कक्षा ८ को परीक्षामा डडुवा भवानीशंकरको नतिजा शून्य, प्रअको राजीनामा माग
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा वडा–१४ मा रहेको डडुवा भवानीशंकर माध्यमिक विद्यालयले शून्य नतिजा ल्याएको छ ।
विद्यालयबाट ३२ विद्यार्थी परीक्षामा सहभागि भएकोमा नतिजा शून्य आएको नगर शिक्षा शाखा अधिकृत अशोक घलेले जनाए । नगरले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा गत वर्षको तुलनामा सुधार देखिए पनि डडुवा भवानीशंकरको नतिजा भने निराशजनक भएको उनले बताए । विद्यार्थीले परीक्षामा नतिजा शून्य प्राप्त गरेपछि स्थानीय जनप्रतिनिधिदेखि अविभावक समेतले बिरोध जनाएका छन् ।
विद्यालयको नतिजा शून्य भएपछि स्थानीय अभिभावकले प्रधनाध्यापकको राजीनामा माग गर्दै पहिलो चरणको आन्दोलन घोषणा गरेका छन् । ‘कक्षा ८ को परीक्षामा विद्यालयबाट सहभागी भएका सबै विद्यार्थी अनुत्तीर्ण भएको विषयप्रति आम डडुवावासीको ध्यानाकर्षण भएको छ । हामी शिक्षा सुधार विना अन्य कुनै पनि किसिमको सामाजिक विकास परिवर्तन हुन सक्दैन भन्ने विषयमा दृढ छौ’, स्थानीयद्वारा जारी मागपत्रमा भनिएको छ, ‘लामो समयदेखि शिक्षा सुधारका लागि विद्यालयलाई आवश्यक सल्लाह, सुझाव पनि दिदै आइरहेका छौं । तर पनि विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघले ती सल्लाह र सुझावहरुलाई ग्रहण नगरी आफ्नै हिसाबले अघि बढ्न खोज्दा आजको परिस्थिति सिर्जना भएको हो भन्ने हाम्रो निष्कर्ष छ ।’
अब पनि शिक्षा सुधारका लागि अगाडि बढ्न सकिएन भन्ने स्थिति झन बिग्रने र शैक्षिक अवस्था अझै कमजोर हुने देखिएकाले विभिन्न मागसहित पहिलो चरणको आन्दोलण घोषणा गरेको स्थानीय नकुल नेपालले बताए । प्रधानाध्यापकको राजीनामासँगै विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघकाका पदाधिकारीले आत्मआलोचनासहित माफी माग्दै चैत्र २७ सम्ममा पदबाट राजीनामा दिनुपर्ने माग स्थानीय अभिभावकहरुको छ ।
‘विद्यालयको यो परिस्थिति आउनुमा महत्वपूर्ण जिम्मेवारी रहेको र विद्यालय सुधारका लागि आफूले अपेक्षित काम गर्न नसकेकाले सार्वजनिक रुपमा वडा अध्यक्षले माफी माग्दै आगामी दिनमा शिक्षामा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ,’ जारी मागपत्रमा भनिएको छ । शिक्षाको सुधार र माग कार्यान्वयनको लागि स्थानीय अभिभावकहरुले चैत्र २८ गते सबै सरोकारवालाहरुलाई भेला हुन आह्वान समेत गरेका छन् । ‘माग बमोजिम उहाँहरुले मार्ग प्रशस्त गरिसकेपछि नयाँ बन्ने विद्यालयको सम्पूर्ण आन्तरिक संरचनाको नेतृत्वसँग बैठक बसी विद्यालय सुधारको स्पष्ट खाका तयार पारी सार्वजनिक गर्नेछौं’, नेपालले भने ।
स्थानीय अभिभावकहरुले राजीनामा माग गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकृष्ण नेपालले चैत्र २९ गते राजीनामा दिने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत परीक्षामा सबै विद्यार्थी अनुत्र्तीण भएको हुँदा नैतिक रुपमा विद्यालयको अध्यक्ष पदमा रहिरहन नसक्ने भन्दै चैत्र २९ गते विद्यालयमा सबै सरोकारवालाहरुको बीचमा राजीनामा दिने बताएका हुन् ।
‘विद्यालय सुधारको लागि प्रयास नगरेको होइन, तर पनि सफल हुन सकेनौं । शिक्षा नीति, राजनीति जस्ता अनेकौं कारणले गर्दा विद्यालयले राम्रो नतिजा ल्याउन सकेन’, उनले लेखेका छन्, ‘परीक्षामा असफल हुने विद्यार्थी मेरो आफ्नो छोराछोरी हुन्, उनीहरुको भविष्य अन्यौलमा परेको हेरिरहन सकिनँ । त्यसैले चैत २९ गते सबै सरोकारवालाहरुको बीचमा केही कुरा राखेर राजीनामा दिनेछु ।’
यता वडा अध्यक्ष उद्धव नेपालले राजनीतिक कारण विद्यालयले नतिजा शून्य ल्याएको भन्दै आफू असन्तुष्ट रहेको बताए । ‘चौतारा साँगाचोकगढी नगरपालिकाको नगरस्तरीय कक्षा ८ को नतिजाबाट म सन्तुष्ट छैन । शिक्षामा राजनीतिक नियुक्ति, समितिमा राजनीतिक नियुक्ति जस्ता कारणले भोलि शिक्षा क्षेत्र अझै खस्कने निश्चित छ’, उनले भने, ‘हाम्रोतर्फबाट भएका कमी कमजोरीको जिम्मा हामी लिन्छौं तर सम्पूर्ण विद्यार्थीको भविष्यमाथिको खेलवाड कदापी स्वीकार्य छैन ।’
उनले नगरपालिका र नगर शिक्षाको लापरवाहीको भागिदार जनप्रतिनिधि हुनुपरेको बताए । ‘उहाँहरुको कोठे बैठकको अपजस हामीले लिनु पर्ने ? यो कदापी हुँदैन,’ उनले भने । स्थानीय अभिभावकहरुले भने राजनीति गर्ने शिक्षकहरु सबैलाई बिदाई नगरेसम्म विद्यालय सुधार हुन नसक्ने जनाउँदै नैतिक रुपमा शिक्षकहरु स्वयम्ले राजीनामा दिई विद्यार्थीको भविष्यमा खेलवाड बन्द गर्न आग्रह गरेका छन् । नगरपालिकाले शिक्षक नियुक्ति आफ्नो पार्टी निकटको व्यक्तिलाई मात्रै गर्ने गरेका कारण नतिजामा कमजोर देखिएको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !