कोशीविरुद्व कर्णाली १६ रनले बिजयी
सिमरा : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार कर्णालीले पहिलो जित हात पारेको छ । जनकपुरधामस्थित रामजानकी रंगशालामा सम्पन्न खेलमा कर्णालीले कोशीलाई १६ रनले पराजित गरेको हो ।
कर्णालीले दिएको १५२ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कोशी १३५ रनमै समेटिएपछि कर्णालीले प्रतियोगितामा पहिलो जितसहित दुई अंक बटुलेको हो । यसअघि पहिलो खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीसँग १–१ अंक बाँडेको कर्णालीले दोस्रो खेलमा सुदूरपश्चिमसँग चार विकेटको पराजय भोगेको थियो ।
यसअघि खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले ३९.१ ओभरमा सबै विकेट गुमाएर १५१ रन जोडेको थियो । कर्णालीका लागि बिपिन शाही ६३ रन बनाउँदै अर्धशतकीय पारी खेल्दा विपिन रावलले ३२ र सुनिल धमलाले १९ रन बनाए । कर्णालीलाई सामान्य रनमा रोक्ने क्रममा कोशीका बलर प्रेम कामतले चार, ज्ञानेन्द्र श्रेष्ठले तीन, सुजन थपलियाले दुई र विपिन महतोले एक विकेट लिए । तर कर्णालीले दिएको सामान्य लक्ष्य पछ्याएको कोशीको प्रदर्शन पनि कमजोर बन्न पुग्यो ।
कोशीका लागि दीपेश कंडेलले २६, शिवांष बजगाईंले २३, सुमन श्रेष्ठले २०, सकिब हक र अंकित सुवेदीले १७–१७ रन बनाउँदा अन्य ब्याटर चलेनन् । कोशीलाई सस्तैमा समेटने क्रममा कर्णालीका दिनेश अधिकारी एक्लैले पाँच विकेट लिए । प्लेयर अफ दि म्याच दिनेशले ८.३ ओभरमा २७ रन खर्चिएर पाँच विकेट लिएका हुन । यसैगरी दिवन पुन र प्रकाश जैसीले समान २–२ विकेट लिदा दीपेन्द्र रावतले एक विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस !