एआईबाट कफी बनाउँदै उबित

एआईबाट कफी बनाउँदै उबित
सुन्नुहोस्

स्याङ्जाका २६ वर्षीय उबित अर्यालले एआईमार्फत कफी तयार पारेर पारखीहरूलाई विभिन्न स्वादमा कफी पिलाइरहेका छन् ।

२१औं शताब्दी सूचना र नयाँ प्रविधिको युग हो, जहाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले विश्वको कार्यशैली बदलिरहेको छ। यही नवप्रविधिको उपयोग गर्दै स्याङ्जाका २६ वर्षीय उबित अर्यालले एआईमार्फत कफी तयार पारेर पारखीहरूलाई विभिन्न स्वादमा कफी पिलाइरहेका छन्। पुतलीबजार नगरपालिका–११, मायाटारीका अर्यालको दैनिकी निकै लोभलाग्दो छ। 

युवा जोस र जाँगरले भरिएका उनी मन्द मुस्कानका साथ कफी बनाउँछन्, जुन निकै स्वादिलो हुने कफी पारखीहरू बताउँछन्। घरमा आउने पाहुना हुन् या आफन्त, उनी कफी भरेर पिलाउन सदैव तत्पर रहन्छन्। अर्याल अध्ययनसँगै सानै उमेरमा व्यावसायिकतातर्फ उन्मुख भएका छन्। उनमा विदेश जाने र धेरै पैसा कमाउने मोह देखिँदैन। आफ्नै जन्मथलोमा बसेर बुवाले सिञ्चित गरेको माटो र पसिनालाई सदुपयोग गर्ने उनको लक्ष्य छ। उनले आफ्नै ठाउँमा प्रशस्त अवसरहरू देखेका छन्। सन् २०१७ मा जापानमा आयोजना गरिएको विश्व कफी इभेन्टमा उनी आफ्ना बुवा बोधराज अर्यालसँगै पुगेका थिए। नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका बाबुछोराले त्यहाँ कफीका बारेमा धेरै कुरा सिक्ने मौका पाए। त्यसपछि नै कफीप्रति आफ्नो चासो बढेको उबित बताउँछन्। त्यतिबेला उनी मात्र १७ वर्षका थिए।

कफीका विभिन्न स्वाद हुने जानकारी पाएपछि उनी यसै विषयको अध्ययन र अनुसन्धानमा केन्द्रित भए। दुई वर्षपछि उनी पुनः जापान पुगेर ‘योसियोका इन्स्टिच्युट’ मा कफीसम्बन्धी ६ महिनाको विशेष कोर्स गरे। त्यहाँ उनले कफीको गुणस्तर पहिचान, कटिङ, मार्क स्कोरिङ, रोस्टिङ, बनाउने विधि, बजारीकरण र मागको अवस्थाबारे गहिरो अध्ययन गरी आफूलाई दक्ष बनाए। उच्च शिक्षा अध्ययनसँगै उनी कफी व्यवसायमा जोडिएका छन्। उनका बुवाले कफीको बिउ जमाउनेदेखि प्याकेटिङ र बजारीकरणसम्मको काम गर्दै आएका छन्। उनीहरूका उत्पादन नेपालभर मात्र नभई अमेरिका र जापानजस्ता देशहरूमा समेत निर्यात हुने गर्दछ।

उबित कफीका बिरुवा रोपणदेखि विभिन्न स्वादमा कफी तयार पार्नसम्म सक्षम छन्। किसान बुवा बोधराज अर्यालले गर्दै आएको कामलाई सघाउने क्रममा उनी यसतर्फ आकर्षित भएका हुन्। बोधराज अर्याल कफी र सुन्तला उत्पादक अगुवा किसान हुन्। उनले ‘शान्ति कफी ट्रेड कम्पनी’ स्थापना गरी उद्योग सञ्चालन गरेका छन्, जहाँ कफी टिप्ने र प्रशोधन गर्ने अवधिमा दर्जनौँ युवाहरूले रोजगारी पाउँछन्। उनले निजी फार्ममा कफी उत्पादन गर्नुका साथै स्याङ्जा र बाहिरी जिल्लाबाट समेत कफी खरिद गर्ने गर्छन्।

छोरा उबितले सोही कफीलाई एआईको प्रयोग गरी विभिन्न ब्रान्डमा ढाल्ने गर्छन्। उनले करिब तीन वर्षअघि जापानबाट मेसिन ल्याएर यो कार्य सुरु गरेका हुन्। जापानमा अध्ययन गरेर फर्केपछि उनले प्रविधिमार्फत कफी बनाउन थालेका हुन्। उनको कामबाट प्रभावित भएर केही जापानीहरू समेत उनको घरमा बसेर कफीसम्बन्धी अध्ययन गरिरहेका छन्। कम्प्युटरबाट कमान्ड गरी प्रोग्रामिङमार्फत कफी तयार पारिने उबितले बताए। ‘प्रोग्रामिङसहित एनालाइसिस गरेर ग्राफ बन्छ र एउटा रेसिपीमा फिक्स गरेपछि कफी तयार हुन्छ,’ उनी भन्छन्। उनका अनुसार एआईले कफीमा पानीको मात्रा, बनाउने गति, स्वादको मिठास र गुणस्तरको अवस्थाबारे समेत विस्तृत जानकारी दिने गर्दछ।

कफी बनाउन तालिम र प्रशिक्षणका साथै कम्प्युटर, कफी फिल्टर, ड्रिपर र सर्भरजस्ता उपकरणहरू आवश्यक पर्छन्। उनी अहिले ‘प्रिमियम’ र ‘स्पेसियालिटी’ कफी बनाउन व्यस्त छन्। कफीलाई विभिन्न स्वाद र फ्लेभरमा बनाएर पिउन सकिने उनले बताए। तापक्रम र बनाउने विधिलाई विशेष ध्यान नदिए कफीको स्वाद बिग्रने उनको भनाइ छ।

उनका अनुसार यहाँ प्रतिकप कफीको मूल्य ७ सयदेखि ११ सय रुपैयाँसम्म पर्दछ। सिद्धार्थ राजमार्ग हुँदै आवतजावत गर्ने विदेशीहरू, विशेषगरी अमेरिकी, जापानी, जर्मन र चिनियाँ नागरिकहरू यहाँको कफीका मुख्य पारखी हुन्। उनीहरू स्वतन्त्र रूपमा घुम्न वा प्याकेजका रूपमा यहाँ पुग्ने गर्दछन्। उनी भन्छन्, ‘परीक्षण र अनुसन्धानमा सफलता मिलेको छ, अब थप व्यावसायिक रूपमा जोडिने तयारीमा छु।’ पछिल्लो समय विदेशीमात्र नभई नेपालीहरूमा पनि कफी पिउने संस्कृति बढ्दै गएको छ।

स्याङ्जा कफीखेतीका लागि उपयुक्त भूगोल र हावापानी भएको जिल्ला हो। यहाँका ११ वटै स्थानीय तहमा कफीखेती गरिन्छ। विशेषगरी ‘अरेबिका’ र यसका विभिन्न प्रजातिहरू यहाँ रोपिएका छन्। कम मेहनतमा राम्रो आयआर्जन हुने भएकाले कफीखेतीमा आकर्षण बढेको हो। बिरुवा रोपेको तीन वर्षपछि फल दिन सुरु गर्छ भने एक बोटमा एक मौसममा ५ देखि २० किलोसम्म फल लाग्ने गर्दछ।

वनजंगल र पाखा–पखेरामा समेत कफीका बिरुवा रोप्न सकिन्छ। कफीको रातो दाना प्रतिकिलो १५० रुपैयाँमा खरिद–बिक्री हुने गर्छ। यस्तै, पार्चमेन्ट कफी प्रतिकिलो ९५० देखि १,१५० सम्म र ग्रिनबिन १८ सयदेखि २५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। हाल स्याङ्जा जिल्लाभर वार्षिक झन्डै २५ देखि ३० टन कफी उत्पादन हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.