सिटौलालाई राजनीतिक झट्का

सिटौलालाई राजनीतिक झट्का
सुन्नुहोस्

काठमाडौं : विशेष महाधिवेशनपछि आन्तरिक एकता विभक्त भएको कांग्रेसमा राजनीतिक प्रहार हुन सुरु गरेको छ। १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा निकटका शीर्ष नेताहरू नै जिम्मेवारीविहीन हुन थालेका छन्।

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई वैधानिकता दिएसँगै सभापति गगनकुमार थापाले पार्टी सत्ताको ‘सदुपयोग’ गर्न थालेका छन्।

कुनै समय आफ्नो गुटको नेता मानेका कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा दलको नेताबाट समेत हटाएर थापाले राजनीतिक अस्त्र प्रहार गरेका छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको काँधमा राखेर थापाले पुराना शक्ति केन्द्रहरूलाई किनारा लगाउने संकेतसमेत दिएका छन्। 

आङ्देम्बेले सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता मनोनीत गरे। यसअघि सिटौलालाई तत्कालीन संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभामा संसदीय दलको नेता मनोनीत गरेका थिए। आङ्देम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित), २०८३ को धारा १२ (२) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन्।
विशेष महाधिवेशनको तीव्र विरोधमा उत्रिएका सिटौलासँग थापाको सम्बन्ध पछिल्लो समय हार्दिक थिएन। कांग्रेसभित्र थापा–सिटौला सम्बन्धको उतारचढाव लामो समयदेखि चर्चामा रहँदै आएको छ। एक समय सिटौलाकै संरक्षणमा राजनीतिमा स्थापित भएका थापा पछिल्लो समय अलग शक्ति केन्द्रतर्फ उन्मुख भएपछि सम्बन्ध चिसिएको थियो। 

०६२/६३ सालको जनआन्दोलनबाट उदाएका नेता थापालाई पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिक सूचीमा नाम राख्न दबाब दिने पनि सिटौला नै थिए।  पार्टीको १३औं महाधिवेशनमा सिटौला प्यानलबाटै गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिएका थिए। यद्यपि त्यो निर्वाचनमा उनले जित निकाल्न भने सकेनन्। सिटौलाकै सिफारिसमा गगन पहिलोपटक मन्त्रीको कुर्सीमा पुगेका थिए। २०७३ सालमा पुष्पकमल दाहाल सरकारमा थापा स्वास्थ्यमन्त्री भएका थिए। पछिल्लो समय भने गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनको चर्को विरोध गर्नेहरूमध्ये सिटौला पनि थिए। 

थापा र सिटौलाको सम्बन्ध २०७८ सालमा भएको कांग्रेसको १४औं महाधिवेशनदेखि चिसिन सुरु भएको हो। त्यतिबेला थापाले गुट परिवर्तन गरेका थिए। उनी डा. शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए। सिटौला भने देउवा गुटमा थिए। गुट परिवर्तन गरेपछि सिटौलाले त्यो समय थापालाई इंगित गर्दै भनेका थिए, ‘जसले नेता बनायो, उसले बिगार्न पनि सक्छ।’

पछिल्लो समय भने देउवा समूहबाट समानान्तर भेलाहरू बोलाउनमा अरूभन्दा बढी सिटौला नै सक्रिय थिए। सिटौलासहित पूर्णबहादुर खड्का, प्रकाशमान सिंह र विमलेन्द्र निधिको मुख्य भूमिकाकै कारण पार्टीभित्रको विवाद नमिलेको थापाले गुनासो गरेका छन्। सिटौलाले अहिले पनि १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको समिति समायोजन गरेर त्यसैबाट महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने भन्दै भेला गर्दै आएका थिए। 

सिटौलाको बहिर्गमनसँगै विशेष महाधिवेशनमा खुलेकी पन्तलाई दलको नेताको जिम्मेवारी आएको हो। आङ्देम्बेले राष्ट्रियसभाको सचेतकमा पनि देउवा पक्षीयलाई हटाएर गगननिकट पदमबहादुर परियारलाई मनोनीत गरेका छन्।

आङ्देम्बेले विधानको धारा ७ (१) बमोजिम प्रतिनिधिसभाका लागि उपनेतामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद अभिषेकप्रताप शाहलाई चयन गरेका छन्। प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निष्कल राईलाई मनोनयन गरिएको छ। थापा दैलेख क्षेत्र नम्बर १ र राई इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। थापा कांग्रेसबाट निर्वाचित एक मात्र महिला सांसद हुन्। थापा र राई दलको नेताका लागि आकांक्षी थिए।

खड्कालाई तामेलीमा, कान्छाराम निलम्बित
कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कामाथि सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको छ। खड्काले कार्यवाहक सभापतिको हैसियतमा लगातार विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले वैशाख २ गते ७ दिने स्पष्टीकरण सोधेको थियो। यसबीचमा सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएको थियो। 

सर्वोच्चले मान्यता दिएपछि खड्काले कार्यवाहक सभापतिको हैसियत छोडेका थिए। अनुशासन समितिको निर्णय सार्वजनिक गर्दै कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भने, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयअनुसार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा सर्वोच्च अदालतको मिति २०८३ वैशाख ४ गतेको फैसलापश्चात उक्त निर्णयको औचित्य समाप्त भएकाले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ।’

अनुशासन समितिले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ। बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो। उनी पार्टीको रामेछाप जिल्ला सभापति थिए। केही दिनअघि कान्छारामले दिएको ‘पार्टी सभापति गगनकुमार थापासँग ३ अर्ब रुपैयाँ छ’ भन्ने विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो। उनले २१ फागुनको चुनावमा १ अर्ब खर्च गर्दा पनि थापाले चुनाव नजितेको दाबी भिडियोमा गरेका थिए।

कांग्रेसले कोशी र लुम्बिनीका मन्त्रीसहित ७ नेतालाई पनि कारबाही गरेको छ। फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा उनीहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको ठहर गर्दै महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण प्रसाद कलवार (सन्तु), पूर्वकेन्द्रीय सदस्य एवं कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश उपसभापति तथा प्रदेशसभा सदस्य राजु खनाल, मधेस प्रदेशका प्रदेश सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई ५ दिनभित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेस गर्न पत्राचार गर्न भनिएको छ।

तरुण दल अध्यक्षको राजीनामा
कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान् गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले पार्टी सभापतिलाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन्। उनी २०७८ फागुन ९ गते तरुण दलको अध्यक्षमा मनोनीत भएका थिए। ‘पार्टी निर्माणको अभियानमा सहज वातावरण बनोस् भन्ने विश्वासका साथ मैले नेपाल तरुण दलको अध्यक्ष पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.