विश्वका धेरै देशलाई तेल बेच्ने रूस आफैं किन फस्यो इन्धन संकटमा ?
रुस : रुस विश्वका धेरै देशहरूलाई तेल बिक्री गर्ने प्रमुख देश हो । तर अहिले भने रूस आफैं गम्भीर इन्धन संकटसँग जुधिरहेको छ । समाचार एजेन्सी एपीका अनुसार, रूसका पेट्रोल पम्पहरूमा लामो लाइन दिन प्रतिदिन बढ्दै गएको छ । युक्रेनले पछिल्ला केही महिनादेखि रूसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) हरूमा लगातार ड्रोन तथा मिसाइल आक्रमण गरेपछि इन्धन आपूर्तिमा ठूलो असर परेको हो । यसले सर्वसाधारणमा निराशा र अन्योल बढाएको छ ।
रूसका धेरै क्षेत्रमा इन्धनको रासनिङ (सीमित वितरण) सुरु गरिएको छ । सडक किनारमा इन्धन भर्नका लागि घण्टौंसम्म सवारीसाधनको लाम देखिन थालेको छ । सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा चालकहरूले यति लामो लाइन देखेर आश्चर्य व्यक्त गरिरहेका छन् भने कतिपयले खाली पेट्रोल पम्प र बढ्दो मूल्यप्रति आक्रोश समेत व्यक्त गरेका छन् । साइबेरियाको इर्कुत्स्क सहरका मेयरले लाइनमा बसेका मानिसहरूको सुविधाका लागि पोर्टेबल शौचालय समेत राख्नुपरेको छ ।
ऊर्जा उत्पादनमा विश्वकै अग्रणी राष्ट्रमध्ये एक मानिने रूसका लागि यस्तो इन्धन संकटलाई अभूतपूर्व मानिएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि स्वीकार गर्दै भनेका छन्, ‘सवारी चालक र व्यवसायी दुवैका लागि समस्या अझै कायम छ । पेट्रोल पम्पहरूमा अहिले पनि लामो लाइन लागिरहेको छ ।’ रूसी सरकारी समाचार एजेन्सी तासका अनुसार सरकारी तेल कम्पनीहरूले आफ्ना पेट्रोल पम्पमा मूल्यवृद्धि महँगीको सीमाभित्र राखेका छन् । तर निजी पेट्रोल पम्पहरूमा भने मूल्यमा केही अन्तर देखिएको छ । उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले यो अवस्था चाँडै नियन्त्रणमा आउने बताएका छन् ।
मूल्य पनि बढ्दै
नोभाकले रूसको केन्द्रीय बैंकद्वारा आयोजित वित्तीय सम्मेलनमा भने, ‘हाम्रा ठूला एकीकृत तेल कम्पनीहरूले इन्धनको मूल्य नियन्त्रणमा राखिरहेका छन् ।’ समाचार एजेन्सी रायटर्सका अनुसार, रूसका प्रमुख अन्न उत्पादन गर्ने क्षेत्रका किसानहरू पनि चिन्तित छन् । युक्रेनी ड्रोन आक्रमणले रिफाइनरी र इन्धन भण्डारण केन्द्रहरूमा क्षति पुर्याएपछि उनीहरूलाई बाली भित्र्याउन आवश्यक इन्धन नै अभाव हुन थालेको छ । युक्रेनले रूसको ऊर्जा पूर्वाधारमा लगातार आक्रमण गरेर मस्कोलाई शान्ति वार्ताका लागि दबाब दिन खोजिरहेको छ । यी आक्रमणका कारण तेलमा धनी रूसकै इन्धन आपूर्ति प्रणालीमाथि ठूलो दबाब परेको छ ।
अहिले चालकहरूले कुन पेट्रोल पम्पमा इन्धन उपलब्ध छ र कहाँ लाइन छोटो छ भन्ने जानकारी आदानप्रदान गर्न नक्सा तयार पारेर सामाजिक सञ्जालमा साझा गर्न थालेका छन् । भाइरल भिडियोहरूमा इन्धन भर्ने पालोको विषयमा चालकहरूबीच झगडा भएको दृश्य समेत देखिन्छ ।
‘द अल्टिमेट लक्जरी २०२६’ शीर्षकको एक भिडियोमा एक व्यक्तिले क्यानबाट आफ्नो लनमावरमा बिस्तारै पेट्रोल हाल्दै व्यंग्यात्मक रूपमा भन्छ, ‘कस्तो विलासिता ! अब यस्तो पेट्रोल किन्ने हैसियत कसको छ ?’
भारतबाट पेट्रोल आयात
रोयटर्सका अनुसार, रूसले अहिलेको संकट समाधान गर्न भारतबाट समुद्री मार्ग हुँदै पेट्रोल आयात गर्न थालेको छ । उद्योगसँग सम्बन्धित दुई स्रोतलाई उद्धृत गर्दै रायटर्सले बुधबार जनाएको थियो कि रूसले भारतबाट पेट्रोल मगाउन सुरु गरिसकेको छ । क्रेमलिनले मंगलबार नै स्वीकार्य मूल्यमा इन्धन आयातका लागि विभिन्न देशहरूसँग वार्ता भइरहेको जनाएको थियो । रूसको ऊर्जा मन्त्रालय र भारतको पेट्रोलियम मन्त्रालयले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
रोयटर्सका एक स्रोतका अनुसार भारतबाट कम्तीमा ६० हजार मेट्रिक टन पेट्रोल रूस पठाइसकिएको छ । अर्को स्रोतले ३०–४० हजार टन क्षमता भएका दुई ट्यांकर रूसतर्फ प्रस्थान गरिसकेको जनाएको छ । तेस्रो स्रोतका अनुसार रूसले हरेक महिना विभिन्न देशबाट करिब ४ लाख टन पेट्रोल आयात गर्ने योजना बनाएको छ । यसमा छिमेकी बेलारुस पनि समावेश छ, जसले पहिलेदेखि नै रूसलाई इन्धन निर्यात गर्दै आएको छ । गर्मीको मौसममा रूसमा दैनिक कम्तीमा १ लाख १० हजार टन पेट्रोल खपत हुने भएकाले माग निकै उच्च रहने गर्छ । बेलारुसले मे महिनाको पहिलो आधाको तुलनामा जुन महिनाको पहिलो आधामा रेलमार्फत रूसलाई पेट्रोल आपूर्ति झन्डै तीन गुणाले बढाएर ७० हजार टनभन्दा बढी पुर्याएको छ ।
कसरी गहिरियो संकट ?
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलका अनुसार, युक्रेनले वर्षौंदेखि रूसको ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै आएको भए पनि अहिले ड्रोन र मिसाइलको संख्या तथा प्रहार क्षमता दुवै उल्लेखनीय रूपमा बढेको छ । यसका कारण युक्रेनले साइबेरियाको ट्युमेन जस्ता करिब १,२०० माइल टाढाका रिफाइनरीहरूसमेत निशाना बनाउन थालेको छ ।
यही क्षमताका कारण जुन १८ मा युक्रेनले बहुस्तरीय हवाई सुरक्षा प्रणाली पार गर्दै मस्कोको प्रमुख रिफाइनरीमा ठूलो क्षति पुर्याएको बताइएको छ । डब्ल्यूएसजेका अनुसार यही घटनालाई अहिलेको इन्धन संकटको निर्णायक मोड मानिएको छ । जुन २० सम्म रूसको कुल तेल प्रशोधन क्षमताको करिब २८ प्रतिशत भाग बन्द रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !