प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै
काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस डा.मनोज शर्माको सुनुवाइ आजै हुने भएको छ। आजै दिउँसो साढे १ बजे शर्माको संसदीय सुनुवाइ हुने भएको हो।
संसदीय सुनुवाइ समितिका सचिव तुल बहादुर कडेलले दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हुने भन्दै उपस्थितका लागि व्यवस्था मिलाइदिन संवैधानिक परिषद्लाई पत्र लेखेका छन्।
मंगलबार सिंहदरबारमा बसेको समिति बैठकमा शर्माविरुद्ध परेका उजुरीहरु अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो । शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन् ।
उजुरी वितरणपछि मंगलबार नै समितिले उजुरीकर्ताहरुसँग छलफल गरेको छ भने आजै नै सुनुवाइ प्रक्रिया टुङ्गाउने समितिले जनाएको छ । समितिले फास्ट ट्र्याकमा सुनुवाइ प्रक्रिया अघि बढाएपछि विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन् । बैठकमा समिति सदस्य पद्मा अर्यालले यसअघि उजुरीका विषयमा अध्ययन गर्ने समय प्राप्त भएपनि अहिले हतारमा सुनुवाइ प्रक्रिया अघि बढाउनु उचित नहुने बताइन्। त्यस्तै समिति सदस्य वर्षमान पुनले सुनुवाई समितिको कार्यतालिका परिवर्तन गर्दा सबै सदस्यहरूसँग छलफल गर्न आग्रह गरे।
बैठकमा रास्वपाका सांसदहरूले भने सुनुवाइ प्रक्रियालाई लम्बाउन नहुने धारणा राखेका थिए । समिति सभापति सभापति बोधनारायण श्रेष्ठले विशिष्ट समयमा विशिष्ट लिनुपर्ने भन्दै सहयोग गर्न आग्रह गरे । उनले छोटो समयमा कति काम गर्न सकिन्छ भने परिक्षण समेत भएको उल्लेख गरे । उनले न्यायालय आन्तरिक द्वन्द्वमा गइरहँदा छिटो सुनुवाई प्रक्रियाबाट द्वन्द्व कम हुन सक्ने धारणा राखे।
संवैधानिक परिषदले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो। संवैधानिक परिषदले चौथो वरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा आजै प्रधानन्यायाधीश नियुक्त हुनेछन्। संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस !