के–के बन्दै छन् नयाँ संसद् भवनमा ?
नयाँ संसद् भवनमा शपथ : २ महिनामा सम्पूर्ण निर्माण सकिने अनुमान
काठमाडौं : संसद् भवनको भौतिक निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने मुख्य हल र अन्य प्राविधिक जडान (साउन्ड र भिडियो सिस्टम) का कामहरू अन्तिम चरणमा पुगेका छन्। बानेश्वरस्थित पुरानो भवन ध्वस्त भएपछि अस्थायी हलबाट बैठक सुरु गरिए पनि आगामी २ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मुख्य हल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
प्रतिनिधिसभाका नयाँ सांसदहरूले नयाँ संसद् भवनबाट बिहीबार शपथ लिएका छन्। प्रतिनिधिसभाका २ सय ७४ नयाँ सांसदले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनबाट शपथ लिएका हुन्। नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय हलमा नयाँ सांसदको शपथ कार्यक्रम सम्पन्न भएको संघीय सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताए। सहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्माण विभागले बुधबार संसद् सचिवालयलाई उक्त हल हस्तान्तरण गरेको थियो।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ मा बानेश्वरस्थित संसद् भवन जलेर पूर्ण रूपमा ध्वस्त भएको थियो। निर्वाचनपछि चुनिएर आएका प्रतिनिधिसभा सदस्यहरूलाई कहाँ राखेर बैठक गर्ने भन्ने प्रश्नकाबीच अस्थायी व्यवस्थाका रूपमा बहुउद्देश्यीय हलमा शपथ सम्पन्न भएको हो। नयाँ प्रतिनिधिसभा भवन नबनेसम्म त्यही अस्थायी हलबाट नै बैठक बस्ने भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले जानकारी दिए।
‘अहिलेलाई प्रतिनिधिसभाको नियमित बैठकसमेत सञ्चालन गर्न सक्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ। यो हलमा प्रतिनिधिसभा सञ्चालन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरू जस्तै साउन्ड सिस्टम, भिडियो सिस्टमलगायतका सबै प्रणालीहरू जडान गरिएको छ। हलको आकार मात्र अलिकति सानो हो, नत्र सबै पूर्वाधारहरूले यो सुसज्जित छ,’ श्रेष्ठले अन्नपूर्णसँग भने।
नयाँ संसद् भवन २०७९ सालको असोजभित्रै निर्माण गरिसक्ने गरी असोज २०७६ मा ठेक्का लगाइएको थियो। उक्त आयोजनाको कुल लागत करिब ८ अर्ब रुपैयाँ अनुमान गरिएकोमा करिब ५ अर्ब ३९ करोड सिभिलतर्फ र २ अर्ब २८ करोड रुपैयाँ इन्टेरियरतर्फ छुट्ट्याइएको छ।
कहिले बनिसक्छ नयाँ संसद् भवन ?
२०७९ सालमा नै नयाँ संसद् भवन तयार हुनुपर्नेमा पाँचौंपटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। अझै करिब २ महिना वा त्योभन्दा बढी समय लाग्न सक्ने विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताए। हाल उक्त भवनको वित्तीय प्रगति करिब ७५ प्रतिशत छ भने भौतिक प्रगति करिब ९५ प्रतिशत छ।
‘भौतिक र वित्तीय प्रगतिमा ठूलो अन्तर हुनुको कारण काम सम्पन्न भइसकेको छ तर हामीले भुक्तानी दिएका छैनौं। निर्माण सम्पन्न भएका कतिपय जटिल संरचनाहरूको परीक्षण र कमिसनिङ बाँकी छ। भोलि यसले काम गर्छ गर्दैन भन्नेमा विश्वस्त हुनुपर्ने भएकाले भुक्तानी रोकेका छौं,’ श्रेष्ठले भने।
के–के बन्दै छन् संसद् भवनमा ?
सिंहदरबार परिसरभित्र करिब १ सय ५६ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माणाधीन छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि दुईवटा छुट्टाछुट्टै भवन निर्माण भइरहेका छन्। जेन–जी आन्दोलनपछि पनि नयाँ प्रतिनिधिसभा भवन निर्माणका लागि द्रुत रूपमा काम अघि बढाइए पनि बैठक बस्न मिल्ने गरी तयार हुन नसकेको विभाग बताउँछ। फागुन २१ को निर्वाचनपछि नै प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहणका लागि हल चाहिने भएकाले वैकल्पिक हलको रूपमा बहुउद्देश्यीय हललाई तयार गरिएको हो।
अब जति सक्दो चाँडो अर्को मुख्य हल तयार गर्ने विभागको योजना छ। शपथग्रहणपछिका केही बैठकहरू यही हलबाट सञ्चालन हुँदै गर्दा मुख्य प्रतिनिधिसभा हलको निर्माणलाई तीव्रता दिने श्रेष्ठ बताउँछन्। श्रेष्ठका अनुसार विभागको लक्ष्य एक–डेढ महिनाभित्र हल तयार गर्ने छ।
रातदिन खटेर काम भइरहेको भन्दै उनले अग्लो ठाउँमा फल्स सिलिङ हाल्न अलि समय लागेको बताए। अहिले पनि फल्स सिलिङको काम जारी छ। यो सकिनेबित्तिकै कन्फरेन्सिङ सिस्टम, माइक र भिडियो कन्फरेन्सिङ सिस्टमहरू जडान गर्ने काम सुरु हुनेछ। त्यसबाहेक कार्पेट, टेबल र कुर्सीहरू तयारी अवस्थामा रहेको श्रेष्ठले सुनाए।
पर्खालमा इन्सुलेसन प्यानल राख्नुपर्ने काममध्ये अन्तिम तह मात्र बाँकी रहेको र विद्युतीय बत्तीहरू फिट गर्ने काम पनि बाँकी नै छ। हलको काम करिब–करिब अन्तिम चरणमा पुगेको र यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी रहेको उपमहानिर्देशक श्रेष्ठले बताए।
दोस्रो चरणमा प्रतिनिधिसभा हल तयार गरी हस्तान्तरण गर्ने विभागको योजना छ। त्यसपछि संघीय संसद् भवनका अन्य संरचना पनि सम्पन्न गरी हस्तान्तरण गरिनेछ। नयाँ संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभासँगै सेन्ट्रल लबी, दलको कार्यालय, संसद् सचिवालयका दुईवटा भवन, प्रिन्टिङ प्रेस, संसदीय समितिका छुट्टाछुट्टै बैठक कक्ष, समितिका हलहरू, सेक्युरिटी ब्लक, पुस्तकालय र चमेनागृह लगायतका संरचनाहरू निर्माण भइरहेका छन्।
प्रतिनिधिसभा सञ्चालन भइसकेपछि राष्ट्रियसभा भवन, भीभीआईपी ब्लक, दलको कार्यालय, सांसदहरूका लागि सानो च्याम्बर र चमेनागृहलगायतका संरचनाहरू चरणबद्ध रूपमा हस्तान्तरण गर्दै जाने विभागले जनाएको छ। हाल बढीमा २ महिनाभित्र सबै निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि केही प्राविधिक समस्या आए समय लम्बिन सक्ने श्रेष्ठले बताए।
‘यो अरू सामान्य भवन बनाएको जस्तो होइन। यहाँभित्रका प्राविधिक विवरणहरू एकदमै फरक छन्। सबै सामान विदेशबाट ल्याइएका र विशिष्ट प्रकृतिका हुनाले समय लागेको हो। काम गर्दै जाँदा केही समस्या आउन सक्छ, तर अहिलेसम्मको हाम्रो आँकलन अनुसार दुई महिनामा काम सकिन्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !