इरानका नागरिकलाई इजरायलको चेतावनी : आज रेलमार्गबाट यात्रा नगर्नू
इजरायल : इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इरानका नागरिकलाई आज रेलमार्ग प्रयोग नगर्न चेतावनी दिएको छ । आईडीएफको फारसी सामाजिक सञ्जाल खातामा गरिएको पोस्टमा भनिएको छ, ‘इरानका नागरिकहरूले आफ्नो सुरक्षाका लागि आज राति ९ बजेसम्म (इरानी समय अनुसार) देशभर रेल सेवा प्रयोग नगर्नुहोस् ।’
पोस्टमा थप भनिएको छ, ‘रेलमा रहनु वा रेलमार्ग नजिक जानु तपाईंको ज्यानका लागि जोखिमपूर्ण हुन सक्छ ।’ यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको समयसीमा सकिन लाग्दा आएको हो । ट्रम्पले इरानलाई होर्मुज जलडमरूमध्य खोल्न अल्टिमेटम दिएका थिए ।
यसैबीच, इजरायलले तेहरानमा ‘सरकारसँग सम्बन्धित पूर्वाधार’ माथि हवाई आक्रमण गरेको जनाएको छ । साथै हिज्बुल्लाहसँग सम्बन्धित सदस्यहरू मारिएको दाबी पनि गरिएको छ ।
उता, इरानको स्थानीय सञ्चारमाध्यमहरूले तेहरानका विभिन्न स्थानहरूमा विस्फोट भएको खबर दिएका छन् । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार खोर्रामाबाद विमानस्थलमा आक्रमण भएको छ । साथै समाचार एजेन्सी एएफपीले तेहरानको उत्तरतर्फ विस्फोटको आवाज सुनिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !