सुदूरपश्चिम : कांग्रेस मन्त्री फेर्दै, एमालेभित्र पनि बढ्यो दबाब
धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने भन्दै कांग्रेसभित्रको विवादमन्त्री परिवर्तन गर्ने सहमतिमा टुंगिए लगत्तै एमालेभित्र पनि मन्त्री फेरबदलको दबाब बढेको छ । कांग्रेसभित्र दलको नेता परिवर्तनको विवाद मन्त्रालय भागबण्डामा सहमति भएसँगै टुङ्गिएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेको गठबन्धन सरकार छ । कांग्रेसको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय (मन्त्री र राज्यमन्त्री), आर्थिक मामिला मन्त्रालय (मन्त्री र राज्यमन्त्री) थियो ।
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भएपछि अहिले गगन पक्षले पनि सरकारमा भाग खोजेको हो । कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार अहिले मुख्यमन्त्री कमलबहादुर शाह परिवर्तन नहुने तर गगन पक्षलाई २ मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको हो ।
मुख्यमन्त्री शाह देउवा पक्षका हुन् । उनले आर्थिक मामिला मन्त्री र सामाजिक विकास राज्यमन्त्री लिने सहमति भएको छ । गगन पक्षलाई सामाजिक विकास मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र सामाजिक विकास राज्यमन्त्री दिने सहमति भएसँगै दलको नेता परिवर्तनको विवाद सकिएको छ ।
कांग्रेसबाट को–को बन्दैछन मन्त्री ?
कांग्रेसबाट गगन पक्षका पदमबहादुर शाही र मानबहादुर रावल, बेलबहादुर रानाको नाम मन्त्रीका लागि चर्चामा आएको छ । तीन जनामध्ये २ जना मन्त्री बन्ने बताइएको छ । यस्तै गीता चौधरी, तुलसी देवकोटा र जुना दानीका नाम राज्यमन्त्रीका लागि चर्चामा आएको छ ।
देउवा पक्षको भागमा परेको आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी र डम्बरी महरा (रक्षा) को नाम चर्चामा छ । नेपाली कांग्रेसका १८ प्रदेश सभा सदस्यमध्ये ९ जना मुख्यमन्त्री कमलबहादुर शाह (देउवा पक्ष) मा छन् भने गगन पक्षका ८ जना प्रदेश सभा सदस्य छन् । देउवा पक्षका प्रकाश देउला जेनजी आन्दोलनपछि अमेरिका बस्दै आएका छन् ।
एमालेमा पनि मन्त्री परिवर्तनको दबाब
कांग्रेसभित्र दलको नेता परिवर्तनको चर्चा चल्नु अघि नेकपा एमालेभित्र पनि दलको नेता परिवर्तन गर्ने र सरकारमा रहेका मन्त्री परिवर्तनको कुराले ब्यापकता पाएको थियो । एमाले संसदीय दलभित्र दलको नेता विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभा सदस्यलाई गुन्डु बोलाएर अहिले दलको नेता परिवर्तन र दलको नेता परिवर्तन गर्ने बेला नभएको भन्दै सम्झाएर पठाएका थिए ।
विहीबार पनि पार्टी अध्यक्ष समक्ष सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्री परिवर्तन गर्ने कुरा चलेपछि ओलीले परिवर्तन गर्ने भन्दै फर्काइ दिएका थिए । तर कांग्रेसले मन्त्री हेरफेर गर्ने गृहकार्य गरेसँगै सत्तारुढ नेकपा एमालेभित्र पनि आफ्ना मन्त्रीहरू परिवर्तन गर्नुपर्ने माग उठेको छ । एमालेका मन्त्रीहरू हेरफेर गर्ने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक परामर्श शुरू गरेको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस !