बाराको होटलमा विश्वकप फुटबलको फाइनल हेरेर सुतेका भारतीय नागरिकको मृत्यु
सिमरा: बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरास्थित लामा होटलमा बास बसेका भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा भारत कोलकाताका ६० वर्षीय अरुप साँधु रहेका छन्।
प्रहरीका अनुसार विश्वकप फुटबलको फाइनल खेल हेरेर सुतेका साँधुको स्वास्थ्यमा अचानक समस्या आएको थियो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार प्रहरी टोली होटल पुग्दा साँधु अचेत अवस्थामा थिए।
उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। साँधुको शव परीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।
प्रहरीले साँधुसँगै होटलमा रहेका सर्लाहीको हरिवन नगरपालिका-१ का ४० वर्षीय जीवन प्रधानलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। साँधु र प्रधान लामो समयदेखि भवन निर्माणसम्बन्धी काम गर्दै आएका थिए।
प्रहरी निरीक्षक थापाले मृतकका भारतस्थित आफन्तलाई खबर गरिसकिएको र आफन्तहरू आएपछि प्रक्रिया पुर्याएर शव जिम्मा लगाइने जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !