकेका छन। थापाले पनि उपसभापति शर्मालाई नै राजीनामा पत्र थमाएका छन्। 

कांग्रेसका एक पदाधिकारीले सभापति थापाले उपसभापति शर्मासमक्ष राजीनामा पेस गरिसकेकाले केन्द्रीय समिति बैठकमा छलफल हुने बताए। ‘शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। त्यहीँ स्वीकृत हुने नहुने निर्णय हुन्छ, ती पदाधिकारीले भने। 

यसअघि सभापति थापा र उपसभापति शर्माबीच राजीनामाको विषयलाई लिएर पटक–पटक अनौपचारिक छलफल भएका थिए। शर्माले सभापतिलाई राजीनामा नदिन पटक–पटक आग्रह गरेका थिए। तर, नमानेपछि उक्त राजीनामा पत्रलाई उपसभापति शर्माले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ। थापाले दिएको राजीनामा पत्र भने कांग्रेसले सार्वजनिक गरेको छैन। उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत हुने बताइसकेका छन्। 

चुनावको हारको समीक्षा गर्न राजीनामा दिएको हो कि, केन्द्रीय कार्यसमितिमा सहमतिपूर्वक मैले राजीनामा दिए केन्द्रीय समितिले अस्वीकृत गर्नु भनेर राजीनामा दिएको हो ? 
रामहरि खतिवडा, नेता 
निर्वाचनमा उहाँको नेतृत्वमा जाने र १५ औं महाधिवेशन गराउने जिम्मेवारीसाथ उहाँ नेतृत्वमा आउनुभएको हो। महाधिवेशन गराउन आएको व्यक्तिले बीचमै छोड्न मिल्दैन।
गुरुराज घिमिरे, महामन्त्री 

उनले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने बताए। ‘सभापतिले निर्वाचन मतपरिणामका सवालमा नैतिक जिम्मा लिन्छु भन्नु नै सकारात्मक कुरा हो। यति बेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ उपसभापति शर्माले भने, ‘बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ। डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन।’ 

चुनावमा कांग्रेसको शर्मनाक हार र सभापतिकै पराजय लगत्तै केही नेताहरूले थापालाई राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए। कांग्रेस नेता रामहरि खतिवडाले अरूलाई देखाउनकै लागि मात्र राजीनामा दिएको जस्तो नगर्न अनुरोध गरेका छन्। 

‘चुनावको हारको समीक्षा गर्न राजीनामा दिएको हो कि, केन्द्रीय कार्यसमितिमा सहमति पूर्वक मैलै राजीनामा दिए केन्द्रीय समितिले अस्वीकृत गर्नु भनेर राजीनामा दिएको हो ? केन्द्रीय समिति बैठक बसेपछि मात्रै थाहा होला,’ खतिवडाले भने। 

चुनावी परिणामले पनि सिंगो पार्टीलाई बृहत् एकतामा लैजानुपर्ने जरुरी देखिएको खतिवडाले बताए। ‘अब मेरो तेरो भन्नु आवश्यक छैन,’ उनले भने, ‘पुरानालाई पनि समेट्नुपर्छ र नयाँका कुरा पनि सुन्नुपर्छ। पार्टीलाई एकतामा लैजान सकिएन भने जुन पुस्ताको जो आए पनि केही हुने रहेनछ भन्ने पुष्टि भइसक्यो।’ कांग्रेस जति सुध्रियो भनेर हल्ला गरे पनि जनताका माझमा सुध्रिएको नदेखिएको उनको तर्क छ। 

‘पहिला आफ्ना आचरण, व्यवहार, गल्तीलाई सुधारेर अगाडि जानुपर्ने आवश्यकता देखियो,’ खतिवडाले भने, ‘म मात्र बदलिएर केही हुँदैन जनताको भावना बदल्न कांग्रेस लाग्नुपर्छ। फेरि पनि पूर्वाग्रह र गुटको राजनीति गर्न थाल्यौं भने एउटा समूहले अर्को समूहलाई नगन्ने प्रवृत्तिको विकास हुँदै गयो भने जतिसुकै मोर्डन भए पनि कांग्रेस मोर्डन भएर जाने लक्षण देखिदैन।’ राजीनामा दिनुभन्दा सबै नेतालाई व्यवस्थापन गरेर लिएर जाने वातावरण निर्माण गर्नुपर्ने उनले बताए। 

पार्टीका महामन्त्री गुरुराज घिमिरेले नैतिक जिम्मेवारी लिनुपर्ने बेलामा राजीनामा दिएर पञ्छिन नमिल्ने बताए। ‘विशेष परिस्थितिको निर्वाचन हो,’ घिमिरेले भने, ‘ उहाँका जिम्मेवारी दुईवटा छन् एउटा जिम्मेवारी पूरा गर्नुभयो। निर्वाचनमा उहाँको नेतृत्वमा जाने र १५औं महाधिवेशन गराउने जिम्मेवारी छ। १५औं महाधिवेशन गराउन आउनुभएको हो उहाँ। महाधिवेशन गराउन आएको व्यक्तिले बीचमै हिँड्न मिल्दैन। कांग्रेसलाई उहाँको आवश्यकता छ। उहाँले राजीनामा फिर्ता लिनुहुन्छ भन्ने पूर्ण विश्वास छ। यति त्यसो भएन भने केन्द्रीय समितिले जे निर्णय गर्छ त्यही हुन्छ।’ 

राजीनामा नै समस्याको समाधान नभएको घिमिरेको भनाइ छ। ‘यो सम्हालिने बेला हो,’ उनले भने, ‘नेता, कार्यकर्ताको मनोबल गिरिरहेका बेला त्यसलाई उठाउन हामीले भरपर्दो बाटो नदिइकन यस्तो निर्णय लिनुहुँदैन।’ 

संस्थापन (शेरबहादुर देउवा) पक्षको सहभागिताबिनै पुस २७ देखि ३० गतेसम्म भएको कांग्रेस विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्विरोध निर्वाचित भएका थिए। थापाको नेतृत्वमा नयाँ समिति निर्वाचित भएपछि विवादकाबीच निर्वाचन आयोगले मान्यता दिएको थियो। तर, संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतले रिट दायर गरेका थिए। उक्त रिट विचाराधीन छ।

प्रवक्ता देवराज चालिसेले कांग्रेसले चुनावमा ल्याएको नतिजाको जिम्मेवारी एक जनाले मात्र लिन आवश्यक नहुने बताए। ‘पार्टीले ल्याएको परिणाम सबैले समीक्षा गर्नुपर्ने विषय हो, प्रवक्ता चालिसेले भने, ‘एउटा व्यक्ति मात्रै जिम्मेवार हुँदैन। पार्टीको समग्र परिस्थिति, विगतका पृष्ठभूमि र कारण पनि जिम्मेदार हुन्छन्। आत्मसमीक्षा नगरी राजीनामाको विषयमा प्रवेश गर्न उचित हुँदैन। यसमा केन्द्रीय समितिको बैठकले निर्णय गर्छ।’

कांग्रेसको विधानमा केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने उल्लेख छ। केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछन् र ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिने पार्टी विधानमा व्यवस्था छ।

विशेष महाधिवेशनलाई लिए कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता प्रदान गरेको थियो। उक्त निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेकामा त्यसको टुंगो नलाग्दै थापाको राजीनामा आएको हो।

विशेष महाधिवेशन पक्षधरले तत्कालीन सभापति देउवाको अनुहार लिएर कांग्रेस चुनावमा जान नसकिने बताएपछि देउवा निर्वाचनको समयमा मतदान नगरी स्वास्थ्य उपचारका लागि विदेश गएका थिए। प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले १८२ सिट ल्याउँदा कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिटमा खुम्चिएको छ। मतपरिणामपश्चात् मौन रहेका थापा सार्वजनिक मञ्चमा पनि देखिएका छैनन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.