काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह ले प्रधानमन्त्रीको शथप ग्रहण गरेका छन् । उनले शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियकताको शपथ ग्रहण गरेका हुन् । ३६ वर्षीय बालेनलाई राष्ट्रपति पौडेलले आजै प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई राष्ट्रपति पौडेले संविधानको धारा ७६ को उपधारा (१) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।
पूर्व निर्धारित साइतअनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो ठिक १२ बजेर ३४ मिनेट जाँदा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराएका हुन् । बालेनलाई प्रधानमन्त्रीमा शपथको लागि आज रामनवमीको दिन साइत जुराइएको थियाे । शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिएकाे थियाे । त्यस्तै, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १०७ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिएकाे थियाे।
प्रधानमन्त्री बालेन शाहले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शितल निवासमा शपथ ग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्रीले सिफारिस गरेका मन्त्रीहरूले शितल निवासमा शपथ ग्रहण गरेका हुन् । रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता शाहबीच छलफल भएपश्चात केही मन्त्रीको नाम टुंगो लागेको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार रास्वपा स्रोतका अनुसार अर्थमन्त्री उपसभापति डा. स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, भौतिक पूर्वाधारमा सुनिल लम्साल, उर्जामा विराजभक्त श्रेष्ठ, पर्यटनमा खड्गराज गणेश पौडेल, शिक्षामा सस्मित पोखरेल, कानून न्याय तथा संसदीय मामिलामा सोबिता गौतम, सामान्य प्रशासनमा प्रतिभा रावल, सञ्चार तथा सूचना प्रविधिमा विक्रम तिमल्सिना, स्वास्थ्य तथा जनसंख्यामा निशा मेहता, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता बादी, मन्त्री दीपक शाह बनेका छन् ।
काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत रहेका बालेन नेपालको संविधान जारी भएपछि पहिलो पटक धारा ७६ को उपधारा (१) अन्तर्गत एकल बमुहमत प्राप्त दलको संसदीय दलको नेताका रुपमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।
बालेनले प्रधानमन्त्रीको शपथ ग्रहण गरेसँगै सरकार गठन प्रक्रिया समेत अगाडि बढेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति पौडेललाई बुझाइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ (१८२ सांसद) सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका छन् ।
रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २५, नेपाली कम्युनिष्ट पार्टीबाट १७, श्रम संस्कृति पार्टीबाट सात र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाँच तथा एक स्वतन्त्र सांसद निर्वाचित भएका छन् । निर्वाचित सबै सांसदले बिहीबार सिंहदरबारस्थित नव निर्मित सभागृहमा शथप ग्रहण गरिसकेका छन् ।
नेपालको राजनीतिमा पछिल्लो समय सबैभन्दा बढी चर्चा, समर्थन र विवादको केन्द्रमा रहँदै आएका पात्र हुन् बालेन । अहिले बालेनको लोकप्रियता अभूतपूर्व उचाइमा पुगेको छ । अर्कोतर्फ उनको राजनीतिक यात्रा, शैली र दाबीहरूलाई लिएर गम्भीर प्रश्नहरू पनि उठिरहेका छन् । सामाजिक सञ्जाल, युवा वर्ग र शहरी मध्यमवर्गबीच ‘परिवर्तनको प्रतीक’ बनेका बालेन नागरिकको ठूलो आशा, अपेक्षाको भारी बोक्दै प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् ।
‘र्यापर’ देखि ‘रेभोलुसनरी’ छविसम्म
बालेन शाहको यात्रा परम्परागत राजनीतिक बाटोभन्दा बिल्कुलै फरक छ । काठमाडौंको नरदेवीमा जन्मिएका उनले एसएलसीसम्मको पढाइ त्यहिको जलजला स्कूलबाट गरे । स्कूलपछिको उच्च माध्यमिक तहको पढाई भने उनले काठमाडौं तीनकुनेमा रहेको भिएस निकेतनबाट गरेका हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकस्थित विश्वेश्वरैया प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनले धेरै समाजसेवाका काम समेत गरेका छन् ।
२०७२ मा नेपालमा महाभूकम्प गएपछि उनी देशका विभिन्न स्थानमा गएर पुनर्निर्माणको काममा समेत संलग्न भए । उनले आफ्नै नाममा बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालि नामक कम्पनी समेत दर्ता गरेका छन् । यहि कम्पनीमार्फत उनले विभिन्न काम समेत गरेका छन्। भूकम्प र कोभिड महामारीका बेला थुप्रै काम गरे पनि कामको नेतृत्व आफैंले नलिई आफ्नो योजना सफल नहुने महसुस गरेपछि उनले काठमाडौँको मेयरमा उम्मेद्वारी दिएका थिए ।
बालेन्द्र खानदानी परिवारका मान्छे हुन् । त्यहि कारण पनि उनी माफियाको घुस अफरमा अलमलिएका छैनन् । उनको काठमाडौंमै घर छ । २५ बर्षको उमेरमै आफ्नै कमाईले आफ्नै गाडी चढेका बालेनको पुख्र्यौली सम्पत्ति नै करोडौंको छ । उनी र्याप र इन्जिनियरिङ पेशाबाट पनि निकै राम्रो कमाएका व्यक्ति हुन् । उनका हजुरबुबा स्वयम् आफ्नो गाउँको जमिन्दार थिए । बालेन्द्र शाहले सबिना काफ्लेसँग विवाह गरेका छन् र शाहकी श्रीमती पेसाले जनस्वास्थ्यकर्मी हुन् । उनका दाजु एसीसीए हुन् । अर्थात उनको परिवारमा सबैजसो सदस्य प्रोफेसनल छन् । सबै जना आ–आफ्नो क्षेत्रमा अब्बल पनि छन् ।
तर उनी जनमानसमा ब्याटल र्यापरका रुपमा चिनिएका थिए । रामनारायण शाह र धुव्रादेवी शाहका सन्तानका रुपमा जन्मिएका बालेन्द्रको पुख्र्यौली थलो मधेश प्रदेशको महोत्तरी जिल्ला हो । बालेनले यसै वर्ष आयुर्वेदिक डाक्टर समेत रहेका बुबा रामनारायण शाहलाई गुमाइसकेका छन् । रामनारायणले यसै वर्ष संसार छाडेर गइसकेका छन् । काठमाडौँको मेयर भएसँगै महोत्तरीमा बालेनको क्रेज झन गज्जबले बढेको थियो । उनका गीतहरूमा भ्रष्टाचार, असमानता, राजनीतिक विकृति र सामाजिक अन्यायविरुद्ध, व्यङग्य र कडा प्रहारसहित आवाज उठाइएको पाइन्छ ।
