चन्द्रनिगाहपुरमा भूमिहीन तथा सुकुमबासीको प्रदर्शन
रौतहट : रौतहटको चन्द्रनिगाहपुरपुरमा आज भूमिहीन सुकुमबासीले सरकार विरुद्ध प्रदर्शन गरेका छन्। ‘सुकुमबासी उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर’ भन्ने नारासहित राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति रौतहटले बृहत् र्याली सहितको विरोध कार्यक्रम गरेको हो।
भूमिहीन तथा सुकुमबासी परिवारहरूको उल्लेख्य सहभागिता रहेको विरोध कार्यक्रममा सयौं भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरिएको युवा नेता शक्ति थापाले बताए। सहभागीहरूले ‘भूमि हाम्रो अधिकार हो’, ‘डोजर आतंक बन्द गर’, ‘सुकुमबासीलाई आवास सुनिश्चित गर’ लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए।
राष्ट्रिय भूमि अधिकार मञ्च रौतहटका जिल्ला अध्यक्ष अनुप माझीले सरकारले सञ्चालन गरेको डोजर आतंकले भूमिहीन तथा सुकुमबासी परिवार त्रसित बनेर बाँच्नु परेको बताउँदै वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई जबरजस्ती हटाउने कार्य मानवअधिकार विपरीत भएको उल्लेख गरे। ‘पछिल्लो समय सरकारले चलाएको डोजर आतंकका कारण रौतहटका वास्तविक भूमिहीन, सुकुमबासी त्रसित बन्नु परेको छ,’ उनले भने, ‘यो राज्य हाम्रो पनि हो,राज्यले हाम्रो भूमि अधिकार जबरजस्ती हनन गर्न पाउँदैन।’
विरोध सभामा सहभागीहरूले भूमि र आवासको अधिकारको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै राज्यले भूमिहीन समुदायको समस्या दीर्घकालीन रूपमा समाधान गर्न ठोस नीति ल्याउनुपर्ने माग राखेका थिए।
प्रतिक्रिया दिनुहोस !