कार्यकारी प्रमुखमा बालेनको उदय

कार्यकारी प्रमुखमा बालेनको उदय

काठमाडौं : मुलुकको ४०औं प्रधानमन्त्रीका रूपमा शपथ लिन लागेका बालेन्द्र (बालेन) शाह बिहीबार फरक पहिरनमा देखिए। प्रायः कालो चस्मा र कालो कोटमा देखिने शाह यसपटक भिन्न शैलीमा प्रस्तुत भए। सांसदको शपथ कार्यक्रममा उनले सेतो दौरा–सुरुवालसँग कालोटोपी र कोट लगाएका थिए भने देब्रे छातीमा ‘सिलाम साक्मा’ सजाएका थिए।

लिम्बू समुदायको मौलिक, सांस्कृतिक बिम्ब र सुरक्षा कवचका रूपमा सिलाम साक्मालाई लिइन्छ। ३६ वर्षीय युवा बालेन्द्र नेपालमा संसदीय प्रक्रियाबाट चुनिएका सबैभन्दा कान्छा प्रधानमन्त्री हुँदै छन्। अभूतपूर्व रूपमा झन्डै दुईतिहाइ म्यान्डेट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनका गतिविधिलाई राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि चासोका साथ हेरिएको छ। एकल बहुमत प्राप्त दलको प्रधानमन्त्रीका रूपमा शपथ लिने बालेनलाई ऐतिहासिक अवसरसँगै चुनौती पनि उत्तिकै छन्।

करिब दुईतिहाइ बहुमत प्राप्त रास्वपाका वरिष्ठ नेता बालेनसँग १ सय ८२ जना सांसद छन्। ‘संसद्मा कति सिट छ भन्ने आधारमा मात्र रास्वपाको मापन गरिनुभन्दा वास्तविक परीक्षा भनेको अधिकार र शक्तिलाई जनताको हितमा कसरी प्रयोग गरिन्छ भन्ने कुरामा धेरै कुरा निर्भर हुन्छ,’ त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागकी पूर्वविभागीय प्रमुख मीना वैद्य मल्ल भन्छिन्, ‘अब पार्टी र सरकारबीच सहयोगात्मक र समन्वयात्मक ढंगले अघि बढेमा बालेन्द्रलाई सरकार चलाउन सहयोग पुग्छ। सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक बहस हुनुपर्छ। सत्ताले दम्भ राख्ने र प्रतिपक्षले विरोध मात्र गरिरहने हो भने ‘जेन–जी’ आन्दोलनको अर्थ के रह्यो र ?’ जनमुखी सरकारको अपेक्षा गरिएको उल्लेख गर्दै प्राध्यापक मल्लले सुशासनका साथै सेवा प्रवाहमा सुधार र राष्ट्रिय हितका मुद्दामा एकजुट हुनुपर्ने खाँचो रहेको बताइन्।

  • झन्डै दुईतिहाइ बहुमतसहित रास्वपाको नेतृत्वमा सरकार गठन हुँदै।
  • शुक्रबार मध्याह्न १२ः३४ बजे शुभ साइतमा शपथ, ७ शंखको ध्वनि, १०८ बटुकको स्वस्तिशान्ति र १६ भिक्षुको अष्टमंगल पाठ।
  • दिउँसो २ः१५ बजे सिंहदरबारमा पदबहाली र पहिलो मन्त्रिपरिषद् बैठक।
  • १५ देखि १८ सदस्यीय छरितो मन्त्रिपरिषद् गठनको तयारी।
  • बालेनका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना मुख्य चुनौती।

मन्त्री टुंग्याउन राति अबेरसम्म बैठक

रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच बिहीबार मध्यरातिसम्म मन्त्रिपरिषद् टुंग्याउने विषयमा छलफल भएको थियो। सभामुखको टुंगो पनि लगाउने तयारी भएको छ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री बालेन्द्रको शुक्रबार शपथ रहेकाले बिहीबार रातिको छलफलपछि मन्त्रिपरिषद्को टुंगो लाग्नेछ। रास्वपा केन्द्रीय कार्यालय, वनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री छनोटको तयारी अन्तिम चरणमा रहेको बताएका थिए। सभापति लामिछानेको भनाइ उद्धृत गर्दै महामन्त्री बुर्लाकोटीले भने, ‘सरकारमा जाने साथीहरूले सरकारबाट र नजाने साथीहरूले तत्–तत् ठाउँबाट प्रभावकारी काम गर्नुहोला। मन्त्रिपरिषद्को सन्दर्भमा हामीले आज राति सरसल्लाह गरेर टुंग्याउँछौं।’

