कांग्रेस इतरपक्ष भन्छ– पार्टी विभाजन उन्मुख, गगनको प्रश्न– के भयो भने एक हुन्छ ?
काठमाडौं : पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुट्न सक्ने चेतावनी दिएकै भोलिपल्ट कांग्रेस सभापति गगन थापाले ‘फुटबाट पार्टी जोगाउन आफूले सबै प्रयास गरिरहेको’ बताएका छन्। विशेष महाधिवेशनमा सहभागी नरहेको पक्षलाई पनि सँगसँगै लिएर जान र पार्टीलाई एकताबद्ध बनाउन आफूले हर प्रयास गरिरहेको थापाको दाबी छ।
आइतबार आयोजित एक कार्यक्रममा थापाले भने, ‘पार्टीलाई मिलाउने–मिलाउने भन्दै गर्दा मैले खुला मञ्चबाट सबैलाई सँगसँगै लिएर जाने भनेर भनिरहेको छु भने बन्द कोठामा पनि यही कुरा भनें होला । अझ योभन्दा बढी निहुरिएर भने होला। हातै जोडेर भनें, मेरा अग्रज नेताहरूलाई। मिलाउने प्रयासनै भएन भन्ने मात्र सुन्छु। मलाई भनिदिनुस् न के गर्यो भने प्रयास हुने हो, अहिले के गर्नुपर्ने हो ?
दुईवटा पार्टी त छैन।’ नेताहरूको घरघरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरे पनि कतिपयले पार्टी एकताबद्ध गर्न सभापतिबाट प्रयास नभएको भन्ने आरोप लगाइरहेको भन्दै थापाले असन्तुष्टि पोखे। ‘के गर्दा पार्टी एकताका लागि प्रयास हुन्छ ?’ थापाको प्रश्न थियो।
पूर्वसंस्थापन (शेरबहादुर देउवा) पक्षको सहभागिताबिनै विशेष महाधिवेशन गरेर नेतृत्व चयन भएपछि कांग्रेस विवाद चर्केको थियो। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने विशेष महाधिवेशनमा को आएको थियो वा आएको थिएन ? भन्ने आधारमा पार्टीमा मूल्यांकन नहुने बताए। ‘विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा प्रादेशिक सरकार, संसदीय दल, स्थानीय सरकार वा भ्रातृ संस्थाका बारेमा एउटा पनि निर्णय हुँदैन,’ थापाले भने।
अर्कोतिर, पूर्वसंस्थापन पक्षका शीर्ष नेताहरू कि त राम्ररी पार्टी सम्हाल्नुपर्ने नभए आफूहरू नेतृत्व लिन तयार रहेको सन्देश थापालाई दिइरहेका छन्। निवर्तमान उपसभापति खड्काले त पार्टी गम्भीर मोडमा उभिएको र विभाजनको डिलमा पुगेको भन्दै वक्तव्य नै दिइसके।
खड्काको भनाइमा दुईवटा सन्देश रहेको उनी निकट नेताहरू छन्। पहिलो, पार्टी विभाजनको डिलमा पुग्यो, सम्हाल्नुहोस् भनेर थापालाई सन्देश दिएका हुन्। दोस्रो, सम्हाल्न नसके आफू नेतृत्व लिन तयार रहेको सन्देश।
तर, पार्टी सभापति थापा भने आफूले सक्दो प्रयास गरिरहेको दाबी गरिरहेका छन्। खड्काले केही समयअघि आफूसँग भेट्ने पार्टीका पदाधिकारीहरूसँग पनि पार्टी गम्भीर मोडमा पुगेको जानकारी गराएका थिए। ‘यो कुरा मैले अस्ति गगन र विश्वजी मलाई भेट्न आउँदा भनेको छु, ‘पार्टी मिलाउने कि फुटाउने तपाईंको हातमा छ,’ भनिसकेको छु, खड्कासँग भेट गर्ने एक पूर्वपदाधिकारीले भने।
खड्काले पार्टीको केन्द्रीय कार्यालय र सभापतिले गरेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै भने, ‘अहिले आधा कांग्रेस सानेपाबाट बाहिरै छ। तपाईं सिंगो कांग्रेसको सभापति हुने कि नहुने ? सबैलाई एकताबद्ध गरेर सिंगो कांग्रेसको सभापति हुनुस्। अदालतले जिताएर हामीले सभापति मानेका छौं। सबै नेताहरूलाई सानेपा आउन सक्ने वातावरण बनाउनुस्।’
नेता खड्काले पार्टी फुट्ने संकेतप्रति इंगित गर्दै भने, ‘नेपालको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा रहेको भन्दै कांग्रेस फुट्यो भने देशको अस्तित्व नै संकटमा पर्न सक्छ बेलैमा सम्हाल्नुस्।’
भागबन्डाले समस्या ?
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकजुट हुने क्रममै रहेको बताएका छन्। उनले भने, ‘हामी अलग कहाँ छौं। हामी सबै सँगै छौं। सबै सँगै भएर १५औं महाधिवेशन गर्नुपर्छ।’ शर्माले समूहगत भागबन्डाको कुराले पार्टीमा जरा गाडेको भए तापनि त्यो छोड्नुपर्ने बताएका छन्। उनले एकजुट भएर अघि बढ्नुपर्ने त्यसका लागि कांग्रेस नेतृत्वले काम सुरु गरिसकेको बताए।
‘विशेष महाधिवेशनको विरुद्धमा रहेका साथीहरूको पनि पार्टी हो नेपाली कांग्रेस।’ उनले अब विशेष र बाहेक भन्ने तर्क गर्न नमिल्ने भन्दै, ‘पछिल्लो तीन निर्णय हेर्नुस्, विशेष महाधिवेशनको विपक्षमा रहेका साथीहरूलाई नै सम्मानपूर्वक जिम्मेवारी दिइएको छ। जस्तो नेपाल महिला संघ सभापतिमा मीना खरेल, संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे र केन्द्रीय समितिमा १९ जनाको मनोनयनले पनि हामी पार्टीका सबै पक्षलाई समेटेर जाने क्रम सुरु भएको छ।’
कसैलाई जिम्मेवारी दिँदा कसैलाई सोध्नुपर्ने बाध्यता नरहेको भन्दै यसअघि आफूहरूलाई कारबाही गर्दा स्पष्टीकरणसमेत नसोधिएको प्रसंग निकाल्दै शर्माले भने, ‘दुई महामन्त्रीलाई कारबाही गर्दा स्पष्टीकरण पनि सोध्नु नपर्ने, अनि कसैलाई उपयुक्त जिम्मेवारी दिँदा उनैलाई नसोधेर अरु कसैलाई सोध्नुपर्ने हो र ? अब ६० को ४० को कुरा छोड्नुस् अब सबै एक भएर १०० हुनुपर्छ।’
देउवा पक्ष धमाधम प्रदेश भेलामा
शीर्ष नेतृत्वबीच पार्टी एकताका लागि छलफल र भेटघाट भइरहेका बेला संस्थापन इतर (शेरबहादुर देउवा) पक्ष भने धमाधम प्रदेश भेला गरिरहेको छ। देउवा पक्षीय नेता एनपी साउदले शक्ति संर्घषका लागि नभई पार्टी एकताको सन्देश दिन प्रदेशस्तरीय भेला गरिएको तर्क गर्छन्। ‘पार्टीका तर्पmबाट के हुँदैछ त्यो थाहा भएन।
हामीले पार्टी एकताकै लागि प्रदेशगत भेला गरेका छौं,’ साउदले भने, ‘अब ९ गते सुदूरपश्चिममा भेला छ। जसको संयोजन म आपैंmले गरेको छु। शक्ति संघर्षका लागि भन्दै हल्ला गरिएको छ। शक्ति संघर्ष हुँदै हुन्न छँदै छैन भन्ने कुरा हैन। हाम्रो शक्तिनै सिंगो कांग्रेसको शक्ति हो। कांग्रेसको शक्ति मर्न नदिऊँ भन्ने कुरा हो।’
कांग्रेस नेता रामहरि खतिवडाले पार्टी दुई टुक्रा पारेर जाने कसैको उद्देश्य नदेखिएको र एक हुनुको विकल्प नरहेको अवस्था पार्टीमा देखिएको बताए। ‘पार्टी फुटतर्पm जान लागेको हो जस्तो लाग्दैन,’ खतिवडाले भने, ‘सबैतिर प्रहार भइरहेका बेला कांग्रेस अझै बलियो बन्नुपर्ने चुनौती छ। यतिबेला प्रतिशतको भाग खोज्ने बेला हैन। त्यतिबेला शेरबहादुर दाइले ६०, ४० को कुरा गर्दा परिस्थिति अर्कै थियो। यो एक हुने समय हो। कति पय कुरामा त्याग पनि गर्न सक्नुपर्छ।’ खतिवडाले भने, ‘बीपी ०१५ सालमा चुक्दा कहिल्यै प्रधानमन्त्री हुन सक्नुभएन। अब पार्टी होइन नेतृत्व हैन भन्ने अवस्था छैन। एउटाले अर्कोलाई नगन्ने परिपाटी। विशेष अवस्थामा गरिएको भेला हो। एउटा छलफलमा बसौं र एउटा निर्णयमा पुगौं। अभियानका नाममा जे गरे तापनि अहिले एकताको खाँचो छ।’
इतरपक्ष शक्ति संकलन गर्दै
संस्थापन पक्षले कांग्रेसले १ महिने जरा अभियान चलाइरहेको छ। जसमा डिजिटल रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिनेछ। पहिला भौतिक उपस्थितिमा डिजिटल अभिलेख राखिने भनिएकोमा त्यसलाई व्यावहारिक बनाउन अनलाइनमार्पmत काम गरिएको छ। संस्थापनले सहजीकरण गरेर भौतिक उपस्थिति अनिवार्य नगरेर एआईको सहायतामा डिजिटल अद्यावधिक गर्ने प्रणाली ल्याए पनि खड्का समूहले जरा अभियानलाई बहिष्कार गरिरहेको छ।
इतरपक्षले शक्ति सञ्चय गर्न प्रदेशस्तरमा कार्यक्रम गरेका छन्। उनीहरूले प्रदेशस्तरीय कार्यक्रम गर्न पार्टीका नेताहरूलाई जिम्मा दिएका छन्। खड्का समूहका शीर्ष नेताको बैठकले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियान अवज्ञा गर्ने रणनीति तय गरेको थियो।
प्रदेश भेला संयोजन गर्ने जिम्मेवारी पाउनेहरूमा कोशीमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महत, गण्डकीमा मेखलाल श्रेष्ठ, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउद छन्।
खड्का समूहले शनिबार सुर्खेतमा कार्यक्रम गर्यो। ३० वैशाखमा काठमाडौं र २९ वैशाखमा विराटनगरमा भेला गरिसकेको छ। सुर्खेतपछि पोखराको भेला छ। त्यसपछि मधेस र लुम्बिनीको भेला छ। पार्टी एक बनाउने तयारी गरिरहेकै बेला फेरि यो शक्ति संघर्ष केको लागि ? भन्ने प्रश्नमा नेता डा. प्रकाशशरण महत भन्छन्, प्रदेश भेला पार्टी एकताका लागि गरिएको हो।’
तर, कांग्रेसकै खड्का समूहका अर्का नेता भने पार्टीको १५औं महाधिवेशन र नयाँ पार्टीको तयारी एकैपटक चलिरहेको बताउँछन। ती नेताको भनाइमा पार्टी एक भएमा १५औं महाधिवेशनमा प्रतिस्पर्धा गर्न शक्ति हासिल गर्ने र एकता हुन नसकेमा नयाँ पार्टीको अभ्यासका लागि जरा बनाउने अभियान अहिले चलिरहेको छ।
क्रियाशील अद्यावधिकको काम २१ दिनमा सक्ने
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको काम २१ दिनभित्रै सक्ने निर्णय गरेको छ। महामन्त्री प्रदीप पौडेल संयोजक रहेको कांग्रेस सदस्यता व्यवस्थापन समितिले जेठ २१ गतेभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक कार्य सक्ने लक्ष्य लिएको हो। तर, पूर्वसंस्थापन पक्ष भने यसको विपक्षमा छ।
‘क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी कार्य जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेका छौं,’ महामन्त्री पौडेलले भने। यसो गर्नुको उद्देश्य सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल रूपमा सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउनका लागि विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याएको पौडेलले बताए।
‘सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र प्राप्त नगर्ने व्यक्तिले १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेकाले तोकिएको समयावधिभित्रै अद्यावधिक गर्नु र गराउनु हुन मातहत तहलाई सदस्यता व्यवस्थापन केन्द्रीय समितिले निर्देशन गरेको छ,’ उनले भने।
किन विरोध ?
सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक अभियानबारे इतर पक्षको असहमतिप्रति असन्तुष्टि जनाए। ‘म कांग्रेस सदस्यता निरन्तर गर्न चाहन्छुभन्दा कांग्रेस पार्टी सक्काउने ? भनेर नेताहरूको अभिव्यक्ति सुनिरहेको छु,’ थापाले भने, ‘अद्यावधिक नगर्न आह्वान गर्ने लहर चलेको छ, के भनेको त्यो ? अहिले सदस्य रहेकाले म निरन्तर सदस्य हुन चाहन्छु भनिदिनुस् भनेको हो। खोजेर ३० वर्षमुनिकालाई क्रियाशील सदस्य बनाउनुस् भनेको छ। नयाँ विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट ३ जनाका दरले ३० वर्षमुनिका महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ।’
सभापति थापाले १४औं महाधिवेशनबाट आएका केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा ल्याउने काम भइरहेको पनि बताए। ‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठूलो पङ्ितबाहिर छ, प्रत्येक नेतालाई ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जे ठाउँमा राख्ने हो राखेर म उहाँहरूलाई सँगै लिएर काम गर्न चाहन्छु, यो मेरो प्रस्ताव हो। अधिवेशन तय भएको छ, त्यसका लागि निर्वाचन, सदस्यता, अनुशासनलगायत समिति छ। क–कसलाई राख्दा निष्पक्ष हुन्छ भन्ने लाग्छ, नाम ल्याउनुस् राखौं।
त्यो सँगै कांग्रेसले ३० वर्षमुनि उमेर भएकाहरूलाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता दिन सुरु गरेको छ। महामन्त्री पौडेलका अनुसार ३० वर्ष उमेर मुनिकालाई सीधै क्रियाशील सदस्यता दिन सुरु गरिएको हो। पौडेलले भने, ‘३० वर्षमुनिका युवाहरूलाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता दिन सुरु गरेका छौं, पार्टीमा युवाहरूलाई उचित अवसर र ठाउँ दिन पनि यो आवश्यक छ।’
कांग्रेसले प्रायः साधारण सदस्यता लिएको वर्षदिन पुगेपछि क्रियाशील सदस्यता दिने गरेको छ। तर, अब पार्टीमा युवाहरूको सहभागिता बढाउनका लागि युवालाई केन्द्रित गरेर सिधै क्रियाशील सदस्यता दिन सुरु गरेको छ।
कांग्रेसले वैशाखदेखि नै जरा अभियानअन्तर्गत पार्टी संगठन सुदृढीकरणका काम गरिरहेको छ। महामन्त्री पौडेलका अनुसार प्रदेशहरूमा पुगेर जरा अभियानसँगै क्रियाशील अद्यावधिक अभियान पनि साथसाथै अघि बढाइरहेको छ।
उनले भने, ‘पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले यो डिजिटल अभियानलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरीय भेला तथा प्रशिक्षणको आयोजना गरिरहेको छ। हरेक प्रदेशका पार्टीका विभिन्न तहका सभापति तथा प्राविधिकहरूलाई डिजिटल अद्यावधिकको अपरिहार्यता एवं प्राविधिक प्रक्रियाबारे प्रशिक्षण जारी छ।’
उनका अनुसार कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशमा प्रशिक्षण सकिएको छ। पार्टीमा इत्तर पक्ष भने क्रियाशील अद्यावधिकको विषयमा प्रश्न उठाउँदै आएका छन्। १५औं महाधिवेशनका लागि भनेर यसअघि नै ६ लाख क्रियाशील नवीकरण र ३ लाख नयाँ वितरण गरिएकाले अद्यावधिकको आवश्यकता नरहने उनीहरूको तर्क छ।
नेता निधिले भने, ‘अहिलेका सभापति त्यतिबेलाका महामन्त्री गगन थापाजीकै संयोजकत्वमा क्रियाशील नवीकरणको काम सकिएको थियो। अहिले फेरि सदस्यताकै विषय अगाडि सारिएको छ।’ तर, संस्थापन पक्षका उपसभापति शर्मा भने करिब ९ लाख क्रियाशील रहेको कांग्रेसमा ८० हजार सदस्यको मात्रै मोबाइल नम्बरलगायत विवरण रहेको भन्दै सदस्यको आवश्यक विवरण संकलनका लागि पनि अद्यावधिकको आवश्यकता अति जरुरी रहेको तर्क गर्छन्।
‘नेतृत्वलाई अवरोध गर्ने भेलाको काम छैन’
गुरुराज घिमिरे,महामन्त्री
पार्टीलाई एकताबद्ध बनाउने र कसरी तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न गर्ने भन्नेमा कांग्रेस जुटेको छ। इतर पक्षलगायत साथीहरू पार्टीकै चासो र सरोकारका विषयमा त्यस्ता भेला गर्न बस्नुभएको छ भने ती भेला हिजो पनि हुन्थे। आज र भोलि पनि हुन्छन्। त्यो ठूलो कुरा होइन। भेलाको कुनै ठूलो उद्देश्य छैन। खाली कांग्रेसमा झगडा छ भन्ने देखाउनका लागि मात्रै हो र पार्टी नेतृत्वले गरेका कामलाई अवरोध सिर्जना गर्न मात्र भेला राख्ने हो भने यस्तो भेलाको औचित्य हुँदैन। पार्टीले सबैलाई समेटेर एकताबद्ध बनाएर निर्धारित समयमै महाधिवेशन गर्ने भनेर सदस्यता अद्यावधिकको काम चलिरहेको छ। त्यसैले भेला भन्दा पनि सबै साथिहरू पार्टीलाई महाधिवेशन गराउने ठाउँमा उभिनुपर्छ।
पार्टी सभापतिले सबैलाई मिलाएर लैजाने भनेर विशेष महाधिवेशनलाई कत्ति पनि सहयोग नगरेका साथीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिसक्नुभएको छ। सबै जना खुसी हुनुहुन्छ। अस्वीकार गरेको कसैले पनि छैन। मोफसलमा बसेर समाजसेवा गरेको सामान्य क्रियाशील सदस्य मात्र रहेका साथीहरूलाई माथि ल्याएका छौं।
पहिला शेरबहादुर दाइसँगै साथमा रहनुभएको भीष्मराज आङ्देम्बे दाइलाई संसदीय दलको नेता बनाइएको छ। गुटबन्दी मेट्नका लागि त्यस्तो गरिएको हो। अस्वस्थ गुटबन्दी मेट्नकै लागि बनाइएको हो। मनोनीतमा परेका १९ सदस्यमा सबै विशेष महाधिवेशन बाहिरै बसेका साथीहरू हुनुहुन्छ। यो समानान्तर गतिविधि पार्टीभित्र कलह छ भनेर मात्र देखाउन खोज्ने उद्देश्यले गर्नुभएको छ भने त्यो गलत हो।
‘नयाँ पार्टी हैन सम्पर्क कार्यालय खोल्दै छौं’
विमलेन्द्र निधि,नेता नेपाली कांग्रेस
हामीले पार्टी एक होस् भन्नेनै चाहेका थियौं। १४औं महाधिवेशनका केन्द्रीय समिति र विशेष महाधिवेशनका केन्द्रीय समितिलाई एकै ठाउँमा गाभेर १५औं महाधिवेशनको आयोजना सहमति बाटै गरौं भन्ने प्रस्ताव हाम्रो थियो। १५औंको गर्नुपर्ने सम्पूर्ण कामहरू क्रियाशील सदस्यतालगायत, निर्वाचन समितिहरू बनाउनुपर्यो भनेर हामीले भनेका थियौं। त्यसमा सहमति हुन सकेन।
पार्टी विभाजनको कुरा गर्नुहुन्छ भने पार्टी विभाजन भइसकेको छ। विशेष महाधिवेशनमा भाग लिएका एकातिर र भाग नलिएकाहरू अर्कोतिर छन्। विशेष महाधिवेशन हुनुनै पार्टी विभाजन हुनु थियो। यही नै राजनीतिक निष्कर्ष हो।
मुलुकको लोकतन्त्रको रक्षाका लागि पनि नेपाली कांग्रेस एक ठाउँ हुनुपर्छ भन्ने हाम्रो कुरा हो। तर, यो एक ठाउँमा छैन। यो चिन्ताको विषय छ। हामीले प्रयास गरिरहेका छौं। तर, अहिलेसम्म एक पछि अर्को मनलाग्दी निर्णय भइरहेको छ। केन्द्रीय कार्यकार्यसमितिमा मनोनित गरियो सल्लाह नगरी। कृष्ण सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेताबाट हटाइयो।
नवीकरणको काम सभापति थापाले महामन्त्री हुँदै गराएको काम हो। फेरि पुरानो खारेज भयो अब ८ लाखबाट १ लाखमा झार्ने जस्तो कुरा छ। त्यस्तो अभियानमा हामी समर्थन गर्न सक्दैंनौं। उहाँको बोली मेरो गाडी कुदिसक्यो मलाई रोक्ने काम कसैले पनि नगर्नु भन्दै कसैको कुरा सुन्न चाहनुभएको छैन। यो शासकले गर्ने शैली हो। एउटा नेतृत्वले सबैका कुरा सुन्छन् र धारणा बनाउँछन्।
हामीले सम्पर्क कार्यालय खोल्न खोेजेका हौं। यो कुनै नयाँ कुरा हैन। सबैको छ। योचाहिँ हाम्रो केही नेताहरूको एकै ठाउँमा खोलेका हौं। १५औं महाधिवेशनको तयारी गर्नपर्यो। हैन भने हामी गर्छौं भनेको हो। यो हामीले १४औंका साथीहरू र विशेषका साथीहरूलाई एउटै ठाउँमा ल्याउने पुलको काम गरेका छौं। हामीहरू यो ठाउँमा पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, एनपी साउदलगायत अरू युवा साथीहरू पनि हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस !