पाल्पाका १५ जना बने स्मार्ट आमा
तानसेन : स्वस्थ आमा, स्वस्थ बच्चा सहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानका साथ रम्भा गाउँपालिकाले पालिकाभरीका १५ जना स्मार्ट आमालाई सम्मान गरेको छ। पाँचवटै वडाका ३/३ जना स्मार्ट आमालाई पालिकाले १० हजार रुपैयाँ र स्वास्थ्य सामग्री दिनुका साथै दोसल्ला ओढ्याएर सम्मान गरेको हो।
सुनौलो हजार दिनका आमाहरू बीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रति सूचक ५ अंकका दरले ११० अंक ल्याउने आमालाई स्मार्ट आमा घोषणा गरी गाउँपालिकाले सम्मान गरेको हो। गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विर बहादुर पुन, विभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद अर्याल लगायतले टिकामाला, दोषल्ला लगाई स्मार्ट आमाहरूलाई सम्मान गरे।
२०८७ जेठ मसान्तसम्म रम्भालाई पोषणमैत्री स्थानीय शासन कार्यान्वयन भएको गाउँपालिका घोषणा गर्ने अभियानका साथ स्मार्ट आमा सम्मान कार्यक्रम सञ्चालन गरेको हो।
प्रतिक्रिया दिनुहोस !