पथलैयाबाट बेपत्ता पारिएको खाली ट्रक चितवनको रामनगरमा भेटियो
सिमराः बाराको पथलैयाबाट आइतबार राति बेपत्ता पारिएको मालबाहक खाली ट्रक चितवनको रामनगरमा फेला परेको छ। पार्किङ स्थलबाट सहचालकले लिएर फरार भएको ना६ख १३५७ नम्बरको उक्त ट्रक सोमबार रामनगरमा फेला परेको हो।
प्रहरीका अनुसार नारायण–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगर पानीटंकी नजिक ट्रक भेटिएको हो। ट्रकले मुग्लिनतर्फ जाँदै गरेको म.प्र.०३–००१ख ९५२१ नम्बरको यात्रुबसलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको र ठक्करपछि सहचालकले ट्रक छोडेर फरार भएको प्रहरीको भनाई छ।
प्रहरी चौकी पथलैयाका वरिष्ठ प्रहरी नायब निरीक्षक युवराज दाहालले ट्रक अहिले सुरक्षित रहेको जानकारी दिए। सहचालकले राति करिब ११ बजे पार्किङस्थलबाटै ट्रक लिएर हिँडेको सीसीटीभी फुटेजमा देखिएपछि प्रहरीले खोजी गरिरहेको थियो।
उक्त ट्रक पथलैयाका स्थानीय सोम गुरुङको हो। ट्रकमा पथलैयाका ३१ वर्षीय अनोज थापा चालक थिए भने अर्जुन नामका सहचालक थिए। राति ट्रक पार्किङ गरेर चाबी सहचालकलाई थमाउँदै घर गएका चालक थापा बिहान फर्किँदा ट्रक नदेखेपछि प्रहरीलाई खबर गरेका थिए।
चालकका अनुसार सहचालक केही दिनअघि मात्रै ट्रकमा काम गर्न आएका थिए। भर्खरै आएका सहचालकको पूर्ण विवरण चालकसँग नहुँदा प्रहरीलाई खोजीमा समस्या भइरहेको थियो।
प्रतिक्रिया दिनुहोस !