बढ्दो प्रदूषणले रोगको जोखिम
काठमाडौंको भूबनावट कचौराजस्तो छ। यहाँ हावाको गुणस्तर अत्यन्तै नाजुक हुने गर्छ। प्रदूषण उपत्यका बाहिर निस्किएर जान सक्दैन। जसका कारण काठमाडौंको वातावरण दूषित हुने गर्छ।
प्रदूषणको हिसाबले काठमाडौं सधैं विश्वको टप टेन सहरभित्र पर्ने गर्छ।जसको असर काठमाडौंवासीमा परिरहेको छ। प्रदूषणको कारणबाट मात्रै वार्षिक ४८ हजार मानिसको मृत्यु हुँदै आइरहेको छ। वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. एमके पिया भन्छन्, ‘काठमाडौंको दूषित वातावरणले फोक्सो र क्यान्सर रोग बढाउन सहयोग पुर्याउँछ। ’यतिबेला रुघाखोकी, ज्वरो आउने, घाँटी दुख्ने, आँखा पोल्नेलगायतका स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नेको संख्या बढिरहेको छ। काठमाडौंको मौसममा निकै छिटो फेरबदल भएको कारण मौसमजन्य स्वास्थ्य समस्याहरू पनि देखिएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, वायु प्रदूषण संसारकै सबैभन्दा ठूलो वातावरणीय समस्या हो। वायु प्रदूषणका कारण वार्षिक ७९ लाख मानिसको मृत्यु हुन्छ। यीमध्ये ९० प्रतिशत मृत्यु कम र मध्यम आय भएका देशहरूमा हुने गर्छन्। सन् २०२४ मा आईक्यू एयरले गरेको श्रेणीकरणअनुसार वायु प्रदूषणको हिसाबले १ सय ३८ देशहरूमध्ये नेपाल ७ औं प्रदूषित मुलुकमा पर्छ। नेपालको वायु प्रदूषण डब्लूएचओको मापदण्डभन्दा ८ गुणा बढी देखिएको छ।
नेपालको वायु प्रदूषण डब्लूएचओको मापदण्डभित्र पुर्याउन सके हरेक नेपालीको आयु ३ दशमलव ३ वर्षले बढ्ने अध्ययनमा पाइएको छ। नेपालमा वायु प्रदूषणका कारण वार्षिक ४१ हजार ३ सय जनाको मृत्यु हुने गर्दछ। जसमध्ये २१ प्रतिशत ५ वर्षमुनिका बालबालिकाहरू रहेका छन्।
– टाउको दुख्नु
– श्वास फेर्न गाह्रो हुनु
– आँखा पोल्नु
– खोकी लाग्नु
– शरीरको विभिन्न भागमा एलर्जी हुनु
दीर्घकालीन असरहरू
– श्वासप्रश्वाससम्बन्धी समस्याहरू (दम, सीओपीडी बढ्नु)
– मुटुसम्बन्धी रोग तथा हृदयाघात हुनु
– मस्तिष्कघात हुनु
– मधुमेह हुनु
– विभिन्न प्रकारको क्यान्सर हुनु
– स्मरणशक्ति कमजोर हुनु
प्रदूषण नियन्त्रणका उपायहरू
– हिँड्ने तथा साइकलको प्रयोग गरौं
– सार्वजनिक तथा विद्युतीय सवारीसाधनको प्रयोग गरौं
– सवारीसाधनको नियमित मर्मतसम्भार गरौं
– स्वच्छ ऊर्जा तथा प्रविधिहरूको प्रयोग गर्ने
प्रदूषणबाट बच्ने उपाय
– अत्यधिक प्रदूषित समय र स्थानमा बाहिर नजाने
– बाहिर जानै परेमा व्यक्तिगत
सुरक्षा उपायहरू– मास्क, चस्मा, शरीर ढाक्ने कपडाको
प्रयोग गर्ने।
के हो वायु प्रदूषण ?
वायुमा कुनै प्रकारको प्रदूषित पदार्थजस्तै धुलो, धुवाँ दुर्गन्ध, रासायनिक पदार्थ, विषादी आदिको मिश्रणलाई नै वायु प्रदूषण भनिन्छ।वायु प्रदूषणको बेला हावाका ससाना कणहरू लामो समयसम्म हावामा तैरेर बस्न सक्छन्। श्वास फेर्दा शरीरको भित्री भागसम्म पुग्न सक्छन्।
अहिले प्रिमनसुन सुरु भइसकेको छ।यो वर्षको प्रिमनसुन गतवर्षभन्दा सुरुवातदेखि नै सक्रिय रहेको मौसमविद्हरू बताउँछन्। काठमाडौं उपत्यकामा वर्षा हुँदा पनि केही मात्रामा प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्ने वातावरणविद्हरूको भनाइ छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले यो वर्षको प्रिमनसुन सुरुदेखि नै सक्रिय भएकाले प्रदूषण घटाउन भूमिका खेलेको बताइन्।शुक्रबारदेखि पुनः पश्चिमी वायु सक्रिय हुने भएकाले थप वर्षा हुने अनुमान गरिएको छ।
विभागकै वरिष्ठ मौसमविद् वरुण पौडेलले पनि असिना, पानी, मेघगर्जन, चट्यांग पर्ने र हावाहुरी चल्ने पनि भएकाले आगामी मौसम पनि राम्रो हुने अपेक्षा गरिएको र प्रदूषण घट्न सक्ने बताए।विभागको तथ्यांकअनुसार बिहीबारको साँझको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भक्तपुरको १०८, भैंसेपाटीको १०१, खुमलटारको ५६, रत्नपार्क ६४ रहेको छ। तर २४ घण्टाको विवरणमा भक्तपुरको १६९, भैंसेपाटीको १०८, रत्नपार्कको १२२ र खुमलटारको ९३ रहेको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार २४ घण्टाको अवधिमा ३०० एक्यूआई पुगेपछि मात्रै अत्यन्त्र नाजुक अवस्था मानिन्छ।गत साता १७४ एक्यूआईसम्म पुगेकाले भयभीत हुन तथा आत्तिनुपर्ने अवस्था नरहेको जनाएका थिए। नेपालको राष्ट्रिय मापदण्डअनुसार सबैभन्दा राम्रो प्रतिघनमिटर ४० माइक्रोग्राम हुनुपर्छ। तर वर्षात्को समयमा मात्रै मापदण्ड अनुसारको हावाको गुणस्तर पाइने गरेको छ।
प्रतिक्रिया दिनुहोस !