चन्द्रमामा स्थायी आधार शिविर बनाउने नासाको घोषणा, चीनसँग कडा प्रतिस्पर्धा

चन्द्रमामा स्थायी आधार शिविर बनाउने नासाको घोषणा, चीनसँग कडा प्रतिस्पर्धा

वासिङ्टन : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर बनाउने आफ्नो योजना अन्तर्गत त्यहाँ पठाइने रोबोटिक अवतरण यन्त्र (ल्यान्डर), उफ्रने ड्रोन र गाडीहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ।

अमेजनका संस्थापक जेफ बेजोसको अन्तरिक्ष कम्पनी 'ब्लु ओरिजिन'सहित अन्य केही निजी कम्पनीहरूलाई यी अत्याधुनिक मेसिनहरू बनाउने जिम्मेवारी दिइएको छ।

अमेरिकाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सन् २०२९ मा समाप्त हुनुअघि नै अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई पुनः चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखेको छ। तर, चन्द्रमामा पुग्ने यस दौडमा चीनबाट कडा प्रतिस्पर्धा भइरहेकाले नयाँ अन्तरिक्ष प्रतिस्पर्धामा आफूलाई अगाडि देखाउन नासामाथि ठूलो राजनीतिक दबाब छ।

चीन पनि सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने आफ्नो योजनामा तीव्र गतिमा अघि बढिरहेको छ। चीनले हालै मात्र आफ्नो नयाँ अन्तरिक्ष यान प्रक्षेपण गरी आफ्नै अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरूको टोली पठाइसकेको छ।

यसअघि नासाले सन् २०३२ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा आणविक र सौर्य ऊर्जाबाट चल्ने स्थायी शिविर निर्माण गर्न २० बिलियन डलरको ठूलो प्याकेज घोषणा गरेको थियो। नासाका प्रशासक जेरेड आइस्याकम्यानले यी नयाँ घोषणाहरूसँगै अब अमेरिकाले चन्द्रमामा आफ्नो उपस्थिति कहिल्यै नगुमाउने दाबी गरेका छन्।

चन्द्रमामा स्थायी शिविर बनेपछि अमेरिकालाई वैज्ञानिक प्रयोगहरू गर्न, मूल्यवान प्राकृतिक स्रोतहरूको उत्खनन गर्न र त्यहाँबाट मंगल ग्रहको यात्रा थप सहज बनाउन मद्दत पुग्नेछ। यद्यपि, अधिकांश विज्ञहरूले भने नासाको यो समयतालिका अवास्तविक र चुनौतीपूर्ण रहेको बताएका छन्।

पछिल्लो समय अमेरिकाले आफ्ना चार अन्तरिक्ष यात्रीलाई चन्द्रमाको परिक्रमा गराउने दोस्रो चरणको अभियान सफलतापूर्वक सञ्चालन गरे पनि, केही वैज्ञानिकहरू चीन नै चन्द्रमाको सतहमा मानिस उतार्ने अर्को देश बन्ने सम्भावना बढी देख्छन्। चन्द्र वैज्ञानिक डा. सिमियन बार्बरका अनुसार मानव बोक्ने सुरक्षित यानको व्यवस्थापनमा नासाले ढिलाइ गरिरहेकाले चीन पहिले पुग्यो भने अचम्म मान्नुपर्ने छैन।

नासाको चन्द्रमा आधार शिविर कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको छ । 

पहिलो चरण (रोबोटिक अन्वेषण) : मानिसहरू जानुअघि चन्द्रमाको चुनौतीपूर्ण भूभागको नक्साङ्कन गर्न स्वचालित अवतरण यन्त्र र विशेष ड्रोनहरू पठाइनेछ। यसका साथै अन्तरिक्ष यात्रीलाई गुडाउन र वैज्ञानिक उपकरणहरू बोक्न सक्ने गाडीहरू पनि लगिनेछ। यो रोबोटिक अन्वेषण सन् २०२९ सम्म चल्नेछ, जसमा २५ वटा प्रक्षेपण मार्फत ४ मेट्रिक टन सामग्री चन्द्रमामा पुर्‍याइनेछ।

दोस्रो चरण (ऊर्जा केन्द्रको स्थापना) :  यस चरणमा चन्द्रमाको सतहमा आणविक भट्टी (फिसन रियाक्टर) सहितका आणविक र सौर्य ऊर्जा केन्द्रहरू निर्माण गरिनेछ।

तेस्रो चरण (मानव बस्ती) :  सन् २०३२ सम्ममा अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अर्ध(स्थायी आवासमा बस्न योग्य हुनेछन्। विशेष गाडी (रोभर) को मद्दतले उनीहरूले चट्टानी सतहमा लामो दूरीको यात्रा गर्न सक्नेछन्।

चन्द्रमाको दक्षिणी ध्रुव वैज्ञानिकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको छ, किनभने त्यहाँ ठूलो मात्रामा जमेको बरफ रहेको अनुमान छ। सो बरफ पगालेर पिउने पानी बनाउन र अक्सिजन उत्पादन गर्न प्रयोग गर्न सकिन्छ।

तर, नासाको यो महत्वाकांक्षी योजना मानिसलाई सुरक्षित रूपमा चन्द्रमामा लैजाने र उतार्ने यान समयमै तयार हुनुमा निर्भर गर्दछ। एलन मस्कको कम्पनी 'स्पेसएक्स' लाई मानव अवतरण प्रणाली युक्त यान बनाउने ठेक्का दिइएको भए पनि, सो प्रविधिले हालसम्म धेरै प्राविधिक अवरोध र ढिलाइको सामना गरिरहेको छ।

अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा चन्द्रमाको सतहमा ओराल्नु नै सबैभन्दा कठिन र सीमित कदम रहेकाे विज्ञहरूकाे भनाइ छ । नासाले आफ्ना योजनाहरू तय भइसकेको देखाउन खोजे पनि यसको पछाडि ठूलो राजनीतिक दबाब र उद्देश्य लुकेको देखिन्छ।

-बीबीसीबाट 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.