स्टार्टअपमा वीरेन्द्रको फरक कन्सेप्ट

स्टार्टअपमा वीरेन्द्रको फरक कन्सेप्ट
सुन्नुहोस्

धनगढी : २०–२५ लाख रुपैयाँ तिर्न सक्ने हैसियतको परिवार छ भने कक्षा १२ पास गरेपछि युवाहरू विदेशको तयारीमा जुटिहाल्छन्। कक्षा ११ मा अध्ययन गर्ने बेलादेखि नै कन्सल्टेन्सी धाउने, विदेश जान सजिलो होस् भनेर ऋण–सापटी गरेर वा अरूको सहारा लिएर भए पनि बैंकको स्टेटमेन्ट बलियो बनाउनतिर लाग्ने परम्परा नै बसेको छ मुलुकमा।

१२ कक्षा पास गरेका युवा आफ्नै देशमा के गर्नेभन्दा पनि विदेशमा कुन देश जाने, कुन देशमा बढी कमाइ गर्न सकिन्छ भन्नेतिर लागेका हुन्छन्। विदेश पठाउने कन्सल्टेन्सीहरू विद्यालयमै पुग्ने र आफ्नो कमिसनका लागि देशभन्दा विदेश गज्जबको छ भनेर काउन्सिलिङ गर्ने प्रचलन बढिरहेको छ।

तर कतिपय यस्ता प्रेरणादायी युवा पनि छन्, जसले नेपालमै फरक ढंगले केही गरे विदेशको जस्तै कमाइ हुन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। तीमध्येका एक युवा हुन् धनगढीका वीरेन्द्र भट्ट। विदेश जानुभन्दा नेपाली सेनामा गएर देशको सेवा गर्ने भावना बोकेका उनी तीन पटक ‘सेकेन्ड लेफ्टिनेन्ट’ को परीक्षामा असफल भए। पहिलो पटक शारीरिक परीक्षामा अनुत्तीर्ण भएका उनी त्यसपछिका दुई वटा परीक्षामा भने अन्तिम चरणको अन्तर्वार्तामा पुगेर रोकिए। त्यसपछि उनले धनगढीमा व्यवसाय सुरु गरेका हुन्।

‘हजुरबुवा नेपाल प्रहरीमा जागिरे भएकाले सेनामा भर्ती हुने रहर थियो, तर सेकेन्ड लेफ्टिनेन्टका सबै परीक्षा पास गरेर अन्तर्वार्तामा मात्र फेल हुन थालेपछि पनि तीन पटक परीक्षा दिएँ। त्यसपछि परीक्षा नै दिइनँ,’ उनले भने, ‘अहिले ठिकै भएछ जस्तो लाग्छ।’

वीरेन्द्रको उमेर अहिले २८ वर्ष मात्र भएको छ। यो उमेरमै उनी आफ्ना चार–पाँच वटा व्यावसायिक प्रतिष्ठानहरूको काम हेर्छन्। बंगलादेशबाट एमबीबीएस गरेर बेलायतमा पब्लिक हेल्थमा स्नातकोत्तर गरी जागिर खाइसकेका आफ्ना दाजु प्रयास भट्टलाई समेत उनले नेपाल बोलाएका छन्। ‘नेपालमै अलि फरक कन्सेप्टमा काम ग¥यो भने जुनसुकै कुराको पनि प्रचुर सम्भावना देखेको छु। मैले जहिले पनि नयाँ काम गरेँ,’ उनले भने।
अहिले उनी गोदावरी ट्रेडिङ हाउस, गोदावरी टायल्स एन्ड मार्बल्स, गोदावरी क्याफे एन्ड नर्सरी, हिमालयन जाभा र इन्टेरियर डिजाइनिङका नयाँ कामहरूमा सक्रिय छन्।

बाजेको पालामा बैतडीबाट कञ्चनपुर झरेको वीरेन्द्रको परिवार अहिले धनगढीमा स्थापित छ। वीरेन्द्रका हजुरबुवा हेमराज भट्ट नेपाल प्रहरीको सईबाट सेवानिवृत्त हुन्। प्रहरी सेवाबाट अवकाश लिँदा पाएको रकमले उनले २०४८ सालमा महेन्द्रनगरमा गहुँ पिस्ने मिल र धान कुट्ने चक्कीबाट व्यवसाय सुरु गरेका थिए।

हजुरबुवाले सुरु गरेको मिल, त्यसपछि बुवाले सञ्चालन गरेको होटल र सानोतिनो हार्डवेयर व्यवसायलाई अहिले वीरेन्द्रले एक हेर्नलायकको ‘बिजनेस ग्रुप’ बनाइदिएका छन्। धनगढीमा उनको गोदावरी ट्रेडिङ कम्पनी छ, जहाँ घर निर्माण भएपछि चाहिने ‘इन्टेरियर’ का सबै सामान पाइन्छन्। उनी विश्वविख्यात ‘कजरिया टायल’ का आधिकारिक विक्रेता पनि हुन्। मिस्त्रीले पिलर र इँटाले घर बनाएपछि बाँकी चाहिने सबै प्रकारका सामान उनको बिजनेस ग्रुपको छातामुनि उपलब्ध छन्।

अहिले कफी खाने संस्कृति बढिरहेको छ। सामान्य कफीसपहरू धनगढीमा यसअघि नै खुले पनि उनले आफ्नै व्यापारिक कम्प्लेक्समा गोदावरी क्याफे सञ्चालनमा ल्याएका छन्। यससँगै उनले फरक चेन कफी हिमालयन जाभाको शाखा पनि धनगढीमा खोल्दैछन्। ‘उपत्यकापछि हिमालयन जाभाको शाखा पोखरामा छ। पोखराभन्दा पश्चिममा जाभाको यो पहिलो शाखा हो,’ वीरेन्द्रले भने। उनले हिमालयन जाभाका लागि आफ्नै भवन बनाइरहेको जानकारी दिए।

धनगढी उपमहानगरपालिकाले पछिल्लो समय ‘हरियाली धनगढी’ अभियानमार्फत पर्यावरणको क्षेत्रमा काम गरिरहेको छ। ‘मलाई उपमहानगरलाई पनि सघाउन मन लाग्यो, अहिले गोदावरी नर्सरीमार्फत घरभित्र र बाहिर हरियाली हुनुपर्छ भनेर नर्सरी स्थापना गरेको छु,’ उनले भने। उनको नर्सरीमा सुन्दर ‘इन्डोर प्लान्ट’हरू पनि राखिएका छन्। सजावटी गमलामा भान्सा, सुत्ने कोठा र बैठक कक्षका लागि उपयुक्त बिरुवाहरू उपलब्ध छन्। नर्सरीसँगै जोडिएको कफी सपको भित्री र बाहिरी भागलाई उनले पूर्ण रूपमा हरियालीयुक्त बनाएका छन्।

वीरेन्द्रको विचारमा नेपाल सरकारले युवाहरूका लागि स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ। युवालाई नयाँ स्टार्टअपका लागि प्रोत्साहित गर्ने स्पष्ट नियम र नीतिहरू ल्याउनुपर्ने उनको सुझाव छ। पारिवारिक विरासतसमेत थामेका वीरेन्द्रले आधा दर्जन व्यवसायलाई सहजै हाँकिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.