सेनाको ब्यारेकमा ग्रेनेड विष्फोट : १ सैनिकको मृत्यु, अर्का गम्भीर घाइते
टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थिति नेपाली सेनाको ब्यारेकमा ग्रेनेड विष्फोट हुँदा एकजना सैनिक जवानको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन् ।
स्रोतका अनुसार विष्फोटमा परी कञ्चनपुरका ३७ वर्षीय हिमालय विष्टको मृत्यु भएको छ भने धनगढी उपमहानगरपालिकाका ४२ वर्षीय हेमराज जैशी घाइते भएका हुन् ।
सुरक्षा स्रोतका अनुसार ब्यारेकभित्र सैन्य तालिम अर्थात् नियमित कार्यक्रमका क्रममा अचानक ग्रेनेड विष्फोट हुँदा एक जवानको मृत्यु भएको भने एक घाइते भएका हुन् ।
विष्फोटमा परी घाइते भएका दुबै जनालाई तत्काल लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा घाइते सेनाका जवानको ज्यान गएको हो ।
जैशीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !