एसईईको फेरिएको शैली : केन्द्रमै परीक्षण,तत्कालै अंक प्रविष्टि

एसईईको फेरिएको शैली : केन्द्रमै परीक्षण,तत्कालै अंक प्रविष्टि
एसईई तयारीमा जुटेका ललितपुरको पाटनस्थित पाटन हाई स्कुलका कर्मचारी । तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदै छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ भने बिहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ। परीक्षा तालिका अनुसार चैत २९ गते परीक्षा सकिने छ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार यो वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी छन्। नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र आंशिकतर्फ ७ हजार ८ सय ५५ परीक्षार्थी रहेका उनले जनाएकी छन्। त्यसैगरी परीक्षामा प्राविधिक धारतर्फ नियमितमा १६ हजार ३ सय १२ र आंशिकमा २ सय ६४ गरी १६ हजार ५ सय ७६ जना परीक्षार्थी रहेका मरासिनीले बताइन्।

छात्राको संख्या बढी

यो वर्षको एसईई परीक्षामा छात्रभन्दा छात्रा परीक्षार्थीको संख्या बढिरहेको छ। छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ भने २ लाख ५७ हजार ६ सय १३ छात्रा छन्। ७ जना फरक लिंगी परीक्षार्थी रहेका सूचना अधिकारी मरासिनीले जनाएकी छन्।

सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा

यो वर्ष काठमाडौं जिल्लामा सबैभन्दा बढी १ सय ३५ परीक्षा केन्द्र कायम गरिएका छन् भने कुल परीक्षार्थी पनि ७७ जिल्लामा सबैभन्दा बढी काठमाडौंमै छन्। यहाँ कुल ४१ हजार १ सय ५५ परीक्षार्थी छन्।

त्यसैगरी सबैभन्दा कम परीक्षार्थी मनाङमा छन्। यहाँ एक मात्र परीक्षा केन्द्र रहेको र जम्मा परीक्षार्थीको संख्या ३४ रहेको सूचना अधिकारी लक्ष्मी मरासिनीले बताएकी छन्। उनका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी १ लाख ९ हजार ५ सय १३ परीक्षार्थी छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम ३९ हजार ७ सय ६९ जना परीक्षार्थी छन्।
बन्दीहरू पनि सहभागी बन्दै
परीक्षामा बालसुधार गृह भक्तपुरबाट परीक्षा फाराम भरेका २८ परीक्षार्थी छन्। उनीहरूमध्ये केही बालबिज्याइँकर्ता सुधारगृह सरुवा भई नुवाकोट, मकवानपुर र पर्साबाट परीक्षामा सहभागी हुँदै छन् भने देशभरबाट १ सय बढी कैदीबन्दी परीक्षामा सहभागी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।

विदेशमा पनि परीक्षा केन्द्र
देशभर १ हजार ९ सय ६५ परीक्षा केन्द्र छन्। त्यसबाहेक जापानमा पनि एक परीक्षा केन्द्र रहेको र त्यहाँ २३ जना परीक्षार्थी रहेका परीक्षा नियन्त्रण कार्यालयकी सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी गराएकी छन्। परीक्षा केन्द्रमा सुरक्षाकर्मीसहित ७३ हजार ५ सय कर्मचारी खटाइएको उनले बताइन्।

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको तयारी
यो वर्ष नयाँ अभ्यासको रूपमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार १ महिनामै परीक्षाफल सार्वजनिक हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

‘परीक्षा नियन्त्रक अधिकारीले हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण थाल्छन्,’ उनले भने, ‘प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइन्छ। चौथो दिनमा परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएका छौं।’ वैशाख ५ गतेभित्र उत्तरपुस्तिकासहित अंकभार कार्यालयमा आइपुग्ने र वैशाख १९ गतेभित्र नतिजा सार्वजनिक भइसक्ने उनको भनाइ छ।

कोशी : परीक्षा केन्द्रमा नर्स खटाइने
शिक्षा विकास निर्देशनालय, कोशीका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार परीक्षा केन्द्र व्यवस्थापन, सुरक्षा प्रबन्ध, अनुगमन प्रणाली तथा विद्यार्थी सहजीकरणका सबै पक्षमा कार्ययोजना बनाएर कार्यान्वयन गरिएको छ। १४ जिल्ला रहेको प्रदेशका ३ सय ३२ परीक्षा केन्द्रमा ८० हजार ९ सय १० जना परीक्षार्थीले एसईई दिँदै छन्।

पोखरेलका अनुसार परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ५ सय ४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक, ८ सय १३ सहायक कर्मचारी, १ हजार ६ सय १५ सहयोगी कर्मचारी तथा ४ हजार ९ सय ८० सुरक्षाकर्मी रहनेछन्। विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै परीक्षा केन्द्रमा नर्स खटाइने छ। नर्स उपलब्ध नभएका केन्द्रमा नजिकका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सुनिश्चित गर्ने व्यवस्था मिलाइएको छ। साथै, प्राथमिक उपचार सामग्री, शौचालय व्यवस्थापन र आवश्यक स्थानमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइनेछ।

परीक्षामा अनुशासन कायम गर्न मोबाइल फोन, स्मार्ट वाचलगायतका इलेक्ट्रोनिक उपकरण पूर्णरूपमा निषेध गरिएको छ। सीसीटिभी जडान भएका विद्यालयलाई प्राथमिकताका साथ परीक्षा केन्द्र बनाइएको र अनुगमनलाई थप प्रभावकारी बनाइने उनले बताए। परीक्षा केन्द्रहरूको नियमित अनुगमन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा गरिने छ। विद्यार्थीलाई सहजताका लागि परीक्षा केन्द्रनजिकै बसोबासको व्यवस्था मिलाउन स्थानीय तहले सहजीकरण गरेका छन्। नियमित परीक्षार्थीले विद्यालय पोसाक अनिवार्य लगाउनुपर्ने छ भने खुला समूहका विद्यार्थीले फोटोसहितको परिचयपत्र ल्याउनुपर्ने व्यवस्था गरिएको पोखरेलले बताए।

कर्मचारीले समेत मोबाइल लग्न नमिल्ने
मधेस प्रदेशमा एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रदेश सरकार सक्रिय भएको छ। प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा केन्द्रमा मोबाइल कसैले पनि लाने छुट नहुने बताएकी छिन्। ‘परीक्षामा चिट चोरी गराउने काममा कर्मचारीहरूसमेत संलग्न हुने हुनाले यदि केन्द्रभित्र कर्मचारीले पनि फोन प्रयोग गरे भने नियन्त्रणमा लिएर नष्ट गरिने छ,’ मन्त्री तिवारीले अन्नपूर्णसँग कुरा गर्दै भनिन्, ‘प्रदेशको शैक्षिक अवस्था खस्किँदै गएको हुनाले चिट चोर्ने र अन्य खालका उच्छृंखल क्रियाकलाप रोक्न परीक्षार्थीले केन्द्रभित्र कुनै प्रकारका सञ्चार उपकरणहरू लग्न पूर्णरूपमा बन्देज लगाइएको छ। 

यदि केन्द्राध्यक्षबाहेक अन्य कर्मचारी र परीक्षार्थीसँग मोबाइल पाइयो भने तत्कालै जफत गरी नष्ट गरिने छ।’ मन्त्री तिवारीले रिपोर्टिङको नाममा परीक्षा केन्द्रभित्र गएर सञ्चारकर्मीलाई कक्षाकोठाको वातावरण बिग्रिने खालको कुनै पनि गतिविधि नगर्न आग्रह गरेकी छिन्। शिक्षा तथा संस्कृति मन्त्रालयका उपसचिव उज्ज्वल पोखरेलका अनुसार मधेस प्रदेशबाट ८७ हजार ५ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने मधेस प्रदेश सरकारले जनाएको छ। मन्त्रालयले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रदेशभरि २ सय ९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने केन्द्रहरूमा १ हजार ३ सय १६ विद्यालयका परीक्षार्थी सहभागी हुनेछन्।

पर्सा जिल्लाबाट १० हजार ७ सय ३ विद्यार्थी सहभागी हुने भएका छन्। पर्सा जिल्लाका १ सय ५३ वटा विद्यालय (७० वटा सामुदायिक र ८३ वटा संस्थागत) बाट गरी १० हजार ७ सय ३ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्। चैत १९ देखि चैत २९ गतेसम्म चल्ने परीक्षाका लागि पर्सा जिल्लामा २७ वटा परीक्षा केन्द्र तोकिएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार पर्सा जिल्लामा ग्रामीण क्षेत्रमा १४ र सहरी क्षेत्रमा १३ वटा परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थापनका लागि १ हजार ३ सय ४ जना जनशक्ति परिचालन गरिने भन्दै उनले २७ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राध्यक्ष, ५ सय २३ जना निरीक्षक, ९२ जना परीक्षा सहायक, १ सय ९९ जना कार्यालय सहयोगी र ४ सय ५ जना सुरक्षाकर्मी रहेको बताए। जिल्लाका सबै परीक्षा केन्द्रका लागि प्रश्नपत्र नजिकका प्रहरीचौकीमा सुरक्षित रूपमा पु¥याइसकिएको र बाँकी आन्तरिक तयारी तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

