बाजुरा-हुम्लाको सीमा विवाद : घटनाबारे छानबिन र दोषीमाथि कारवाही गर्न माग
काठमाडौं : बाजुरा-हुम्ला सीमामा भएको घटनाबारे आवश्यक अनुसन्धान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले सीमाक्षेत्रमा पटक–पटक विवाद हुने गरेको उल्लेख गर्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन्। नेपाली कांग्रेस सांसद घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्न माग गरे।
उनले भने, ‘यही ४ गते बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ र हुम्लाको सीमाक्षेत्रमा अप्रिय घटना भएको छ। केही अराजक समूहले हिमाली गाउँपालिका–३ का कार्यपालिका सदस्य पेम्बा गारा शेर्पा,उनकी श्रीमती लक्ष्मी गुरुङ, मिन कुँवर, नरबहादुर गुरुङ, बिछ्या चौकीका प्रहरी सहायक निरीक्षक महेश धामी तथा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि सांघातिक आक्रमण गरेका छन्। घाइतेहरूको सुर्खेतमा उपचार भइरहेको छ। ठूलो जनधनको क्षति पुगेको छ,''उनले भने,'घटनाको दोषीमाथि कडा कारवाहीको माग गर्न चाहन्छु।'
सांसद गिरीले बाजुराको रानीसैना क्षेत्रको प्रवर्द्धनका लागि जाँदै गरेको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसहितको टोलीलाई पनि अवरोध गरिएको बताए। उनले मेयर हमालको टोलीलाई रोकिएको घटनाबारे पनि छानबिन हुनुपर्ने माग गरे।
कांग्रेस सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे। 'हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ, राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी,परीक्षा दिने विद्यार्थी, अतिआवश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको छ,'उनले भने,'दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ ।'
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले पनि घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे। उनले धनगढी उपमहानगरपालिकाका प्रमुख हमालसहितको समूहप्रति दुव्र्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले हिमाली गाउँपालिका साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरूले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरीचौकी राखेर नियन्त्रण गर्न खोज्दा दुव्र्यवहार भएको बताए । साथै, उनले त्यस क्षेत्रको नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग गरे।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण तथा सीमाको विषयलाई लिएर मंगलबार विवाद भएको थियो। उक्त घटनामा ६ जना घाइते भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !