क्यासिनोहरुमा प्रहरीको छापा : जुवा खेल्दै गरेका ६ जना पक्राउ
वीरगञ्ज : वीरगञ्जमा सञ्चालनमा रहेका क्यासिनोमा प्रहरीले मध्यरात छापा मारेर शंकास्द ६ जनालाई पक्राउ गरेको छ । वीरगञ्जको होटल दियालो सिद्धार्थमा रहेको किंग्स क्यासिनो, होटल सुरजमा रहेको फचूृन सिटी गेमिंग क्लब क्यासिनो र होटल सरोवरमा रहेको क्यासिनो मोहजंगमा प्रहरीले छापा मारेर ६ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा भारतको बिहार घर बताउने २६ वर्षीय गणेश कुमार, बिहार नै घर बताउने ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव र पर्साको वीरगञ्ज महानगरपालिका–३२ घर भएका ३७ वर्षीय जमुदिन मियाँ अन्सारी रहेका छन् ।
नेपालको कानुन अनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेशलाई प्रतिबन्ध लगाइएको छ । तर वीरगञ्जको क्यासिनोबाट शनिबार राति प्रहरीले नियन्त्रणमा लिएका ६ मध्ये अन्सारी बाहेक अन्य ५ जनाले आफूहरु भारतीय नागरिक रहेको बताए पनि भारतीय नागरिक नै भएको कागजपत्र देखाउन नसकेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेका भारत बिहार घर बताउने ५ जना पनि नेपाली नागरिक नै भएको आशंका प्रहरीको छ । यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !