दुर्गमको विद्यालय सुधारमा समुदाय एकजुट, एउटै परिवारबाट एक लाखसम्म सहयोग
विराटनगर : भोजपुरको षडानन्द नगरपालिका–८ सेमेङस्थित चण्डेश्वरी आधारभूत विद्यालयको भौतिक संरचना र शैक्षिक वातावरण सुधारका लागि समुदाय, पूर्व विद्यार्थी तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागितामा अभियान चलाइएको छ ।
दुर्गम क्षेत्रमा सञ्चालनको बाबजुद लामो समयदेखि कमजोर भौतिक अवस्था र शैक्षिक सामग्रीको अभाव झेल्दै आएको विद्यालयलाई पुनः सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको अभियानले स्थानीयस्तरमै उल्लेखनीय उत्साह पैदा गरेको छ । विद्यालयको सुधारमा स्थानीय समुदाय एकजुट भएको छ । एउटै परिवारले एक लाख रूपैयाँसम्म सहयोग गरेको छ ।
विक्रम संवत २०१६ सालमा स्थापना भएको विद्यालय समयसँगै जीर्ण बन्दै गएपछि व्यवस्थापन समितिले सुधार अभियानलाई संस्थागत रूपमा अघि बढाउने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठको नेतृत्वमा सुरु गरिएको अभियानमार्फत विद्यालयको पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन र विद्यार्थीमैत्री वातावरण निर्माणलाई मुख्य लक्ष्य बनाइएको छ ।
अभियान सुरु भएयता स्थानीय समुदाय, पूर्व विद्यार्थी तथा विभिन्न शुभचिन्तकहरूबाट आर्थिक तथा नैतिक सहयोग आउने क्रम बढ्दै गएको छ । विद्यालयको खातामा हालसम्म एक लाख २५ हजार रुपैयाँ नगद संकलन भइसकेको व्यवस्थापन समितिले जनाएको छ । साथै, थप सहयोग गर्ने प्रतिबद्धताहरू पनि निरन्तर प्राप्त भइरहेका छन्, जसले अभियानलाई थप गति दिएको छ ।
यसैबीच, अभियानअन्तर्गत एउटै परिवारबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । विद्यालय स्थापनाकालदेखि नै योगदान पुर्याउँदै आएका स्व. हर्कबहादुर श्रेष्ठको स्मृतिमा उनकी धर्मपत्नी नरमाया श्रेष्ठले परिवारका तर्फबाट उक्त रकम सहयोग गरेकी हुन् । स्थानीय विद्यालयको स्थापना र सञ्चालनमा स्व. श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै परिवारले विद्यालयको शैक्षिक उन्नयनमा योगदान दिने उद्देश्यले सहयोग प्रदान गरेको हो ।

उक्त रकम मंगलबार विद्यालय व्यवस्थापन समितिको बैठकमा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्न भएपछि आगामी शैक्षिक सत्रको तयारीका लागि बसेको बैठकका क्रममा सहयोग हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । षडानन्द नगरपालिका–८ का कार्यवाहक वडाध्यक्ष विकास श्रेष्ठको रोहबरमा भएको कार्यक्रममा नरमाया श्रेष्ठले प्रधानाध्यापक आकांक्षा तामाङलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिन् ।
विद्यालय सुधार अभियानमा पूर्व विद्यार्थीहरूको सहभागिता पनि उल्लेखनीय देखिएको छ । सेमेङका पूर्व विद्यार्थीहरू गनु साम्पाङ राई, बलबहादुर विश्वकर्मा र दीपक विश्वकर्माले जनही १० हजार रुपैयाँका दरले सहयोग गरेका छन् भने चण्डी कार्कीले पाँच हजार रुपैयाँ प्रदान गरेका छन् । साथै, पूर्व विद्यार्थी तथा सेमेङ निवासी राजाराम श्रेष्ठ र उनकी पत्नी सुप्रिमा श्रेष्ठले २१ हजार एक सय रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, पूर्व प्रधानाध्यापक डिल्लीबहादुर श्रेष्ठले पनि १० हजार रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् । व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठका अनुसार स्थानीय समुदाय, पूर्व विद्यार्थी, शिक्षक तथा शिक्षाप्रेमीहरूको निरन्तर सहयोगले विद्यालय सुधार अभियानलाई व्यवहारिक रूपमा अघि बढाउन सहज भएको छ । ‘संकलित रकमलाई योजनाबद्ध रूपमा प्रयोग गरिनेछ,’ उनले भने, ‘ताकि विद्यालयको भौतिक र शैक्षिक दुवै पक्षमा दीर्घकालीन सुधार ल्याउन सकियोस् ।’
अभियानमार्फत संकलित रकमबाट कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री व्यवस्थापन गरिनेछ । साथै, जीर्ण अवस्थामा रहेका कक्षा कोठाहरूको मर्मत, रंगरोगन तथा सरसफाइ सुधारमा पनि बजेटको सदुपयोग गरिने छ । विद्यालयलाई सौन्दर्यीकरण गर्दै सिकाइमैत्री वातावरण निर्माण गर्ने योजना पनि अघि सारिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
त्यसैगरी, विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाउन भान्सा कोठा सुधार र खाने स्थानको उचित व्यवस्थापन गर्ने निर्णय गरिएको छ । विद्यार्थीहरूको स्वास्थ्य र स्वच्छतालाई ध्यानमा राख्दै शौचालय मर्मत तथा सुधारलाई पनि प्राथमिकतामा राखिएको उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार भौतिक पूर्वाधार सुधार भएपछि विद्यालयको समग्र शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । उनका शब्दमा, ‘भौतिक संरचना बलियो भएमा पठनपाठन सहज हुन्छ । विद्यार्थीको नियमित उपस्थिति बढ्छ र सिकाइको गुणस्तरमा पनि सकारात्मक प्रभाव पर्छ ।’
स्थानीय तहमा देखिएको यस्तो सामूहिक प्रयासले सार्वजनिक विद्यालयप्रतिको नकारात्मक धारणा घटाउँदै समुदायको अपनत्व बढाउने विश्वास गरिएको छ । विद्यालयलाई सरकारी संरचना नभई सामुदायिक सम्पत्ति हो भन्ने भावना बलियो बनाउन यस अभियानले महत्वपूर्ण भूमिका खेलेको स्थानीय रेसकुमार तामाङको भनाइ छ । उनका अनुसार दुर्गम र ग्रामीण क्षेत्रमै अवस्थित भए पनि विद्यालयले समुदायको सहयोगमा पुनर्जीवन पाउन थालेको उदाहरण अन्य विद्यालयका लागि पनि प्रेरणादायी मानिएको छ ।
साना–ठूला सबै प्रकारका सहयोग एकीकृत हुँदै जाँदा दुर्गम क्षेत्रको विद्यालयको भौतिक संरचना मात्र नभएर शिक्षण सिकाइको वातावरण समेत परिवर्तन हुने अपेक्षा गरिएको तामाङ बताउँछन् । दीर्घकालीन योजनाअन्तर्गत विद्यालयलाई पूर्ण रूपमा व्यवस्थित, सुरक्षित र विद्यार्थीमैत्री शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य व्यवस्थापन समितिको छ । समुदाय, पूर्व विद्यार्थी र सरोकारवालाको संयुक्त प्रयासमा अघि बढिरहेको ‘चण्डेश्वरी आधारभूत विद्यालय सुधार अभियान’ अहिले स्थानीयस्तरमा सहकार्य र एकताको उदाहरणका रूपमा स्थापित हुँदै गएको जानकारी तामाङले दिए ।
प्रतिक्रिया दिनुहोस !