काठमाडौं : आर्थिक वर्ष २०८२/८३ सुरु भएयता वैदेशिक रोजगार विभागले ठगीमा संलग्न १ हजार २ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा करिब एक दर्जन विदेशी नागरिकसमेत छन्। म्यानपावर कम्पनीमार्फत विभिन्न देश पुगेर समस्यामा परेका १ सय ७१ जना नेपाली कामदारको उद्धार गरिएको विभागले जनाएको छ। विभागका अनुसार विदेश जाने क्रममा ठगिएका तथा विभिन्न प्रलोभनमा परेका ४ सय ४३ जनाले ४ करोड ९० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति प्राप्त गरेका छन्।
व्यक्तिगत ठगीका घटनामा मात्रै चालु आर्थिक वर्षको वैशाखसम्म विभागमा ३ हजार ८ सय ८३ वटा उजुरी दर्ता भएका छन्। विभिन्न देश पठाइदिने भन्दै ठगीमा परेका ४ सय ४१ जनाले ७ करोड ८७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाएका छन् भने ३ सय २८ वटा उजुरी अदालतमा मुद्दाका रूपमा दर्ता भएका छन्। वैदेशिक रोजगार ऐन, २०६४ अनुसार पीडितको उजुरीका आधारमा ७ वटा म्यानपावर कम्पनी कारबाहीमा परेका छन्। तीमध्ये दुई कम्पनीलाई आर्थिक दण्ड गरिएको, तीन कम्पनीलाई जरिवानाको प्रक्रियामा राखिएको र दुई कम्पनीलाई सचेत गराइएको विभागले जनाएको छ।
एउटै व्यक्ति दुवै पक्षमा
वैदेशिक रोजगार विभागका निर्देशक एवं अनुसन्धान तथा मुद्दा शाखा प्रमुख पूर्णप्रसाद शर्माका अनुसार विभागमा दोहोरो प्रकृतिका उजुरी आउने क्रम उल्लेख्य छ। एउटै व्यक्ति आफूलाई पीडितभन्दै अरुविरुद्ध उजुरी लिएर आउने, तर सोही व्यक्तिविरुद्ध अन्य धेरै उजुरी परेको अवस्था पनि भेटिने गरेको उनले बताए। उनले भने, ‘कुनै व्यक्ति पीडितको पक्षबाट उजुरी गर्न आउँछ, तर उसैविरुद्ध अन्य व्यक्तिहरूले ठगी गरेको आरोप लगाएका हुन्छन्। यसरी एउटै व्यक्ति पीडित र पीडक दुवै रूपमा देखिने घटना बढिरहेका छन्।’शर्माका अनुसार सयौं व्यक्तिलाई ठगी गरेर फरार हुने गिरोहहरू सक्रिय छन्। हाल विभागमा दैनिक ३० देखि ५० वटा उजुरी दर्ता हुने गरेका छन् भने १० देखि २० जना एजेन्ट, बिचौलिया तथा ठगीमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने गरेका छन्।
टर्की पठाइदिने भन्दै ८७ लाख ठगी
गोरखा बारपाकका दीपेश गुरुङ र सौगात गुरुङ जेठ ५ गते पक्राउ परेका थिए। उनीहरूले ८ जनालाई टर्की पठाइदिने भन्दै करिब ८७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीहरूले आकर्षक कमाई हुने प्रलोभन देखाएर बेरोजगार युवायुवतीबाट रकम उठाएका थिए। लामो समयसम्म विदेश नपठाउने र रकम पनि फिर्ता नगरेपछि उनीहरूविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। त्यस्तै, साइप्रस र लिथुआनिया पठाइदिने भन्दै रकम उठाएर फरार भएको आरोपमा पाँचथरका सूर्यप्रकाश र काभ्रेकी शान्ति श्रेष्ठ पनि पक्राउ परेका छन्।
अस्तव्यस्त क्षेत्रमा सुधारको प्रयास
वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि अव्यवस्था, ठगी र बिचौलियाको चलखेल मौलाउँदै आएको छ। आकर्षक कमाइको प्रलोभनमा हजारौं युवा ठगीमा परिरहेका छन्। म्यानपावर व्यवसायी, कर्मचारी र बिचौलियाको मिलेमतोमा ठगी धन्दा सञ्चालन भइरहेको गुनासो बारम्बार उठ्ने गरेको छ। कहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकै कर्मचारी घुससहित पक्राउ पर्ने, त कहिले विभागकै कर्मचारी विवादमा तानिने गरेका छन्। करोडौं रुपैयाँको कारोबार हुने यो क्षेत्र लामो समयदेखि बदनाम बन्दै आएको छ। वर्षमा १० जना कामदारसमेत विदेश पठाउन नसक्ने कतिपय म्यानपावर कम्पनी कसरी सञ्चालन भइरहेका छन् भन्ने विषयमा पनि प्रश्न उठ्दै आएको छ।
यद्यपि, पछिल्लो समय विभागमा केही सुधारका प्रयास देखिन थालेका छन्। विभागको नेतृत्व गरिरहेकी महानिर्देशक मीरा आचार्यका अनुसार वर्षौंदेखि अस्तव्यस्त रहेको यो क्षेत्रमा व्यापक सुधार आवश्यक छ। ‘ठगीसम्बन्धी उजुरी परेपछि विभागले तत्काल छानबिनलगायतका प्रक्रिया अघि बढाउँछ,’ उनी भन्छिन्, ‘आर्थिक कारोबार शंकास्पद देखिएका म्यानपावर कम्पनीमाथि आन्तरिक निगरानी पनि बढाइएको छ। अब पद र पहुँचका आधारमा उजुरी दबाइँदैन।’
महानिर्देशक आचार्यका अनुसार एउटै समूहका साथीहरू विदेश जाने प्रक्रिया अघि बढाउँदा प्रायः एक जनाले रकम संकलन गरेर एजेन्टलाई बुझाउने गर्छन्। तर, रकम लिएर एजेन्ट वा संकलनकर्ता नै फरार हुँदा आफ्नै साथीविरुद्ध उजुरी पर्ने अवस्था सिर्जना भइरहेको छ। यस्ता घटनामा एउटै व्यक्ति पीडित र पीडक दुवै देखिने गरेको र कतिपय व्यक्तिविरुद्ध सयौं उजुरीसमेत दर्ता भएका छन्।
निर्देशक शर्माका अनुसार वैदेशिक रोजगार ठगीमा विदेशी नागरिकसमेत संलग्न रहेको पाइएको छ। केही भारतीय, बंगलादेशी तथा अन्य मुलुकका नागरिकले नेपाल आएर नेपाली सर्वसाधारणकै बैंक खाता प्रयोग गरी लाखौं रुपैयाँ ठगी गरिरहेको विभागको निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस !