भेनेजुएला भुकम्प : एक व्यक्तिको आठ दिनपछि भग्नावशेषबाट जीवितै उद्धार
भेनेजुएला : भेनेजुएलामा आएको विनाशकारी दुई भूकम्पको आठ दिनपछि नौतले भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले यसलाई ‘चमत्कारिक उद्धार’ को संज्ञा दिएको छ । हेर्नान अल्बेर्तो गिल फ्लोरेस नामका ती व्यक्ति ला ग्वाइरास्थित एउटा सपिङ मलको पार्किङ भवन भत्किँदा करिब २९ फिट गहिरो भग्नावशेष मुनि पुरिएका थिए ।
स्थानीय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीले धेरै दिनसम्म अत्यन्तै सावधानीपूर्वक सञ्चालन गरेको अभियानपछि बिहीबार उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको हो । ४० वर्ष हाराहारीका गिल उक्त सपिङ मलमा सुरक्षागार्डका रूपमा कार्यरत थिए । चिलीको अग्निनियन्त्रण विभागका अनुसार उनी उद्धारपछि राम्रो स्वास्थ्य अवस्थामा छन् र उपचारका लागि अस्पताल लगिएको छ ।
उनीसम्म सुरक्षित रूपमा पुग्न र बाहिर निकाल्न ७० घण्टा बढी समय लागेको उद्धार टोलीले जनाएको छ । उद्धार कार्यमा संलग्न भेनेजुएला रेडक्रसका प्यारामेडिक लुइस रोड्रिगेजले भने, ‘एम्बुलेन्समा राख्दा श्री हेर्नानको अवस्था स्थिर थियो । यात्रा भरि उहाँ होसमा हुनुहुन्थ्यो, सबै कुरा बुझिरहनु भएको थियो र स्वास्थ्यका सबै महत्वपूर्ण संकेतहरू सामान्य अवस्थामा थिए ।’
श्रीमतीको भावुक प्रतिक्रिया
गिलकी श्रीमती गुस्भिमार गोन्जालेसले उद्धारअघि भनिन्, ‘भूकम्पपछि धेरै दिनसम्म उहाँको मृत्यु भइसकेको होला भन्ने लागेर अत्यन्त पीडामा थिएँ। तर उहाँ जीवित हुनुहुन्छ भन्ने थाहा पाएपछि आशाको किरण देखें । उहाँ साँच्चै वीर जस्तै डटिरहनु भयो ।’ उनले आफ्ना छोराछोरीहरू पनि घरमा बाबुको प्रतीक्षामा रहेको बताइन् ।
कसरी भयो उद्धार ?
बुधबार खोजी क्यामेरा भग्नावशेषभित्र पठाउँदा उद्धार टोलीले पहिलो पटक गिललाई देखेको थियो । भिडियोमा बाक्लो कंक्रिटका तहबीचको सानो प्वालबाट उनले औंला हल्लाएर आफू जीवित रहेको संकेत गरेका थिए । उद्धार टोलीले पाइप र सिरिन्जमार्फत उनलाई पानी, खाना, औषधि तथा आवश्यक तरल पदार्थ उपलब्ध गराउँदै आएको थियो । बिहीबार सार्वजनिक गरिएको भिडियोमा गिलको टाउको र काँध भग्नावशेषबाट बाहिर निस्किएको देखिन्छ । उनले अनुहारमा मास्क लगाएका थिए भने एउटा आँखा रातो देखिएको थियो ।
उद्धार अभियान अत्यन्त जटिल
चिलीको अग्निनियन्त्रण विभागका अनुसार भवन अझै अस्थिर रहेकाले उद्धार अभियान निकै कठिन थियो । माथिबाट बेला–बेलामा ढुंगा र भग्नावशेष खस्ने जोखिमका बीच टोलीले काम गर्नुपरेको थियो । संयुक्त राष्ट्रसंघको विपद् मूल्याङ्कन तथा समन्वय टोलीका सदस्य सेबास्टियन मोकोर्केरले भने, ‘भूकम्पको सात दिनपछि हुने यस्ता उद्धारहरू वास्तवमै चमत्कार जस्तै हुन्छन् ।’
सामान्यतया भूकम्पपछि जीवित व्यक्तिलाई भेट्टाउने सम्भावना सबैभन्दा बढी हुने समय पहिलो ७२ घण्टा (तीन दिन) लाई ‘गोल्डेन विन्डो’ भनिन्छ । त्यसपछि विशेष गरी पानीको स्रोत नभए जीवित रहने सम्भावना तीव्र रूपमा घट्दै जान्छ ।
भूकम्पबाट ठूलो क्षति
ला ग्वाइरा दोहोरो भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो । त्यहाँ अझै पनि उद्धार अभियान जारी छ । इन्धन र आवश्यक स्रोतको अभावका बीच उद्धारकर्ताहरूले कुटो, बेल्चा र खाली हातले समेत भग्नावशेष हटाउँदै हराइरहेकाहरूको खोजी गरिरहेका छन् । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजका अनुसार बुधबारसम्म भूकम्पमा कम्तीमा २,२९५ जनाको मृत्यु पुष्टि भइसकेको छ । यद्यपि वास्तविक मृतक संख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !