रास्वपाको प्रथम महाधिवेशन : ४,२११ प्रतिनिधि सहभागी हुने (नामसहित)
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने भएका छन्। ७ प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका गरिएको सार्वजनिक भएको विवरण सच्याउनु पर्ने वा प्रकाशित नामावलीमा विरोध भएमा राष्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रीय निर्वाचन आयोग अन्तर्गत महाधिवेशन सचिवालय प्रदर्शनी स्थलमा सम्पर्क राख्न महामन्त्री कबिन्द्र बुर्लाकोटीले आग्रह गरेका छन्।
पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन्। समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई चयन गरिएको छ।
कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
महाधिवेशन प्रतिनिधिकारूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित ५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि भएका छन्।
यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन्।
प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि भएका छन्।
प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ। गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ।
हेर्नुहोस् नामावली
प्रतिक्रिया दिनुहोस !