अमेरिका–इरान युद्धविराम अवसर कि जोखिम ?
अमेरिका : मध्यपूर्वमा एक होइन, दुईवटा युद्धविराम लागू भएका छन् । के अब यहाँ ऐतिहासिक उपलब्धिहरूका लागि अवस्था तयार भएको हो ?
यी युद्धविरामहरू-इरान र लेबनानमा दुवैलाई ‘कमजोर’ भनेर वर्णन गरिएको छ । तर युद्धको कोलाहल फेरि केही शान्त हुँदै जाँदा यो अवसरले भरिएको क्षण हो । र जोखिम पनि ।
सामान्य रूपमा हेर्दा, बिहीबार राति इजरायल र इरान समर्थित मिलिशिया हिज्बुल्लाहबीच भएको १० दिनको युद्धविरामको घोषणा इरानका लागि एक जीत हो । तेहरानको शासनले लेबनानमा युद्धविराम हुनैपर्छ भनेर माग गरेको थियो र अमेरिका–इरान वार्ता त्यस बिना अघि बढ्न नसक्ने बताएको थियो।
अब त्यो विराम लागू भइसकेपछि इरानले प्रतिक्रिया दिँदै होर्मुज जलडमरूमध्यलाई ‘पूर्णरूपमा खुला’ घोषणा गरेको छ । गत हप्ता इस्लामाबादमा भएको लामो वार्ता बैठकले देखाएझैं, लेबनानमा युद्ध जारी रहे पनि प्रगति सम्भव थियो । तर इरान र पाकिस्तान दुवैले लेबनानलाई पनि समावेश गर्नुपर्ने अडान राखे ।
अब त्यो भएको छ । जसले इजरायलको उत्तरी सीमाना नजिक बस्ने इजरायलीहरूलाई आक्रोशित बनाएको छ । उनीहरूका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी दबाबमा झुकेर हिज्बुल्लाहले फेरि कहिल्यै इजरायलमाथि रकेट नचलाओस् भन्ने सुनिश्चित गर्न असफल भएका छन् ।
कतिपय इजरायलीहरूका लागि यो युद्धविरामले इरानको पक्षमा काम गरिरहेको देखिन्छ, जसले इजरायलको प्रमुख शत्रुलाई घटनाक्रम नियन्त्रण गर्ने अवसर दिएको छ ।
‘यो युद्धविरामले इजरायलले टार्न खोजेको अवस्थालाई नै वैधता दिएको छ : इरान र लेबनानी मोर्चाबीचको सम्बन्धलाई मान्यता दिएको छ’, इजरायल हायोम दैनिककी शिरिट अवितान कोहेनले लेखेकी छन् । वास्तवमा, यी सबै संघर्षमा संलग्न सबै पक्षहरूले हालको सम्झौताबाट केही न केही फाइदा पाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानको नेतृत्वका लागि यो युद्धविराम ल्याएको श्रेय लिन सकिने अवसर हो ।
नेतन्याहुले भने इजरायली सेना अझै पनि दक्षिणी लेबनानमा उपस्थित रहेको कुरा देखाउन सक्छन् र लेबनानी सरकार, महिनौंको प्रयासपछि इजरायलसँग प्रत्यक्ष वार्तामा छ । हिज्बुल्लाहले, युद्धविराम पालना गर्ने बताएको छ (तर अझै पनि ‘ट्रिगरमा औंला’ रहेको दाबी गर्छ), पराजित भएको छैन र उसले आफ्ना हतियार नत्याग्ने स्पष्ट गरेको छ । ‘जबसम्म वास्तविक युद्धविराम हुँदैन । जबसम्म इजरायली सेना फिर्ता हुँदैन । बन्दीहरू फर्काइँदैनन्, विस्थापितहरू फर्काइँदैनन् र पुनर्निर्माण सुरु हुँदैन । त्यतिन्जेल हिज्बुल्लाहका हतियारबारे कुरा गर्न सम्भव छैन’, हिज्बुल्लाहका वरिष्ठ नेता वफिक सफाले बिहीबार भने ।
प्रतिक्रिया दिनुहोस !