हुम्लामा नेपाल-भारत मैत्री अस्पताल भवनको शिलान्यास
काठमाडौं : हुम्लाको चंखेली गाउँपालिका–२ मा नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास गरिएको छ। अस्पताल भवन भारत सरकारको आर्थिक सहयोग करिब १४.८ करोड रुपैयाँमा निर्माण हुन लागेको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन हुम्लाको चंखेली गाउँपालिकामार्फत गरिनेछ।
चंखेली गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन्। नयाँ संरचनाले चंखेली गाउँपालिकामा स्वास्थ्य सेवाहरुमा राम्रो पहुँच पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना व्यक्त गरे। उनले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई दोहोर्याएका छन्।
उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भए यता नेपालका सबै ७ वटै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६ सय वटा परियोजना सञ्चालन गरिएका छन्। नेपाल–भारत मैत्री अस्पताल भवन परियोजना हुम्लामा तेस्रो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
यसअघि भारत सरकारले सर्केगाडस्थित सरस्वती माध्यमिक विद्यालयको हाताभित्र पुस्तकालय भवन निर्माणका लागि र चंखेली–दार्मास्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला तथा पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग उपलब्ध गराएको थियो। भारत सरकारले सन् २०२४ जुलाईमा हुम्लाका चंखेली, सर्केगाड र सिमकोट गाउँपालिकाका निर्वाचित प्रतिनिधिहरू सम्मिलित १० सदस्यीय टोलीका लागि भारतमा अध्ययन भ्रमणको पनि आयोजना गरेको थियो।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ।
प्रतिक्रिया दिनुहोस !