पार्टीको बैठकमा पहिलोपटक उपस्थित वरिष्ठ नेता बालेन्द्रले केही बोलेनन्। बैठकमा सभापति लामिछानेले आचारसंहिता र अनुशासनमा रहन जोड दिएका थिए। बैठकले सभापति लामिछानेको प्रस्तावमा वरिष्ठ नेता बालेन्द्रलाई संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरेको घोषणा गरेको थियो। मन्त्रिपरिषद् गठनमा सभापति लामिछाने र संसदीय दलका नेता बालेन्द्रबीच सौहार्दपूर्ण सम्बन्ध रहेको महामन्त्री बुर्लाकोटीले दाबी गरे। ‘अहिले नै हतार गरेर किन बजार तताउने भन्दै निर्णय सार्वजनिक नगरिएको हो, मन्त्री चयनमा कुनै सकस छैन,’ उनले भने, ‘सभापतिज्यूले मन्त्रिपरिषद् ‘डाउनसाइज’ हुने बताउनुभएको छ।’

शपथ ग्रहणमा शंखनाद र स्वस्तिशान्ति

शुक्रबार मध्याह्न १३:३४ बजेको शुभ साइतमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहले शपथ ग्रहण गर्ने कार्यक्रम छ। समारोहमा ७ वटा शंखबाट शंंखनाद हुनेछ भने १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन हुनेछ। त्यस्तै, १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ। शपथ ग्रहणपछि प्रधानमन्त्रीको सिंहदरबारमा पदबहाली करिब २ः१५ बजे हुने व्यवस्था मिलाइएको छ। बालेन्द्रको नेतृत्वको मन्त्रिपरिषद्को बैठक पनि सम्भवतः शुक्रबार नै बस्नेछ। पार्टीले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ।

पार्टी सभापति लामिछानेले यसअघि नै अर्थमन्त्रीका रूपमा उपसभापति डा. स्वर्णिम वाग्लेको नाम प्रस्ताव गरिसकेका छन्। त्यस्तै डीपी अर्याल, शिशिर खनाल, सोबिता गौतम, मनिष झा, विराजभक्त श्रेष्ठलगायतको नाम मन्त्रिपरिषद्मा जाने चर्चा छ।

नयाँ प्रधानमन्त्रीका चुनौती 

प्रधानमन्त्री बालेन्द्रको पृष्ठभूमि राजनीतिक होइन। उनी र्‍यापर, गीत लेखक, निर्देशक र इन्जिनियर हुन्। उनले सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उनी काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। गत पुस १४ गते सभापति लामिछाने र बालेन्द्रबीचको सहमतिपछि उनी रास्वपामा प्रवेश गरेका थिए।

राजनीतिक विश्लेषक विजय गुप्ताका अनुसार, बालेन्द्रले काठमाडौंको मेयर हुँदा थोरै बोल्ने र धेरै काम गर्ने व्यक्तिका रूपमा जनविश्वास जितेका थिए। ‘केन्द्रीय सरकार र ठूला राजनीतिक दलले बारम्बार असहयोग गर्दा पनि उनले अडान छोडेनन्,’ विश्लेषक गुप्ता भन्छन्, ‘महानगर प्रमुख हुँदै गर्दा नै उनको चर्चा भावी प्रधानमन्त्रीका रूपमा सुरु भएको थियो। केही गर्छु भन्ने आँट र ऊर्जा भएकै कारण उनी यो स्थानमा आइपुगेका हुन्। तर, सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना जस्ता जनअपेक्षा पूरा गर्नु उनका लागि मुख्य चुनौती हुन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.