लाञ्छना र संघर्षबीच सांसद बनेकी रिंगला यादव
परासी : नवलपरासीकी ४० वर्षीया रिंगला यादव एमालेबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बनेकी छन्। सानैदेखि हक्की स्वभावकी रिंगलाको जीवनमा धेरै उतारचढावहरू आए। लामो समयसम्म पार्टीभित्र र बाहिरबाट आएका लाञ्छना, पारिवारिक हल्ला र सामाजिक दबाबलाई बेवास्ता गर्दै राजनीतिमा सक्रिय रहिन्। उनले देखाएको धैर्य र निरन्तरता नै उनको सफलताको मूल आधार बन्यो। त्यही आधारमा उनी सांसद बन्न सफल भइन्।
२०४२ साल असोज ५ गते नवलपरासीको रामग्राम नगरपालिका–१५ सुक्रौलीमा जन्मिएकी रिंगलाको जीवन सामान्य ग्रामीण परिवेशबाट सुरु भएको हो। विवाहपश्चात् पाल्हीनन्दन गाउँपालिका–६ सनई पुगेपछि उनको जीवनमा थप जिम्मेवारी थपियो।। सामाजिक संस्कार र राजनीतिबीच सन्तुलन मिलाउनुपर्ने चुनौती उनमा थियो। यी सबैलाई मिलाउँदै उनले आफ्नो राजनीति यात्रालाई निरन्तरता दिइन्।
सुरुमा उनलाई विवाहपछि राजनीतिक छोड्न दबाब आउने हो कि भन्ने संशय थियो। तर, परिवार, विशेषगरी श्रीमान्को साथ र प्रेरणाले उनी निरन्तर अघि बढ्दै गइन्। परिवारको सहयोगले उनको राजनीतिलाई थप हौसायो। विवाहपछि रिंगलाको जीवनमा एउटा अनौठो पक्ष थपियो। सामाजिक संस्कार र परम्परालाई राम्ररी बुझेकी रिंगलाको जीवनको एउटा अनौठो पक्ष पहिरन हो। घरमा बुहारीको भूमिकामा साडी लगाउने र बाहिर निस्कँदा कोट–पाइन्ट र सर्ट लगाउने गर्छिन्। उनको माइत र घरको दूरी झन्डै ६ किलोमिटरको छ। उनले दिनमा दुईपटक पोसाक परिवर्तन गर्छिन्। साडी लगाएर घरबाट निस्केपछि उनी सोझै माइतमा पुगेर कोट–पाइट र सर्ट लगाएर बाहिरको राजनीतिक कामसँगै जनताको काममा खटिन्छिन्। माइत पुगेर फेरि साडी लगाएपछि उनी साँझ घर फर्किन्छिन्। अहिले पनि यो दिनचर्या उनको निरन्तर छ।
उनका आफ्नै सवारीसाधन छन्। चारपांग्रे र मोटरसाइकलमा दौडधुप गर्ने उनलाई सवारीसाधन चलाउँदा कोट–पाइन्ट सहज हुने गरेको छ।
रिंगलाको राजनीतिक यात्रामा सबैभन्दा पीडादायी अनुभव भनेको व्यक्तिगत जीवनबारे फैलाइएका हल्ला हुन्। पार्टीकै केही व्यक्ति र बाहिरका मानिसहरूले उनको सम्बन्धविच्छेद भएको भन्दै हल्ला र भ्रम फैलाए। तर, उनले यस्ता लाञ्छानालाई आफ्नो राजनीतिक सक्रियता रोक्ने प्रयासका रूपमा बुझिन् र बेवास्ता गरिन्।
७ वर्षका छोरा र १७ वर्षकी छोरीकी आमा रिंगलालाई राजनीतिमा अघि बढ्न श्रीमान्को महŒवपूर्ण साथ रह्यो। पाँच वर्ष वैदेशिक रोजगारबाट फर्किएर उनका श्रीमान्ले कृषि फर्म सञ्चालन गरेका छन्। रिंगलाको गार्मेन्ट पनि छ। यही व्यवसायले उनको परिवारको आर्थिक आधार बलियो बनाएको छ। २०६२ सालको जनआन्दोलनबाट उनको राजनीति यात्रा सुरु भएको हो। माइती घरको पारिवारिक पृष्ठभूमि राजनीतिमै जोडिएको थियो। उनका बुबा तत्कालीन सुक्रौली गाउँ पञ्चायतका सदस्य थिए। परिवार राजनीतिक सोच भएका कारण पनि उनलाई राजनीतिमा अभिप्रेरित गरेको हो।
कक्षा १२ सम्मको अध्ययन पूरा गरेकी रिंगलाको सक्रिय राजनीति भने २०६५ सालमा पाल्ही बुहुमुखु क्याम्पसको स्ववियु निर्वाचनबाट भएको हो। उपाध्यक्षमा चुनाव लडेकी उनले पहिलो प्रयासमै पराजय भोग्नुपर्यो।
अनेरास्ववियुको केन्द्रीय सदस्यदेखि चार कार्यकालसम्म पार्टीको जिल्ला सदस्य भइन्। हाल उनी अखिल नेपाल महिला संगठनको जिल्ला इन्चार्ज छिन्। यसअघि पनि पार्टीको जिल्ला उपसचिव रहेकी उनी अहिले फेरि सोही जिम्मेवारीमा छन्। झन्डै ८ वर्ष राहत शिक्षकमा जागिर खाएकी रिंगला त्यतिबेला जिल्लामा गठित राहत शिक्षक संघर्ष समितिकी कोषाध्यक्ष थिइन्। जागिरसँगै उनी पार्टीमा पनि सक्रिय रहिन्। पार्टीले उनलाई राहत शिक्षकमा कार्यरत रही रहँदा २०७० सालमा जागिर छाडेर संविधानसभाको उम्मेदवार बन्न लगायो। त्यसलाई सहर्ष स्वीकार गरिन् र जागिर छाडिन्। तत्कालीन क्षेत्र नम्बर ४ मा घर भएकी उनलाई पार्टीले क्षेत्र नम्बर ५ मा उम्मेदवार बनायो। त्यस क्षेत्रबाट बारम्बार चुनाव जितेका नेपाली राजनीतिका अनुभवि नेता हृदयश त्रिपाठी र नेपाली कांग्रेसका देवकरण कलवार (हाल लुम्बिनी प्रदेश मन्त्री) चुनावी मैदानमा रहेका कारण पनि उनलाई चुनाव जित्नु सहज थिएन। चुनावमा उनी पराजित भइन्।
चुनाव हार्नु र जित्नुभन्दा पनि उनका लागि यो पहिलो संसदीय निर्वाचनको अनुभव थियो। त्यसमा पनि आफूलाई योग्य ठानेर पार्टीले टिकट दिएर पठाएकोमा उनलाई गर्व थियो। उनको संगठनप्रतिको लगन र बफादारको कदर गर्दै पार्टीले २०७४ मा लुम्बिनी प्रदेश सभाको समानुपातिक सभासद्को सूचीमा राखे पनि अन्तिम छनोटमा अटाइनन्। २०७९ को पाल्हीनन्दन गाउँपालिकाको उपाध्यक्ष पदमा पनि उनले पराजय भोगिन्। लगातारको असफलताले उनको आत्मविश्वासलाई कमजोर बनाएन्। बरु पार्टीले आफूलाई योग्य ठानेर तीन÷तीन पटक उम्मेदवार बनाएपछि त्यसलाई अवसर र विश्वासका रूपमा लिँदै राजनीतिप्रति उनको लगाव झन् बढ्यो।
पार्टीले खटाएपछि जुनसुकै क्षेत्र र काममा इमान्तारिताका साथ लाग्ने रिंगलालाई २०८२ को प्रतिनिधिसभा चुनावमा मधेसी कलस्टरतर्फको महिलामा एक नम्बर सूचीमा राखेर निर्वाचन आयोगमा सिफारिस गर्यो। सिफारिसका आधारमा अन्ततः उनी समानुपातिक सांसद बन्न
सफल भइन्।
सांसद बनेपछि रिंगलाले आफ्नो प्रतिनिधित्व केवल व्यक्तिगत उपलब्धि नभई समग्र मधेसका महिलाहरूको आवाज भएको बताएकी छन्। उनको बुझाइँमा राजनीतिमा धैर्य सबैभन्दा ठूलो शक्ति हो। ग्रामीण क्षेत्रका मधेसका महिलाहरू अझ पनि चेतना अभावका कारण पछाडि परेकाले महिलामैत्री कानुन निर्माण र कार्यान्वयनका लागि आफूले संसद्मा सक्रिय भूमिका खेल्ने रिंगलाको प्रतिबद्धता छ।
प्रतिक्रिया दिनुहोस !