प्रतिबन्धित औषधि र लागुऔषधको भण्डारमा छापा, दुई जना पक्राउ

प्रतिबन्धित औषधि र लागुऔषधको भण्डारमा छापा, दुई जना पक्राउ

विराटनगर : मोरङको उर्लाबारीमा प्रहरीले छापा हानेर ठूलो मात्रामा प्रतिबन्धित औषधि तथा लागुऔषध बरामद गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले शुक्रबार दिउँसो हजारौं ट्याब्लेट प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जना कारोबारीलाई पक्राउ गरेको हो ।

यस घटनाले उर्लाबारी क्षेत्र लागुऔषध कारोबारको संवेदनशील केन्द्र बन्दै गएको देखाउँछ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–३ थापा चोकस्थित ललिता तामाङको घरको कोठा भाडामा लिएर बस्दै आएका दुई व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि विशेष सूचनाका आधारमा निगरानी बढाइएको थियो ।

सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शुक्रबार करिब दिउँसो १ बजेतिर प्रतिबन्धित औषधि र लागुऔषधको भण्डार नै रहेको कोठामा छापा मारेको हो । छापा मार्दा कोठाभित्र ठूलो परिमाणमा प्रतिबन्धित औषधि र लागुऔषध लुकाएर राखिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन् । 

उनका अनुसार पथरीशनिश्चरे नगरपालिका–४ का ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाल उक्त कोठामा बस्दै आएका थिए । उनीहरूले कोठा भाडामा लिएर त्यसलाई लागुऔषध तथा प्रतिबन्धित औषधि भण्डारण गर्ने गोप्य स्थानको रूपमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कोठाभित्र हरियो टिनको बाकसमा लुकाएर राखिएको विभिन्न प्रकारका औषधि तथा लागुऔषध फेला परेपछि दुवै जनालाई पक्राउ गरिएको एसपी कटवालको भनाइ छ । 

प्रहरीले डाइसीक्लोमिन हाइड्रोक्लोराइड, ट्रामाडोल, प्रामेथाजिन हाइड्रोक्लोराइड, निट्राजेपाम लगायतका औषधि ठूलो परिमाणमा फेला पारेको छ । ‘स्पासरेस्ट’ लेखिएको डाइसीक्लोमिन हाइड्रोक्लोराइड यूएसपी २ हजार ३ सय ५० ट्याब्लेट, ‘स्पासपेन फ्री’ लेखिएको डाइसीक्लोमिन एचसीएल २ हजार ५ सय २० ट्याब्लेट, ‘भोमिन–२५’ लेखिएको प्रामेथाजिन हाइड्रोक्लोराइड बीपी ३ सय ५० ट्याब्लेट र ‘ट्रामोल–५०’ लेखिएको ट्रामाडोल हाइड्रोक्लोराइड ९ हजार ५ सय ७० ट्याब्लेट बरामद भएको छ ।

त्यसैगरी ‘रिरिसपास–२०’ लेखिएको डाइसीक्लोमिन हाइड्रोक्लोराइड ९ हजार ३ सय ८० ट्याब्लेट, ‘बारालमुन’ लेखिएको डाइसीक्लोमिन ९ सय ४० ट्याब्लेट, ‘निट्जासेन–१०’ लेखिएको निट्राजेपाम १ हजार १ सय ६५ ट्याब्लेट तथा ‘एन्टिकफ’ लेखिएको हाइड्रोक्लोराइड र फेनाइलफ्रिन हाइड्रोक्लोराइड ३ सय ७० ट्याब्लेट पनि फेला परेको प्रहरीले जनाएको छ । २६ हजार ६५ ट्याब्लेट प्रतिबन्धित औषधि बरामद भएको एसपी कटवालले बताए । 

यससँगै कोठाबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) र गाँजा समेत फेला परेको छ । प्रहरीका अनुसार ब्राउन सुगर दुई छुट्टाछुट्टै पोकामा २ ग्राम ७ सय मिलिग्राम र ५ ग्राम १ सय ९० मिलिग्राम गरी कुल ७ ग्राम ८ सय ९० मिलिग्राम बरामद भएको हो । साथै, २ किलो २ सय ३० ग्राम गाँजा पनि बरामद गरिएको छ । तुङहाङ र दाहालले भाडामा लिएको कोठालाई लागुऔषध भण्डारण तथा वितरण केन्द्रको रूपमा प्रयोग गरिरहेको पाइएको प्रहरीको भनाइ छ । 

प्रहरीले लागुऔषध कारोबारमा प्रयोग हुने डिजिटल तराजु, प्लास्टिकका रबर, मोबाइल फोन, नगद, स्कुटर र अन्य व्यक्तिगत सामान समेत नियन्त्रणमा लिइएको छ । घटनास्थलबाट प्र १–०२–०५९ प १८५९ नम्बरको डिओ कम्पनीको स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, २२ हजार २ सय ७० रुपैयाँ नगद पनि फेला परेको छ । 

बरामद सामग्रीसँगै पक्राउ परेका तुङहाङ र दाहाललाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ । उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गतको मुद्दा चलाउन इन्स्पेक्टर नवीन ओली नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । 

प्रारम्भिक अनुसन्धानबाट उनीहरू लामो समयदेखि लागुऔषध तथा प्रतिबन्धित औषधिको अवैध कारोबारमा संलग्न रहेको पत्ता लागेको छ । मोरङ प्रहरी प्रमुख एसपी कटवालका अनुसार पक्राउ परेकाहरूको नेटवर्क, आपूर्ति स्रोत र वितरण प्रणालीका बारेमा पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ । उनका अनुसार लागुऔषध भारतबाट भित्रिएको हुन सक्ने आशंका रहेकाले त्यसको सम्पूर्ण मार्ग, संलग्न व्यक्ति तथा स्थानीय सहयोगीहरूको पहिचान गर्न अनुसन्धान केन्द्रित गरिएको छ । 

उनले भने, ‘विभिन्न कोणबाट विस्तृत अनुसन्धान सुरु गरिएको छ । लागुऔषधको कारोबार, ओसारपसार एवं भण्डारणमा अरु कोही जोडिएका छन् कि भनेर पत्ता लगाउने प्रयास भइरहेको छ ।’ प्रहरीले यस घटनालाई उर्लाबारी क्षेत्रको लागुऔषध कारोबारको गम्भीर संकेतको रूपमा लिएको छ । पछिल्लो समय पूर्वी नेपालका विभिन्न क्षेत्रमा लागुऔषधको कारोबार बढ्दै गएको पृष्ठभूमिमा यस्ता ठूलो परिमाणका बरामदले संगठित गिरोह सक्रिय रहेको आशंका थप बलियो बनाएको छ । प्रहरीका अनुसार यस्ता अवैध गतिविधि नियन्त्रणका लागि सक्रियता बढाइएको छ । 

पक्राउ परेकाहरूको सम्पर्क, मोबाइल डेटा, आर्थिक लेनदेन र यातायात साधनको प्रयोग समेतलाई ध्यानमा राखेर सूक्ष्म रूपमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ । साथै, उनीहरू अन्य कुनै गिरोह वा अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिएका छन् कि छैनन् भन्ने विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ । यस्ता अवैध धन्दा तत्काल नियन्त्रणमा लिइने बताउँदै एसपी कटवालले कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी दिन सबैमा अनुरोध गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.