‘नेपाल हाँसेको हेर्न चाहन्छु’, म नेपाल प्रहरी जनतालाई ठोक्छु’, ‘मेरो लामो कपाल छ, म अपराधी होइन’ जस्ता गीतहरूले उनलाई केवल कलाकार मात्र होइन, सामाजिक चेतनाको प्रतिनिधि बनायो । औपचारिक नाम बालेन्द्र शाह भए पनि उनी आफ्नो दुनियाँमा बालेन नामले चिनिए । त्यही सांगीतिक र वैचारिक पृष्ठभूमिले उनलाई युवामाझ लोकप्रिय बनायो ।
सन् २०१० को दशकमा सुरु भएको उनको संगीत यात्रा विस्तारै सामाजिक अभियान र राजनीतिक चेतनासँग जोडिँदै गयो । र्याप गायकका रुपमा उनका देश विदेशमा समेत थुप्रै फ्यान छन् । सानैदेखि उनको रुची संगीत र कवितामा थियो । उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा गाएका थिए र यो गीत उनले कक्षा ९ मा हुँदा लेखेका थिए ।
प्रधानमन्त्रीको शपथ ग्रहणको पूर्व सन्ध्यामा बिहीबार बालेनले र्याप गीत ‘जय महाकाली’ ले सार्वजनिक गरेका छन् । उनको यो गीतले युट्युबमा इतिहासमै नयाँ कीर्तिमान बनाएको छ । गीत रिलिज भएको २४ घण्टाभित्रै २२ लाखभन्दा बढी पटक हेरिएर अहिलेसम्मकै सर्वाधिक भ्युज पाउने नेपाली गीतको रेकर्ड बनाएको छ । यसअघि यो रेकर्ड दुर्गेश थापा र सिसन बानियाँको सहकार्यमा बनेको ‘जाने भए जाम माया’ को नाममा थियो, जसले २४ घण्टाभित्रै १६ लाख ३६ हजार भ्युज पाएका थिए ।
त्यस्तै बालेनको यो गीत सार्वजनिक भएको मात्र ३ घण्टामा १० लाख भ्युज पार गर्दै सबैभन्दा छिटो १० लाख भ्युज पाउने नेपाली गीत पनि बनेको छ । र्याप गायकका रुपमा करियर बनाउँदै गर्दा बालेन यमबुद्धका ठूलो फ्यान थिए । अहिले पनि उनी यमबुद्धका ठूलो फ्यान हुन् । बालेनले यमबुद्धको नेपाली र्याप संगीतमा ठूलो योगदान रहेको भन्दै उनको शालिक बनाउने निर्णय समेत गरेका थिए । तर महानगरको बजेटमा यामबुद्धको शालिक बनाउन खोजिएको भन्दै विरोध भएपछि उनले आफ्नै पैसाले यमबुद्धको शालिक बनाउने निर्णय गरेका छन् । तर त्यो खासै अगाडि बढेको देखिँदैन ।
२०७९ को चुनाव : स्वतन्त्र उम्मेदवारको ऐतिहासिक जित
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर बालेनले नेपाली राजनीतिमा नयाँ अध्यायको थालनी गरे । उनले परम्परागत दलका बलिया उम्मेदवारहरूलाई हराउँदै ६१ हजार बढी मत ल्याएर जित हासिल गरे । यो जित केवल व्यक्तिगत सफलता मात्र नभई ‘स्वतन्त्र राजनीति’ र ‘युवा शक्ति’ को प्रतीक बन्यो ।
आफ्ना बाबु–आमा उमेरका प्रतिष्पर्धीलाई हराएर जनप्रतिनिधि बनेको एउटा ३२ वर्षे ठिटो मेयर गलत गर्नेहरुका विरुद्ध आफैं खटिन थालेपछि उनको चर्चा सर्वत्र फैलियो । उनको चुनावी अभियान सरल तर प्रभावकारी थियो—भ्रष्टाचार अन्त्य, पारदर्शिता, फोहोर व्यवस्थापन, ट्राफिक सुधार र जनउत्तरदायी शासन । सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जनसम्पर्क, छोटा भिडियो र स्पष्ट सन्देशहरूले उनलाई ‘डिजिटल युगका नेता’ का रूपमा स्थापित बनायो ।
मेयर कार्यकाल : उपलब्धि र आलोचना दुवै
मेयर बनेपछि बालेनले केही साहसी कदमहरू चाले । अवैध संरचना हटाउने अभियान (डोजर नीति), फुटपाथ खाली गराउने, पार्किङ व्यवस्थापन, सार्वजनिक सेवा सुधार जस्ता कामले उनलाई कडा प्रशासकको रूपमा चिनायो । केहीले उनलाई ‘सिस्टम तोड्ने नेता’ भने भने केहीले ‘कानुनी प्रक्रिया मिच्ने’ आरोप लगाए ।
फोहोर व्यवस्थापन, बजेट कार्यान्वयन, कर्मचारीसँगको द्वन्द्व र सडक व्यवसायीमाथिको कडाइ जस्ता विषयमा उनको आलोचना पनि भयो । विशेष गरी, नीति भन्दा ‘एक्सन’ मा जोड दिने उनको शैलीले प्रशंसा र विवाद दुवै कमायो ।
सामाजिक सञ्जाल र राजनीतिक ‘ब्राण्डिङ’
बालेनको सबैभन्दा ठूलो शक्ति भनेको सामाजिक सञ्जाल हो । फेसबुक, ट्विटरलगायत प्लेटफर्मलाई बालेनले जनतासँग प्रत्यक्ष संवाद गर्ने माध्यम बनाउँदै आएका छन् । उनका पोस्टहरू प्रायः भाइरल हुन्छन् । यद्यपि, केही पोस्टहरूले उनलाई विवादामा समेत पारेका छन् । जसले उनको राजनीतिक परिपक्वतामाथि प्रश्न उठाएको छ । उनको शैली परम्परागत नेताहरू भन्दा फरक छ । कम बोल्ने, तर बोल्दा कडा ।
राष्ट्रिय राजनीतिमा प्रवेश
नेपाली राजनीतिको ‘न्यूक्लियर केन्द्र’ मानिएको झापा क्षेत्र नम्बर–५ मा यस पटक बालेनले अप्रत्याशित र ऐतिहासिक उलटफेर ल्याई दिए । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दशकौँदेखिको विरासतलाई भत्काउँदै रास्वपाका वरिष्ठ नेता बालेन भारी मतान्तरले विजयी भए ।
रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेदेखि नै देशभरकै नजर यो क्षेत्रमा थियो । बालेनले एमाले अध्यक्ष ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरे । कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा खुम्चिएका छन् ।
काठमाडौँ महानगरपालिकाको प्रमुख पद त्यागेर राष्ट्रिय राजनीतिमा होमिएका बालेनका लागि यो जितले प्रधानमन्त्रीको दौडमा वैधानिकता प्रदान गर्यो । झापा–५ विगत तीन दशकदेखि केपी शर्मा ओलीको निर्विकल्प किल्ला मानिन्थ्यो । २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट सक्रिय ओलीले २०५६ मा बाहेक यहाँ कहिल्यै हार व्यहोर्नु परेको थिएन ।
विशेष गरी २०७४ र २०७९ को निर्वाचनमा ओलीले यहाँबाट फराकिलो मतान्तरसहित जित निकाल्दै आफ्नो ‘अजेय’ छवि बनाएका थिए । तर, २०८२ को राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनको रापले यस पटक झापाको जमिनमा नयाँ राजनीतिक अंकुरण गरिदियो । काठमाडौँ महानगरमा देखाएको कार्यक्षमता र सुशासनको हुटहुटीलाई रास्वपाको संगठनात्मक शक्तिको काँध मिलेपछि बालेनका लागि झापाको चुनावी मैदान ‘क्लीन स्वीप’ गर्ने आधार बन्यो ।
युवा लहर र ‘बालेन इफेक्ट’
बालेनको लोकप्रियता केवल व्यक्तिमा सीमित छैन । यसले एक ‘युवा लहर’ सिर्जना गरेको छ । पुराना नेताहरूको विरुद्ध असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार र सुशासनको अभावले युवाहरू नयाँ विकल्प खोजिरहेका छन् । बालेन त्यसैको प्रतिनिधि बनेका छन् । उनको उदयले देखाएको छ–सामाजिक सञ्जालमार्फत राजनीति सम्भव छ, स्वतन्त्र उम्मेदवारले पनि जित्न सक्छ र युवा नेतृत्वप्रति आकर्षण बढेको छ ।
समर्थन र शंका दुवै
बालेनप्रति जनताको धारणा दुई ध्रुवमा देखिन्छ । समर्थकहरुले बालेनलाई इमानदार र निडर नेता, काम गर्ने क्षमता भएको व्यक्ति र पुरानो प्रणाली तोड्न सक्ने शक्तिका रुपमा लिने गरेका छन् । यता आलोचकहरूले भने बालेनमा अनुभवको कमी, आवेगमा निर्णय गर्ने प्रवृत्ति र स्पष्ट राष्ट्रिय नीति अभाव औंल्याउँछन् ।

रास्वपाको घोषणापत्र र कार्यदिशा
रास्वपाबाट राजनीतिमा प्रवेश गरेका बालेनले पार्टीको घोषणापत्रलाई आफ्नो राजनीतिक दर्शनको आधार बनाएका छन् । रास्वपाको २०८२ को प्रतिनिधिसभा निर्वाचनका लागि जारी १०० बुँदे ‘नागरिक करार’ ले सुशासन, आर्थिक सुधार, सामाजिक समावेशीकरण, पूर्वाधार विकास र डिजिटल आधुनिकीकरणलाई जोड दिएको छ ।
घोषणापत्रलाई ‘१०० नीतिगत खम्बा’ का रूपमा प्रस्तुत गरिएको छ । जसले नेपाललाई मध्यम आय भएको सम्मानजनक राष्ट्र बनाउने लक्ष्य राखेको छ । मुख्य कार्यहरूमा वार्षिक सात प्रतिशत आर्थिक वृद्धिदर कायम गर्दै पाँच वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब डलर पुर्याउने र प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि पुर्याउने उल्लेख छ । उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै आयात निर्भरता घटाउने नीति रास्वपाको छ ।
रास्वपाले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने करार गरेको छ । सरकारी कार्यालयहरूमा बिचौलियाको भूमिका समाप्त गर्दै ‘अनलाइन, नट लाइन’ प्रणाली लागू गर्ने नीति रास्वपाले अघि सारेका छ । डिजिटल सुशासनमार्फत सेवा प्रवाहलाई पारदर्शी र कुशल बनाउने रास्वपाको लक्ष्य देखिन्छ। यस्तै राजनीतिक प्रणालीमा पनि सुधार गर्ने रास्वपाको योजना छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री प्रणाली लागू गर्ने हो । राष्ट्रपति पदलाई गैरराजनीतिक बनाउँदै निर्वाचन कलेज विस्तार गर्ने नीति रास्वपाको छ ।
सामाजिक समावेशीकरण गर्ने रास्वपाको सोच छ । युवा, महिला र सीमान्तकृत समुदायलाई अवसर प्रदान गर्दै हरेक क्षेत्रमा योग्यता प्रणालीलाई प्राथमिकता दिने रास्वपाको नीति छ । पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गर्नु पनि रास्वपाको प्राथमिकतामा परेको विषय हो । बालेनले यी घोषणालाई कार्यान्वयन गर्न आफ्नो प्रशासनिक अनुभव प्रयोग गर्ने बाचा गरेका छन् । राष्ट्रियस्तरमा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने उनको योजना छ ।
सम्भावना ठूलो, परीक्षा बाँकी
बालेन शाहको यात्रा प्रेरणादायी छ । र्यापरदेखि मेयरसम्म र अब राष्ट्रलाई दिशा दिने कुर्सीमा पुगेको युवा नेता । उनले नेपालको राजनीतिमा नयाँ ऊर्जा, नयाँ शैली र नयाँ बहस ल्याएका छन् । तर, लोकप्रियता मात्र पर्याप्त हुँदैन । राष्ट्रिय नेतृत्वका लागि आवश्यक हुन्छ–स्पष्ट नीति, संस्थागत क्षमता, सहकार्य गर्ने क्षमता र दीर्घकालीन दृष्टिकोण । बालेन त्यो स्तरमा पुग्छन् कि पुग्दैनन्, त्यो भविष्यले देखाउनेछ । तर यति निश्चित छ–उनले नेपाली राजनीतिमा ‘युवा क्रान्ति’ को बहस सुरु गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !