श्रमदान र स्थानीय लगानीले नाम्फुको खानेपानी समस्या अन्त्य
रुकुम पूर्व :भूमे गाउँपालिका–८ नाम्फुमा वर्षौँदेखि रहेको खानेपानी समस्या अन्त्य भएको छ। गाउँपालिकाको करिब ४८ लाख रुपैयाँ लगानी, स्थानीयवासीको ६८ दिनको श्रमदान र गोर्खा वेलफेयरको प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि बस्तीका ३९ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।
आयोजनाअन्तर्गत आकर्षक डिजाइनका धारा निर्माण गरी घरघरमा स्वच्छ खानेपानी पुर्याइएको छ। स्थानीयवासीको सक्रिय श्रमदानका कारण मुहानदेखि बस्तीसम्म पाइपलाइन विस्तार गर्न सहज भएको गाउँपालिकाले जनाएको छ।
खानेपानी सुविधा सञ्चालनमा आएपछि दैनिक उपभोगका लागि टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ। स्थानीय अनिल रोकाले नाम्फुवासीले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधान भएको बताए। घर नजिकै धारा निर्माण भएपछि समय, श्रम र खर्चको बचत हुनुका साथै दैनिक जीवन सहज बनेको उनको भनाइ छ।
भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल बि.क.ले खानेपानी सुविधा विस्तार हुनु महत्वपूर्ण उपलब्धि भए पनि यसको संरक्षण र दिगोपनाका लागि स्थानीय समुदायको भूमिका निर्णायक रहने बताए। निर्माण गरिएका संरचनाको नियमित हेरचाह र व्यवस्थापनमा समुदाय सचेत हुनुपर्ने उनको भनाइ छ।
गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले स्थानीय सरकारको लगानी र समुदायको श्रमदानको संयोजनले आयोजना सफल बनेको बताए। गाउँपालिकाले बजेट व्यवस्थापन गरे पनि स्थानीयको सक्रिय सहभागिता र श्रमदानबिना मुहानदेखि घरघरमा आकर्षक धारा निर्माण सम्भव नहुने उनले बताए।
श्रेष्ठले नाम्फु खानेपानी आयोजनालाई स्थानीय सरकार र समुदायबीचको सहकार्यको उत्कृष्ट नमुना भन्दै विकास निर्माणमा नयाँ सन्देश दिएको उल्लेख गरे। सीमित स्रोतसाधनका बीच स्थानीयको अपनत्व र सहभागिताले उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने भन्दै उनले यसलाई संघ र प्रदेश सरकारलाई समेत चुनौती दिने सफल अभ्यासका रूपमा चित्रण गरे।
- रुकुम पूर्वको भूमे गाउँपालिका–८ नाम्फुमा वर्षौँदेखिको खानेपानी समस्या समाधान भएको छ।
- गाउँपालिकाको करिब ४८ लाख रुपैयाँ लगानी, स्थानीयको ६८ दिन श्रमदान र गोर्खा वेलफेयरको प्राविधिक सहयोगमा आयोजना निर्माण।
- आयोजनाबाट ३९ घरधुरी प्रत्यक्ष लाभान्वित भई घरघरमा स्वच्छ खानेपानी पुगेको छ।
नाम्फुमा निर्माण गरिएका धाराहरू आकर्षक र व्यवस्थित ढंगले निर्माण गरिएका छन्। मुहान क्षेत्रमा पनि हालसम्मकै उत्कृष्ट संरचना निर्माण गरी पानी संकलन तथा बस्तीमा सहज रूपमा आपूर्ति हुने व्यवस्था गरिएको छ। यसबाट खानेपानी सुविधा विस्तारसँगै सरसफाइ, स्वास्थ्य र जीवनस्तरमा सकारात्मक सुधार आउने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाले नाम्फुमा सफल भएको यो मोडल अन्य बस्तीमा पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ। स्थानीय सहभागिता, श्रमदान र स्थानीय सरकारको लगानीको संयोजनबाट सम्पन्न भएको यो आयोजना भूमे गाउँपालिकाको नमुना विकास अभ्यासका रूपमा हेरिएको छ।आयोजनाको उद्घाटन आइतबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले नवनिर्मित धाराबाट गाग्रीमा पानी भरेर पिउँदै गरेका थिए। सो अवसरमा स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस !