प्रधानमन्त्रीको निर्देशन अनुसार मन्त्रालय काममा केन्द्रित छ : मन्त्री मेहता
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छिन् । आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रधानमन्त्रीको निर्देशनअनुसार सरकारका प्राथमिकतामा परेका कार्यहरू कार्यान्वयनमा मन्त्रालय केन्द्रित रहेको बताइन् ।
उनले मन्त्रालयमा सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको उल्लेख गर्दै आगामी दिनमा ती कार्यलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् । सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पताल सुधार, औषधि व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालयले विभिन्न नीतिगत सुधारका काम अघि बढाएको जानकारी दिए ।
सचिव देवकोटाले स्वास्थ्य क्षेत्रका दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत संरचना निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए। साथै आगामी आर्थिक वर्षदेखि सुधारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिए । कार्यक्रममा अबका दिनमा काम कारबाहीबारे नियमित जानकारी गराउन सञ्चारकर्मीसँग निरन्तर संवाद गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !