रसुवामा एसइई दिने वर्षेनी घट्दो
रसुवा : रसुवाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने घट्दो क्रममा रहेको छ । यस वर्ष ५ सय ५७ विद्यार्थी सहभागी हुने भएका छन् ।
गत वर्ष २४ वटा माविबाट ५ सय ७१ जना एसइई परीक्षामा सहभागी भएका थिए भने ०८० सालमा ७ सय ७० जना सहभागी भएका थिए । आगामी चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जिल्लाबाट कुल ५ सय ५७ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रसुवाले जनाएको छ ।
नियमिततर्फ ४ सय ७६ र ग्रेड वृद्धितर्फ ८१ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन् । यस वर्ष ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको समन्वय इकाईका सूचना अधिकारी जीवन दाहालले बताए । यस वर्ष विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ । निर्धारित परिक्षा केन्द्रहरूमा रसुवा मावि धुन्चे; स्यामेवाङफेल मावि स्याफ्रुबेंसी; कालिका हिमालय मावि कालिकास्थान; नीलकण्ठ मावि बोगटीटार; नीलकण्ठ नमुना मावि जिवजिवे र गौतमबुद्ध मावि फाम्चेत रहेका छन् ।
प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि नीलकण्ठ मावि बोगटिटार र गोसाईंकुण्ड मावि सर्स्युँमा परीक्षा केन्द्र व्यवस्था गरिएको छ । जसमा नियमिततर्फ ५५ जना विद्यार्थी सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस !