अर्जुन र दिपकको अर्धशतकमा गण्डकीले आर्मीलाई दियो २१० रनको लक्ष्य
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २१० रनको विजयी लक्ष्य दिएको छ ।
गण्डकी प्रदेशका ओपनर ब्याटर अर्जुन कुमाल र मध्यक्रमका ब्याटर दिपक डुम्रेले अर्धशतकीय पारी खेल्दा गण्डकी ४९.४ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको हो । तल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीको लागि अर्जुन कुमालले १०२ बलमा ४ चौका र १ छक्कासहिहत ६७ रनको अर्धशतकीय पारी खेले ।
बंश क्षेत्रीले १०, सिविन श्रेष्ठले १४, दिपक डुम्रेले ४५ बलमा ३ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेलेका हुन् । सन्देश पन्थीले १३ रन बनाउँदा कृष्ण पौडेलले १७ रन बनाए । सुवास भण्डारी १० रनमा अविजित रहे । त्रिभुवन आर्मीको लागि आकाश चन्द र साहब आलमले ३–३ विकेट लिए। कुशल मल्लले २ विकेट लिए ।
गण्डकी प्रदेश र त्रिभुवन आर्मी दुवैको प्रतियोगितामा दोस्रो खेल हो । पहिलो खेलमा आर्मीले नेपाल पुलिसलाई २२ रनले हराएको थियो । गण्डकी प्रदेशले भने पहिलो खेलमा बागमती प्रदेशसँग १७० रनको हार बेहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस !