काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार एक विशेष कार्यक्रमका बीच आगामी आर्थिक वर्षको यो नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास,सहरी व्यवस्थापन,डिजिटल प्रणालीको सुदृढीकरण, सामाजिक सुरक्षा र विपद् व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ।
महानगरपालिकाले सामाजिक समावेशीकरणलाई ध्यानमा राख्दै महिला,अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको नाममा आवासीय भवन निर्माण गर्दा नक्सापास दस्तुरमा २० प्रतिशत छुट दिने विशेष नीतिको घोषणा गरेको छ। यसका साथै सेवा प्रवाहलाई थप चुस्त र पारदर्शी बनाउन प्रविधिको प्रयोगमा जोड दिँदै विद्युतीय भवन अनुमति प्रणालीलाई समयसापेक्ष अध्यावधिक गरी बायोमेट्रिक प्रणालीलाई राष्ट्रिय परिचयपत्रको प्रणालीसँग अन्तरआबद्धता गरिने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूले महानगर क्षेत्रभित्रका घरजग्गा धितो राखी ऋण प्रवाह गर्दा समेत महानगरको यही प्रणाली उपयोग गर्ने प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
महानगरपालिका क्षेत्रभित्र भौतिक पूर्वाधार विकास र सेवा सञ्चालन गर्ने विभिन्न निकायहरूबीच प्रभावकारी समन्वयका लागि एक एकीकृत संयन्त्र गठन गरिने भएको छ। यस प्रक्रियालाई सक्रिय बनाउन र सार्वजनिक वित्तको उच्चतम प्रतिफल प्राप्त गर्नका लागि 'GIS based monitoring system' विकास गरी प्रयोगमा ल्याइने जानकारी दिइएको छ। साथै, GIS डेटाबेसमा आधारित भई महानगर क्षेत्रभित्रका नदी किनार तथा सार्वजनिक स्थलहरूको संरक्षणका लागि आवश्यक पूर्वाधारका कार्यहरू अघि बढाइनेछ। सहरी उज्यालो र सुरक्षाका लागि स्ट्रिट लाइट तथा हाईमास्टहरूमा स्मार्ट प्रविधिको प्रयोग गरिने नीति समेत महानगरले अख्तियार गरेको छ।
सुरक्षित सहरीकरण र भवनहरूको आर्थिक सुरक्षाका लागि महानगरले नयाँ र दीर्घकालीन योजनाहरू अघि सारेको छ। महानगर क्षेत्रभित्र निर्माण हुने र निर्माण भइसकेका सार्वजनिक तथा निजी सबै किसिमका भवन तथा भौतिक संरचनाको जोखिम हस्तान्तरण गर्न सहुलियतपूर्ण दरमा बीमा गर्ने प्रबन्ध मिलाइने भएको छ। आगामी ५ वर्षभित्र महानगरभित्रका सम्पूर्ण भवनहरूलाई विपद् उत्थानशील बनाउने अभियानको सुरुवात यसै आर्थिक वर्षदेखि गरिनेछ, जसअन्तर्गत समुदायको सहभागितामा जोखिम सर्वेक्षण, प्रवलीकरण र आवश्यक मर्मत सम्भारको कार्य थालनी गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
वातावरणीय सुधार र दिगो विकासतर्फ लक्षित हुँदै महानगरले अबदेखि ऊर्जा दक्ष प्रविधि , जमिनमुनि पानी पुनर्भरण गर्ने प्रविधि र समाहित गरी मात्र भवन निर्माण गर्ने कार्यको थालनी गर्ने भएको छ। यातायात व्यवस्थापनतर्फ सडक सुरक्षा, प्रभावकारी ट्राफिक व्यवस्थापन र गुणस्तरीय सार्वजनिक यातायातको प्रवर्धनमार्फत सुरक्षित,व्यवस्थित र दिगो सहरी यातायात प्रणालीको विकास गरिने प्रतिबद्धता जनाइएको छ।
यसका साथै स्थानीय बासिन्दाको सहजताका लागि पैदल यात्री तथा साइकलमैत्री पूर्वाधार निर्माण र सेवा विस्तारलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस !