बिरामीको समस्या कसले बुझ्ने ?

लाइन छ, पालो छैन

लाइन छ, पालो छैन

भक्तपुर : सात  वर्षअघि अंग प्रत्यारोपण गरेका कपिलवस्तुका ६२ वर्षीय खिमबहादुर बस्नेत  दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नियमित फलोअपमा  छन् । तर,  हरेकपटक चिकित्सक भेट्न ओपीडी टिकटकै लागि उनको थलिएको  शरीरले संघर्ष गरिरहनु परेको छ । 

मंगलबार बिहान ५ बजे नै अस्पताल  पुगेर लाइन बसेका उनले यसपटक पनि टिकट पाएनन् । त्यतिमात्र होइन, दैनिक १ सय  २० बिरामीलाई मात्र ओपीडी टिकट बाँड्दै आएको अस्पतालले ६९ नम्बरमा पालो  बसेका बस्नेतलाई टिकट नदिएपछि उनी दुःखी देखिए ।

आफूपछि लाइन  बसेकालाई टिकट दिइएको गुनासो गर्दै उनले अस्पतालका कर्मचारीले मिलेमतोमा  आफ्ना मान्छेलाई टिकट सुरक्षित गरिदिने र लाइनमा बसेकाले नपाउने गरेका  आरोप लगाए । ‘अघिल्लोपटक पनि म ६ नम्बरमा लाइन बसेको थिए, ९ नम्बरको  टोकन पाएँ,’ अन्नपूर्ण पोस्ट्सँग बस्नेतले भने, ‘यहाँ ओपीडी टिकटमै  गोलमाल गरिन्छ ।’

सतुंगलका कृष्ण रसाइली आफ्नो आमाको उपचारका लागि  आइतबारदेखि केन्द्रमा धाइरहेका छन् । मंगलबार बिहान ४ बजेदेखि लाइन लागेका  उनको पनि टिकटको पालो आएन ।

बिमामार्फत उपचार गराउनुपर्ने र मुख्य  अस्पतालले आमालाई यहाँ रिफर गरिदिएपछि उनीसँग धाउनुको विकल्प पनि  देखिएको छैन । बाराबाट बिरामी लिएर आएका केबी थिङले १० हजार खर्च  गरेर बिरामी ल्याइपुर्‍याउनुपर्ने तर, टिकट नपाइने बाध्यता बताए । रौतहटबाट श्रीमतीको उपचारमा आएका ५५ वर्षीय लालबाबु साह पनि टिकटकै लागि तनाब  लिनुपर्दा हतोत्साही बनेको बताउँछन् ।

छोराको उपचारका लागि आएका बुटबलका सागर पाण्डेले बिरामीको समस्या नजरअन्दाज गर्न नहुने बताएका छन् ।  राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्ति बढाउनुपर्नेमा जोड दिँदै उनले टाढाबाट  आउने बिरामीको समस्या बुझ्नुपर्ने बताए ।

रामेछापका पवित्र तामाङले  बिहानै लाइन लाग्नुपर्दा नजिकका बिरामीलाई सहज भए पनि टाढाबाट आउने बिरामी  मारमा पर्ने र उपचारै नपाउने अनुभव सुनाए । कुरा टाढाको मात्र होइन भक्तपुरकै  बिरामीले पनि यहाँ सजिलै टिकट पाउँदैनन् । 

बिहान ४ बजेदेखि नै  लाग्ने टिकटको लाइन टिठलाग्दो भएको स्थानीय सामाजिक अभियन्ता सूर्य श्रेष्ठ  बताउँछन् । अस्पतालले अनलाइनबाटै टिकट दिनुपर्ने र एकाबिहानैदेखि लाइन  बस्नुपर्ने बाध्यता हटाउनुपर्ने उनको भनाइ छ । सहिद धर्मभक्त राष्ट्रिय  प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले पर्याप्त  टिकट वितरण गर्न नसकिएको र प्रत्येक दिन बिरामी फर्काउनुपरेको स्वीकार गरेकी  छन् । 

टिकटमा गोलमाल गरिएको विषयबारे आफूलाई गुनासो आएको र त्यसको अनुगमन गरिने उनले जानकारी गराइन् । टिकटमा कर्मचारीको मिलेमतो भएको आरोप भने अस्पताल प्रशासनले अस्वीकार गरेको छ ।

अस्पतालमा लामो समयदेखि उपचाररत बिरामीहरूका आफन्तले तल्लो तहको कर्मचारीलाई प्रभावित गरी  गडबडी गरेको हुन सक्ने प्रशासनको प्रतिक्रिया छ । 

सहिद धर्मभक्त राष्ट्रिय  प्रत्यारोपण केन्द्र स्रोतले दिएको जानकारीअनुसार अस्पतालमा ६ जना चिकित्सक  रहेकामा अहिले दुई जना मात्र कार्यरत रहेकाले पनि सेवा प्रभावित भएको छ ।  व्यक्तिगत कारण देखाउँदै चिकित्सकहरू लामो समयदेखि बिदामा बसेका कारण  ओपीडी सेवा मात्र प्रभावित भएको छैन, सातामा चारवटाभन्दा बढी अंग  प्रत्यारोपणसमेत हुन् सकेको छैन ।

१३ वर्षअघि भक्तपुर अस्पताल परिसरमा  स्थापित अंग प्रत्यारोपण केन्द्रले १ हजार ५ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण  र ३ दर्जन बढी कलेजो प्रत्यारोपण गरेको छ । त्यसका लागि त्यतिकै संख्यामा  अंग दाताहरू पनि रहेका छन् । उनीहरू नियमित फलोअपका लागि केन्द्रमा आउने  गरेका छन् भने नयाँ बिरामीको चाप पनि उत्तिकै छ ।  

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ वर्ष नेतृत्व गरेका डा पुकारचन्द्र श्रेष्ठको अवकाश सँगै गत मंसिरबाट कार्यकारी निर्देशक पदमा डा कल्पनाकुमारी श्रेष्ठ  कार्यरत छिन् । केन्द्रलाई नमुनाको रूपमा प्रस्तुत गर्नुपर्नेमा बिरामीले चिकित्सक भेट्नसमेत संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने चुनौती उनीसँग रहेको छ  । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.