भारतबाट फरार युवकको विराटनगरमा रहस्यमय मृत्यु, अनुसन्धानमा तानिए चार भारतीय
विराटनगर : भारतमा मुद्दा खेपिरहेका र फरार सूचीमा रहेका एक भारतीय युवकको विराटनगरस्थित होटलमा शंकास्पद मृत्यु भएपछि घटनाले नेपाल र भारत दुवैतर्फ चासो पैदा गरेको छ।
मृत्युको कारण अझै खुल्न नसकेको अवस्थामा प्रहरीले घटनासँग सम्बन्धित चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतक भारतको बिहार राज्यको सहरसा जिल्लाका २४ वर्षीय प्रिन्स यादव रहेको प्रहरीले जनाएको छ। उनी विराटनगर महानगरपालिका–१० मा रहेको शुभ होटलमा केही दिनदेखि बस्दै आएका थिए।
अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार राति उनीसँगै रहेका व्यक्तिहरूले उपचारका लागि न्युरो अस्पताल पुर्याएका थिए । तर, अस्पताल पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरिदिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । प्रहरीका अनुसार घटनाको प्रकृति सामान्य नदेखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । ‘मृतकको कन्चटको भागमा सामान्य चोट जस्तो देखिएको छ । शव परीक्षण रिपोर्ट नआएसम्म मृत्युको वास्तविक कारणका बारेमा निष्कर्ष निकाल्न सकिँदैन,’ श्रेष्ठले भने । शवको विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
अनुसन्धानका क्रममा प्रिन्स भारतमा दर्ता भएको एक आपराधिक मुद्दाका फरार प्रतिवादी रहेको खुलेको छ । भारतीय प्रहरीको खोजी सूचीमा रहेका उनीमाथि बिहारमा चर्चित शिक्षक ‘खान सर’ सँग सम्बन्धित विवाद तथा खान ग्लोबल स्टडिजमा भएको तोडफोड र आक्रमण घटनामा संलग्न रहेको आरोपमा एफआईआर दर्ता भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, उक्त मुद्दाका बारेमा भारतीय सरकारी निकायबाट औपचारिक विवरण भने सार्वजनिक हुन बाँकी छ ।
घटनापछि प्रहरीले मृतकसँगै होटलमा बसिरहेका चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरूमा बिहारकै सहरसाका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादव रहेका छन् । भारतीय युवाहरुसँग घटनाका विभिन्न पक्षका बारेमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
प्रिन्स बिहारका शिक्षा व्यवसायी तथा ‘ज्ञान बिन्दु एकेडेमी’ का सञ्चालक रोशन आनन्दका भाइ भएको पनि खुलेको छ । उनी केही दिनअघि नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यसअघि पनि विराटनगर आउने–जाने गरेको तथ्य प्रहरीले फेला पारेको स्रोतले जनाएको छ । प्रहरीले मृत्युको कारणबारेमा कुनै निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेको छ । आत्महत्या, प्राकृतिक मृत्यु, लागुऔषधको अत्यधिक सेवन वा अन्य आपराधिक गतिविधिसँग सम्बन्धित घटना हुन सक्ने सम्भावनालाई आधार बनाएर अनुसन्धान भइरहेको छ ।
विशेष गरी नशालु पदार्थको ओभरडोजका कारण मृत्यु भएको हुनसक्ने आशंकालाई पनि अनुसन्धानको दायराभित्र राखिएको प्रहरी स्रोतले बताएको छ । घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । घटनाको जानकारी पाएर आफन्त विराटनगर आइपुगेपछि शवको पोस्टमार्टम गरिएको हो । पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट प्राप्त हुने प्रमाणका आधारमा मात्रै प्रिन्सको मृत्युको वास्तविक कारण सार्वजनिक हुने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !