प्रधानाध्यापक धामी मृत्यु प्रकरणले दार्चुला आन्दोलित

प्रधानाध्यापक धामी मृत्यु प्रकरणले दार्चुला आन्दोलित

दार्चुला : व्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रधानाध्यापक संघ नेपाल (प्यान) व्यास गाउँपालिकाका अध्यक्ष स्व. बलदेवसिंह धामीको मृत्यु प्रकरणले दार्चुलाको शिक्षा क्षेत्र तरंगित बनेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले ८ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ भने शिक्षक संगठन र निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्तिअनुसार धामीको झुन्डिएर मृत्यु भएको घटनामा आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पक्राउ परेकामाथि जिल्ला अदालत दार्चुलाबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–१ का विक्रमसिंह कुँवर, दलजित भट्ट, खिमानन्द भट्ट, व्यास गाउँपालिका–४ का परमानन्द भट्ट, पदमराज भट्ट, नरेन्द्रदत्त भट्ट, हरिदत्त भट्ट तथा बैतडी पाटन नगरपालिका–४ का पुष्करराज भट्ट रहेका छन्। घटनापछि प्रधानाध्यापक संघ नेपाल (प्यान) दार्चुलाले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई कडा ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा स्व. धामीले आत्महत्याअघि सार्वजनिक गरेको ‘सुसाइड नोट’ मा आफूलाई निरन्तर मानसिक यातना, चरित्रहत्या, अपमान, धम्की तथा असह्य दबाब दिइएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि तत्काल कारबाहीको माग गरिएको छ।

प्यान दार्चुलाले ‘एक इमानदार र विद्यालय सुधारमा समर्पित प्रधानाध्यापकलाई योजनाबद्ध रूपमा मानसिक रूपमा कमजोर बनाएर आत्महत्या गर्न बाध्य पारिएको’ उल्लेख गर्दै दोषीलाई जोगाउने कुनै प्रयास भए शिक्षक समुदाय चुप लागेर नबस्ने चेतावनी दिएको छ।

संघले घटनाको उच्चस्तरीय छानबिन, ‘सुसाइड नोट’ मा नाम उल्लेख गरिएका व्यक्तिमाथि कानुनी प्रक्रिया, अनुसन्धान प्रभावित गर्नेमाथि कारबाही, पीडित परिवारलाई न्याय र सुरक्षा तथा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरेको छ। साथै स्व. बलदेवसिंह धामीलाई सहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन सुरक्षा उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ।

यसैबीच निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) दार्चुलाले पनि प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। प्याब्सनले शिक्षा सुधार र गुणस्तरीय शिक्षाका लागि संघर्षरत एक इमानदार शिक्षाकर्मीलाई मानसिक दबाब र असह्य परिस्थितिमा पु¥याइएको सार्वजनिक तथ्यहरूले शिक्षा क्षेत्र स्तब्ध बनेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.