मालिनीको प्रेम प्रतीक : वर्षमा एकदिन फुल्ने फूल
सिरहा : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१२, भोटियाटोल चोकबाट करिब डेढ किलोमिटर दक्षिणमा १० बिघा क्षेत्रफलमा फैलिएको छ– ऐतिहासिक सलहेश फूलबारी। यहाँ अनेक थरीका रूख–बिरुवा भए पनि हारमका दुईवटा रूख विशेष आकर्षणको केन्द्र हुन्, जसमा हरेक नयाँ वर्षको पहिलो दिन सुनाखरी (चाँदीगाभा) फूल फुल्ने गर्छ। नयाँ वर्षको स्वागतमा फुल्ने यो अद्भुत फूल हेर्न वैशाख १ गते यहाँ बर्सेनि दर्शनार्थीको ठूलो घुइँचो लाग्छ।
सुनाखरी फुल्ने हारमको रूखनजिकै प्रतिमासहितको मालिनीहरूको मन्दिर छ भने त्यसको ५० मिटर दक्षिणमा राजा सलहेशको मन्दिर अवस्थित छ। यो फूलबारीको कथा १४औं शताब्दीका लोकनायक राजा सलहेश र उनका प्रेमीकाहरू (रेश्मा, कुश्मा र दौना मालिनी) को गाथासँग जोडिएको जनविश्वास छ। तत्कालीन महिसोथा गढ (हालको सिरहा सदरमुकाम) का राजा सलहेश यहाँको मानिक दहमा स्नान गर्ने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखाडामा कुस्ती खेल्ने र गढमा गएर कुलदेवताको पूजा गर्ने गर्दथे भन्ने लोककथन छ।
यो फूलबारी मालिनीहरूको थियो, जो तत्कालीन मोरङ राज्यका हिनपैत माइलका छोरीहरू थिए। सलहेशलाई हरेक दिन फूल अर्पण गर्ने क्रममा मालिनीहरू उनीसँग एकतर्फी प्रेममा परेका थिए। सलहेश र मालिनीहरूबीचको त्यही प्रगाढ प्रेमको प्रतीकका रूपमा यो फूल फुल्ने गरेको जनविश्वास छ।
मन्दिरका पुजारी जितेन्द्र धामी दनुवारका अनुसार फूलबारीमा अरू धेरै रूख भए पनि माला आकारका यी फूलहरू मालिनीको गहबर (मन्दिर) छेउका दुईवटा रूखमा मात्र देखिन्छन्। वैशाख १ गते फूलको रूपमा सलहेश र मालिनी स्वयं प्रकट हुने विश्वासमा यो दिन विशेष मेला लाग्ने गर्छ। फूल हेर्न सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्ला र भारतको बिहार (दरभंगा, मधुबनी, पटना, वैशाली आदि) बाट ठूलो संख्यामा सर्वसाधारण आउने गर्छन्।
यस वर्ष पनि भारतबाट एकदिन अगावै श्रद्धालुहरू फूलबारी आइपुगेका छन्। भारतको मोतीहारीका रविशंकर पासवानका अनुसार सलहेश पासवान जातिको कुलदेवता भएकाले उनीहरू पुस्तौंदेखि यहाँ पूजा गर्न आउने गरेका हुन्। यहाँ आउने दर्शनार्थीहरूले सन्तान प्राप्ति, सुस्वास्थ्य र मनोकामना पूरा गर्न भाकल गर्ने र पूरा भएपछि बोका बलि दिने तथा कागजको छाता (झाप) चढाउने परम्परा छ। लहानको फूलबारी जस्तै सलहेशको गाथा जोडिएका महिसोथागढ, पकडिया गढ, ब्राह्मण गोर्छारी, मानिक दह र पतारी पोखरीमा पनि यसै अवसरमा मेला लाग्ने गर्छ। ती स्थानहरूमा राजा सलहेश र अन्य पात्रहरूका हात्तीमा सवार मूर्तिहरू देख्न पाइन्छ।
के भन्छ वनस्पति विभागको अध्ययन ?
वनस्पति विभागले सन् २०१६ मा प्रकाशित गरेको अध्ययन पुस्तकअनुसार यहाँ फुल्ने फूल ‘डेन्ड्रोबियम एफाइलम’ नामक सुनाखरी प्रजाति हो। यो रूखका हाँगामा टाँसिएर रहने वनस्पति हो, जो नेपालको पूर्व र मध्य भागमा समुद्री सतहदेखि १५ सय मिटरसम्मको उचाइमा पाइन्छ।
यो फूल सामान्यतया चैतको अन्तिम सातादेखि वैशाखको मध्यसम्म फुल्ने गर्छ। यस वर्ष पनि चैत २८ गतेदेखि नै फूल फुल्न सुरु भइसकेको छ। सौन्दर्यका दृष्टिले विश्वभर चर्चित यो सुनाखरीको काण्डबाट विभिन्न शक्तिबद्र्धक औषधिहरूसमेत बनाइने गरिन्छ।
प्रतिक्रिया दिनुहोस !