सामूहिक अनुगमनमा रोक
बागमती प्रदेशबाट १ लाख ७ हजार ९ सय ५५ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन्। विद्यालय शिक्षा परीक्षाका लागि प्रदेशका १३ जिल्लाबाट नियमित तथा ग्रेडवृद्धि गरी १ लाख ७ हजार ९ सय ५५ जना विद्यार्थी सहभागी हुने प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयले जनाएको छ।

परीक्षालाई व्यवस्थित, अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबै तयारी भइसकेको सामाजिक विकास मन्त्रालयका सचिव खुवीराम अधिकारीले बताए। परीक्षार्थीका लागि भयरहित एवं मर्यादित वातावरणको सुनिश्चितता गर्न स्थानीय प्रशासन, स्थानीय तह, सञ्चारकर्मी, शिक्षकका पेसागत समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थीलगायत सम्पूर्णलाई आग्रहसमेत गरेको उनले जनाए।

यस वर्ष एसईई परीक्षाको सामूहिक अनुगमनमा पनि रोक लगाइएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघ–संगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको जनाएको छ। अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिरी क्षेत्रमा मात्र अनुगमन गर्ने निर्णय बोर्डले गरेको छ।

बागमतीको राजधानी रहेको जिल्ला मकवानपुरबाट ७ हजार १ सय ९२ जना विद्यार्थीले यस वर्षको एसईईमा सहभागिता जनाउने भएका छन्। यहाँ २८ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख सुदीप गिरीले बताए। जसमध्ये मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा १५ वटा परीक्षा केन्द्र, थाहा नगरपालिकामा ३ वटा रहेका छन्। यस्तै बकैया गाउँपालिकामा २ वटा, मनहरी गाउँपालिकामा २ वटा परीक्षा केन्द्र छन्। 

त्यसैगरी बागमती गाउँपालिका, गढी गाउँपालिका, भीमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकामा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले बताए। परीक्षामा जिल्लाभरबाट १ सय ४२ वटा विद्यालयका विद्यार्थी सहभागी हुने भएका छन्। जसमध्ये सामुदायिक विद्यालयको संख्या १ सय ५ र संस्थागत विद्यालय ३७ वटा रहेको छ।null

मनाङबाट सबैभन्दा कम ३४ ले एसईई दिने
एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।

जिल्लागत विवरण अनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। यसैगरी तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २ सय ८८ र बागलुङमा ४ हजार २ सय ३९ विद्यार्थी रहेका छन्। गोरखामा ३ हजार ७ सय ९७, लमजुङमा २ हजार ८ सय ६२, पर्वतमा २ हजार २ सय १७ र म्याग्दीमा २ हजार २२ विद्यार्थी सहभागी हुनेछन्।

सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १ सय ८६ जना विद्यार्थी रहेको विवरणमा उल्लेख छ। प्रदेशभर १ सय ८७ वटा परीक्षा केन्द्र तोकिएका छन् भने सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको जनाइएको छ। परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ।

लुम्बिनीमा ८९ हजारले एसईई दिँदै
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लुम्बिनी प्रदेशबाट कुल ८९ हजार १७ परीक्षार्थीले परीक्षा दिँदै छन्। नियमित तथा स्तरवृद्धितर्फको परीक्षामा उक्त संख्यामा विद्यार्थी परीक्षामा सम्मिलित हुँदैछन्।

शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशले दिएको तथ्यांकअनुसार नियमित (साधारण र प्राविधिक धार) तर्फ कुल ७२ हजार ८० जना र स्तरवृद्धितर्फ १६ हजार ९ सय ३७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्। निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ तथ्यांक अधिकृत डोरबहादुर बस्नेतका अनुसार परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा कुल ३ सय ३८ वटा परीक्षा केन्द्र तोकिएको छ।
३ सय ३८ जना केन्द्राध्यक्ष, ६ सय ३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ जना निरीक्षकहरू, ६ सय ६९ जना परीक्षा सहायकहरू र ६ सय ६९ जना नै कार्यालय सहयोगीहरू खटाइएको छ। प्रदेशभर कुल ७ सय ८७ जना जनशक्ति परीक्षा सम्पन्न गर्न खटिएका छन्।

प्रदेशमा सबैभन्दा बढी रूपन्देहीबाट कुल २१ हजार ३ सय विद्यार्थीले परीक्षा दिँदै छन्। सामुदायिक विद्यालयतर्फ रूपन्देही देशकै अग्रणी जिल्लामा पर्छ। कालिका मानवज्ञान मावि, शान्ति नमुना र कान्ति माध्यमिक विद्यालय देशभरमै सबैभन्दा धेरै विद्यार्थी संख्यासहित नतिजामा उत्कृष्ट हुँदै आएका छन्। त्यसपछि दाङबाट १३ हजार ९ सय ९८ जना विद्यार्थी परीक्षामा सहभागी छन्। बाँकेबाट ९ हजार ६ सय ८३, कपिलवस्तुबाट ९ हजार ९ सय ६२, बर्दियाबाट ६ हजार ८ सय ३६, प्यूठानबाट ४ हजार ३ सय ७९, रोल्पाबाट ३ हजार ८ सय ९८, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट ५ हजार ७ सय ७४, पाल्पाबाट ४ हजार ७ सय ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

गुल्मीबाट ४ हजार ४ सय ५१ र अर्घाखाँचीबाट ३ हजार २४ जना विद्यार्थीले परीक्षा दिँदै छन्। निर्देशनालयका सूचना अधिकारी बस्नेतका अनुसार १२ जिल्लामध्ये सबैभन्दा कम पूर्वी रुकुमबाट कुल ९ सय १३ जना विद्यार्थीले मात्र परीक्षा दिँदै छन्। 

कर्णालीमा पनि तयारी पूरा
प्रदेश शिक्षा विकास निर्देशनालय कर्णालीका अनुसार यस वर्ष प्रदेशभर कुल ३८ हजार ३ सय ७९ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। तीमध्ये साधारण (रेगुलर) तर्फ ३० हजार ८ सय ५४ जना र प्राविधिक धारतर्फ १ हजार ४ सय १ जना छन्। त्यस्तै ग्रेडवृद्धि (अपग्रेड) परीक्षामा सहभागी हुने विद्यार्थी संख्या ६ हजार १ सय २४ जना रहेको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ।

प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले परीक्षा व्यवस्थित र मर्यादित बनाउन प्रदेशभर १ सय ६१ वटा परीक्षा केन्द्र तोकिएका छन्। 
परीक्षा केन्द्रहरूमा विद्यार्थीलाई सहज र सुरक्षित वातावरणमा परीक्षा दिन सक्ने गरी बस्ने व्यवस्था, सुरक्षा प्रबन्धलगायत सबै तयारी पूरा गरिएको उनले बताइन्। उनका अनुसार यस वर्ष एसईई सञ्चालनका लागि ५ हजार ८ सय ९८ जना जनशक्ति परिचालन गरिएको छ। जसमा केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, सुरक्षाकर्मी लगायतको संलग्नता रहनेछ। परीक्षा मर्यादित र व्यवस्थित बनाउन सबै तहका सरोकारवाला निकायहरू सक्रिय रूपमा जुटेका छन्।

प्रदेश सरकार, शिक्षा विकास निर्देशनालय, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरू एवं सम्बन्धित स्थानीय तहहरूले परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन समन्वयात्मक भूमिका निर्वाह गरिरहेका छन्। सुरक्षा निकायसँगको सहकार्यमा प्रत्येक परीक्षा केन्द्रमा कडाइका साथ निगरानी गरिने व्यवस्था मिलाइएको छ। 

सुदूरपश्चिमबाट ५४ हजार विद्यार्थी सहभागी
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमबाट झन्डै ५४ हजार विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार बिहीबारदेखि हुने एसईई परीक्षामा ५३ हजार ९ सय ७३ विद्यार्थी सहभागी हुँदै छन्। निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए। प्रश्नपत्र र उत्तरपुस्तिकाहरू सम्बन्धित परीक्षा केन्द्रमा पुगेर सिट प्लानसमेत भइसकेको उनले बताए। उनका अनुसार सुदूरपश्चिमबाट नियमिततर्फ ४० हजार ७ सय १०, प्राविधिक धारका एक हजार ७ सय ७८ र ग्रेडवृद्धिमा ११ हजार ४ सय ८५ परीक्षार्थी छन्।
परीक्षामा सबैभन्दा बढी कैलालीमा १८ हजार २ सय ७८ विद्यार्थी छन् भने सबैभन्दा कम बाजुरामा २ हजार ४ सय २६ विद्यार्थी छन्। 

संजीप घिमिरे/भक्तपुर, किशोर बुढाथोकी/ विराटनगर, मनिका झा/जनकपुरधाम, क्रान्ति शाह/वीरगञ्ज, भवानी खड्का/दोलखा, सरोज पौडेल/हेटौंडा, कृष्णमणि बराल/पोखरा, केशरराज क्षेत्री/बुटवल, विष्णुप्रसाद न्यौपाने/वीरेन्द्रनगर, महादेव अवस्थी/महेन्द्रनगर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.