संकटमा रैथाने सुगन्ध : तराईका खेतबाट किन विस्थापित हुँदैछ बासमती ?
नेपालगन्ज : बाँकेको करमोहनाका नरेश चिढिमार झिसमिसेमै उठ्छन्। राँगा नारेर काँधमा हलो बोक्दै खेततर्फ लाग्छन्। बिहानैदेखि खेत जोत्न थालेका उनी आधा गरो जोतेपछि आलीमा बसेर केहीबेर विश्राम गर्छन्। पहिले तिर्खा मेट्न पानी पिउँछन्।
‘यसपालि कुन धान रोप्दै हुनुहुन्छ ?’ अन्नपूर्णकर्मीको प्रश्नमा उनी सहजै भन्छन्, ‘मोटो राधा–४ रोप्ने हो।’ ‘बासमतीजस्तो मसिनो र सुगन्धित धान किन नरोप्नुभएको ?’ अर्को प्रश्नमा अचम्म मान्दै उनले जवाफ दिए, ‘त्यो त मैले देखेकै छैन। कस्तो हुन्छ, मलाई थाहा छैन।’
३५ वर्षीय नरेशको यो जवाफले एउटा गम्भीर यथार्थ उजागर गर्छ। खेतीपातीमै जीवन बिताएका उनले आजसम्म बासमती धान देख्न नपाउनु तराईका गाउँहरूबाट यो स्थानीय बाली क्रमशः हराउँदै गएको स्पष्ट संकेत हो।
तर, बासमती र उस्तै कालानमक धान नरोपिनुको कारण यसको अभाव मात्र होइन, आर्थिक पक्ष पनि त्यत्तिकै जिम्मेवार छ। ‘त्यो त धनी–पुँजीपतिले खाने धान हो। हामीजस्ता गरिब किसानले लगाउन सक्दैनौं,’ नरेश भन्छन्। उनका अनुसार बासमती धानको उत्पादन तुलनात्मक रूपमा कम हुन्छ। थोरै जमिन भएका किसानका लागि कम फल्ने धान लगाउनु जोखिमपूर्ण हुन्छ। ‘हामीसँग थोरै जग्गा छ। यस्तो धान लगायो भने परिवारलाई वर्षभरि खान पुग्दैन,’ उनी बाध्यता सुनाउँछन्।
यसरी स्वाद, सुगन्ध र उच्च मूल्यका कारण परिचित बासमती धान बजारमा महँगो भए पनि साना किसानका खेतबाट भने बिस्तारै हराउँदै गएको देखिन्छ। उनीहरूका लागि अहिले पनि पहिलो प्राथमिकता परिवारको खाद्य सुरक्षालाई सुनिश्चित गर्ने, धेरै उत्पादन दिने मोटो धान नै बनेको छ। ‘यो खेत पनि बटैयामा लिएको हुँ। आफ्नो त जग्गा नै छैन,’ यसो भन्दै जुरुक्क उठेर फेरि खेत जोत्न थाले।
इन्द्रपुरका किसान नरेश रैदासको चिन्ता पनि उस्तै छ। असार सकिन लाग्दा पनि आकाशले मन खोलेर वर्षिन सकेको छैन। परेको पानी खेतले पूरै सोस्यो। खेतमा पर्याप्त पानी छैन। सिँचाइको कुनै सुविधा छैन। खेतको छेउतिरको खाल्डोमा वर्षाको पानी थोरै भए पनि जमेको छ। त्यही पानीलाई सहाराका रूपमा हेर्दै उनी धान रोप्ने तयारीमा छन्।
अटो–रिक्सामा पम्पसेट बोकेर खेतमा पुगेका रैदासले खेतको डिलमा मेसिन राख्छन्। त्यसमा लामो प्लास्टिकको पाइप जोडेर खाल्डोमा जमेको पानी खेततर्फ तान्ने प्रयास गर्छन्। पानीको प्रत्येक थोपा उनका लागि अमूल्य छ, किनभने त्यही पानीले वर्षभरिको अन्नको आशा जोगाइरहेको छ। तर, धानको रोजाइमा भने उनको बाध्यता नरेश चिढिमारको भन्दा फरक छैन।
‘म पनि मोटो धान नै रोप्ने तयारीमा छु,’ उनी भन्छन्, ‘बासमती धान देखेको त छु, तर जीवनमा कहिल्यै रोपेको छैन।’ किन त ? उनी वरिपरि फैलिएको फाँटतर्फ हेर्दै भन्छन्, ‘यो पूरै फाँटमा कसैले पनि बासमती लगाउँदैन।’
रैदासको यो छोटो भनाइमा एउटा ठूलो यथार्थ छ। बाँकेका धेरै किसानका लागि बासमती धान स्वाद र सुगन्धको प्रतीक भए पनि खेतीको विकल्प बनेको छैन। कम उत्पादन, सानो जमिन र वर्षभरि परिवारको पेट पाल्नुपर्ने बाध्यताले उनीहरूलाई आज पनि धेरै फल्ने मोटो धानमै सीमित बनाएको छ। त्यसैले कहिल्यै गाउँका खेतहरूमा लहलहाउने बासमती अहिले किसानका स्मृतिमा पनि दुर्लभ बन्दै गएको छ।
‘बासमतीमा किरा धेरै लाग्छ। पानी सिँचाइ धेरै चाहिन्छ। अहिले रोप्यो भने फल्ने बेला खडेरी पर्छ। पानी हुँदैन। धानको बाला सुकेर पपटा जस्तो हुन्छ। खर्च मात्र हुने खतराले बासमती लगाउन छाडेको २० वर्ष भयो,’ बलु बर्माले बासमती धान लोप हुँदै जानुको कारण बताए।
‘बासमती धानमा किरा धेरै लाग्छ। यसलाई प्रशस्त सिँचाइ चाहिन्छ। अहिले रोप्यो भने बाला लाग्ने बेला खडेरी पर्छ। पानी नपाउँदा बाला सुकेर पपटा जस्तै हुन्छ। अन्त्यमा लगानी मात्र डुब्छ,’ किसान बलुले आफ्नो अनुभव सुनाए। यही तीतो अनुभवले उनलाई बासमती धानबाट टाढ्याएको छ। ‘यही जोखिमका कारण मैले बासमती लगाउन छाडेको २० वर्ष भयो,’ उनले भने।
बलुको अनुभव बाँकेका धेरै किसानको यथार्थ हो। अनियमित वर्षा, सिँचाइको अभाव, बढ्दो उत्पादन जोखिम र कम प्रतिफलका कारण कुनै समय तराईका खेतमा सुगन्ध छर्ने बासमती धान आज बिस्तारै हराउँदै गएको छ। किसानका लागि अहिले स्वाद वा बजारभन्दा पनि वर्षभरि परिवारको भान्सा धान्ने गरी धेरै उत्पादन दिने धान रोज्नु बाध्यता बनेको छ। यही बाध्यताले बासमती धानलाई किसानका खेतबाट बिस्तारै विस्थापित गरिरहेको छ।
बाँके मात्र होइन, सिंगो तराईका विशाल फाँटबाट सँगै पहाडी क्षेत्रबाट समेत एकपछि अर्को गर्दै रैथाने सुगन्धित धानका जात हराइरहेका छन्। तर, लोपोन्मुख बाली जोगाउने जिम्मेवारी कसले लिने भन्ने प्रश्नको उत्तर भने अझै अनुत्तरित छ। स्थानीय तह अर्थात् पालिकाहरूले यसतर्फ चासो नै दिएका छैनन्।
जसका कारण बन्जारे गाउँका किसान अब्दुल रसिद बागवान यही चिन्ताले पिरोलिएका छन्। उनी नेताहरूले गर्ने ‘कृषि क्रान्ति’का चर्का भाषणमा अब विश्वास गर्दैनन्।
रोपाइँ गरिरहेको खेततर्फ औंला ठड्याउँदै उनी भन्छन्, ‘कालानमक त लोप भइसक्यो। अहिले त्यसको बीउसमेत पाइँदैन। बासमती र श्यामजिराको अवस्था पनि त्यही बाटोतिर उन्मुख छ।’
कुनै बेला तराईका खेतभरि लहलहाउने सुगन्धित रैथाने धानका जात अहिले भान्सामा मात्र होइन, किसानका खेतमा समेत दुर्लभ बन्दै गएका छन्। गाउँ–गाउँमा सुगन्ध छर्ने बासमती, कालानमक र श्यामजिरा आज सम्झनामा सीमित हुन थालेका छन्। यही यथार्थले बागवानलाई राज्यप्रति प्रश्न गर्न बाध्य बनाएको छ। ‘मन्त्री र नेताहरूले कृषि क्रान्तिका धेरै कुरा गर्छन्। तर, पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म फैलिएको तराईका खेतबाट हराउँदै गएका रैथाने धान जोगाउन कसैले किन चासो दिएनन् ?’ उनी प्रश्न गर्छन्।
जब रैथाने बीउ हराउँछन्, त्यससँगै हराउँछ हाम्रो कृषि इतिहास, स्थानीय जैविक विविधता र पुस्तौंदेखि जोगिँदै आएको खाद्य संस्कृति। तर अमूल्य सम्पदाको संरक्षणका लागि राज्यबाट प्रभावकारी पहल भएको अनुभूति किसानले गर्न सकेका छैनन्।
कुनै बेला कसैको भान्सामा यी जातका चामल पाक्दा टोलछिमेकभरि नै सुगन्ध फैलिन्थ्यो। खाँदा पनि निकै मुलायम। स्वादको त कुरै नगरौं। जिब्रोले अरू स्वाद बिर्सन सक्छ। कालानमकको एक गाँस भात खानेलाई अन्य जातको भात मुखमा काँडा बिझाएजस्तो हुन्छ।
भान्सामा भात पाक्दा मात्र होइन, धान पाक्दा पनि खेतबाट परपरसम्म सुगन्ध फैलिन्थ्यो। हिजोआज भने चाडबाडको बेला कुनै–कुनै घरमा कालानमक र श्यामजिरा पाक्छ। पुर्खाले घर आउने नयाँ आगन्तुकको सत्कार कालानमकको भात पस्केर गर्थे। मान र प्रतिष्ठाको प्रतीक थियो। कुम्हारले भने, ‘अब ती दिन सम्झनामा मात्रै छन्।’ चामलमा मात्रै होइन, बासमती धानको पातमै सुगन्ध हुन्छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्रनजिकै खजुराका किसान उक्त केन्द्रको औचित्यमाथि प्रश्न उठाउन थालेका छन्। सबै ‘हाइब्रिड’ तिर लागे। रैथाने जात जोगाउन कोही चाहँदैनन्। खजुराखुर्दका किसान बंशराम भन्छन्, ‘धानसँगै ती दिन सकिए।’
बंशरामको पुस्ताले कालानमक र श्यामजिराको खेती गर्दै आएको थियो। नयाँ पुस्ता नाफा र बजारमुखी हुँदै गएको छ। कम लगानीमा बढी मुनाफा चाहन्छ नयाँ पुस्ता। खेतमा भेटिएका बाबुछोराबीच बास्नादार धान खेती गर्ने कि नगर्ने भन्नेमा मतभेद छ।
‘थोरै फल्छ, लगानी धेरै हुन्छ। किन खेती गर्ने ?’ बंशराम कुम्हारका छोरा रामबाबु भन्दै थिए, ‘६–७ हजार रुपैयाँ क्विन्टलको श्यामजिरा र बासमतीभन्दा ३ हजारदेखि ४ हजार रुपैयाँ क्विन्टलको मोटो धानमा फाइदा हुन्छ।’
कुम्हारको पुस्ताले कालानमक लगाउन छाडेको २५ वर्ष भयो। खेतमा कालो रङको श्यामजिरा सुनखानीमा अंगारजस्तो देखिन्थ्यो। पहिले बीउ छर्दा ब्याडबाटै बास्ना आउँथ्यो। अहिले त्यही पाकेको धान काट्दा आउँदैन। रासायनिक मल र विषादीको बढ्दो प्रयोगले रैथाने बासमतीबाट बास्ना आउनै छाडेको किसानको भनाइ छ।
नेपालगन्जको गल्ला बजारमा रैथाने बासमती चामल पाइनै छाडेको छ। पाइहाले पनि कृत्रिम बास्नादार। उस्तै बास्ना आउने लेपयुक्त चामल आउन थालेको छ। किनेर भान्सामा पुर्याउँदासम्म सुगन्ध रहन्छ, पखालेर पकाएपछि सकिन्छ। पुस्तौँदेखि धान–चामललगायत गल्ला व्यापार गर्दै आएका राजेश मित्तलले भने, ‘मन्सुलीको जस्तो सेन्ट छरेको चामल आउँछ। उपभोक्ताले पत्तो पाउँदैनन्।’
त्यो पनि सीमापारिका बजारबाट आउँछ। नेपालगन्ज नाकानजिकैको भारतीय बजार रुपैडिहामा पुगेर महँगो भाउमा बासमती किनेर ल्याउनेमध्ये कैयौं नेपाली झुक्किने गरेका छन्। मित्तल सुझाव दिन्छन्, ‘कस्तो खालको सेन्ट छर्छन् थाहा छैन। तर, नकिन्नुहोला।’
मित्तल पनि रासायनिक मलको बढ्दो प्रयोग नै रैथाने जातका धान–चामलबाट सुगन्ध खोसिनुको कारण हुन सक्ने अनुमान गर्छन्। उनले आफ्नो उद्योगमा किसानले मन्सुली र बासमती ल्याउनै छाडेको १० वर्ष भइसकेको बताए।
तर, धान अनुसन्धानमा संलग्न वैज्ञानिकहरू कालानमक, बासमती र श्यामजिराको सुगन्ध परिवर्तित मौसमले खोसेको बताउँछन्। सुगन्धित धानका लागि वातावरण प्रतिकूल हुँदै गएको वैज्ञानिकहरूको भनाइ छ। धान वैज्ञानिकहरू भन्छन्, ‘बास्ना आउने धानका लागि अहिलेको हावापानी प्रतिकूल छ। त्यसैले सुगन्ध हरायो। आउँदैन अब।’
रैथाने जात कालानमक, बासमती र श्यामजिरा जीन बैंकमा पुगेका छन्। क्रस गरेर नयाँ जात निकाल्ने प्रयास हुँदै छ। रोग कम लाग्ने र धेरै फल्ने बनाउन थालिएको छ। ‘१० देखि १२ वर्ष लाग्छ होला। तर, त्यस कार्यमा पूर्ण सफलता प्राप्त हुने हो वा होइन, निश्चित छैन।’
कालानमकको अर्को जात आउन ५ वर्ष पर्खिनुपर्छ, त्यो पनि प्रयास सफल भएमा। वैज्ञानिकहरू पनि बास्नादार धानमा रोग बढी लाग्ने र ढल्ने हुँदा किसानले खेती गर्न छाड्दै गएको बताउँछन्।
तराईबाट बासमतीको बास्ना हराउनुको अर्को कारण सरकारी नीति पनि मुख्य कारक मानिन्छ। कृषि मन्त्रालयले नीतिगत रूपमै रैथाने जातलाई बेवास्ता गर्दै आएको छ। उन्नत धान खेती गर्ने किसानलाई अनुदान दिइन्छ, तर रैथाने जातको खेती गर्नेले पाउँदैनन्।
यस्ता अनेकौं कारणले बासमतीजस्तो मूल्यवान् धान जीन बैंकमा पुर्याउने क्रम जारी छ। लोपोन्मुख धानको नमुना जीन बैंकमा १० देखि १०० वर्षसम्म राख्न सकिन्छ। त्यो अवधिमा अनुसन्धान प्रक्रिया पूरा गर्न सक्लान् त वैज्ञानिकहरू ? प्रश्न उठेको छ। रैथाने जातका धानमा रोग प्रतिरोधक क्षमता बढाउने प्रयासमा जुटेका वैज्ञानिकहरूले कहिले सफलता प्राप्त गर्लान् र फेरि ती धान खेतमा देख्न पाइएला ? लामो प्रतीक्षा गर्नुपर्ने छ।
अरू अन्नको तुलनामा एसिया महाद्वीपमा चामलको खपत निकै बढी छ। ‘ओरिजा सेटिभा’ वैज्ञानिक नामले परिचित छ धान। हजारौं वर्ष अघिदेखि धानबाली गरिँदै आइएको छ। विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत हुन्छ। नेपालका दुई ठूला छिमेकी मुलुक चीन र भारतले विश्वभरिकै ५० प्रतिशत धान उत्पादन गर्छन्। संसारमा ६० प्रतिशतभन्दा धेरै मानिसले भात खान्छन्। बजारमा मगमग बास्ना आउने रैथाने बासमती छैन। वैज्ञानिकहरूका अनुसार तराई मात्र होइन, पहाडी क्षेत्रमा समेत बास्नादार धान लोपोन्मुख अवस्थामा छन्।
अवस्था यस्तो छ कि रैथाने बासमतीको बीउसमेत पाइन छाडेको छ। भाषणमा ठूलठूला कृषि क्रान्तिका कुरा फलाके पनि सरकारले मूल्यवान् धान उत्पादनका लागि सिँचाइ, मल र बीउसमेत उपलब्ध नगराउँदा बासमतीको खेती गर्न छाड्नुपरेको रमुवापुरका किसान मुन्नु बर्माको भनाइ छ।
अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र (इरी)ले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मार्फत उन्नत जातको होचो कालानमकको बीउ उत्पादन गर्न थालेको छ। ‘तर यो होचो कालानमक अर्थात् बासमती रैथाने बासमतीजस्तो हुँदैन,’ भैरहवास्थित कृषि, वन तथा पर्यावरण मन्त्रालय मातहतको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमका प्रदेश कार्यक्रम व्यवस्थापक सागर ढकालले भने, ‘यो धानको खेती कम हुँदै गएको छ। अलि–अलि संरक्षणको प्रयास पनि भएको छ।’ तर नार्कले उत्पादन गर्न थालेको होचो कालानमक किसानको खेतमा भने पुगेको छैन।
बासमतीको झगडा
मौलिक अर्थात् रैथाने बासमती धानको पेटेन्ट राइटका बारेमा भारत र अमेरिकाबीच अधिकारको लडाइँ चलेको थियो। सन् १९९७ मा अमेरिकी कम्पनी ‘राइसटेक’ले नेपाल, भारत र पाकिस्तानसहितका देशमा उत्पादन हुँदै आएको बासमती आफ्नो बनाउन खोजेको थियो।
‘राइसटेक’ अमेरिकाको टेक्सास राज्यमा रहेको निजी कृषि–प्रविधि कम्पनी हो। यसले हाइब्रिड धानको बीउ विकास र उत्पादन गर्छ। सन् १९९७ मा बासमतीसँग सम्बन्धित केही नयाँ धानका लाइन र प्रजनन विधिमा अमेरिकी पेटेन्ट पाएपछि यो कम्पनी विश्वभर चर्चामा आएको थियो। भारतले त्यसको विरोध गर्दै चुनौती दिएपछि कम्पनीका अधिकांश पेटेन्ट दाबी खारेज भएका थिए। भारतले यो परम्परागत बासमतीमाथिको जैविक चोरी भएको भन्दै कडा विरोध गरेको थियो। जसका कारण उसले बासमतीमा स्वामित्व दाबी गर्न पाएन।
नेपालको पनि दाबी
नेपाल सरकारले बासमती धानमा आफ्नो अधिकार स्थापित गर्न युरोपेली संघ (ईयू) मा आधिकारिक दाबी तथा प्रतिवाद दर्ता गराइसकेको छ। भारतले बासमती धानलाई आफ्नो मात्र एकल उत्पादन दाबी गर्दै प्रमाणपत्रका लागि आवेदन दिएपछि नेपालले डिसेम्बर २०२० मा त्यसका विरुद्धमा औपचारिक रूपमा आफ्नो दाबी पेस गरेको छ।
भारतले बासमतीमा एकल अधिकार दाबी गरेपछि तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूको बैठकले भारतको उक्त दाबीका विरुद्धमा नेपालले दाबी गर्ने निर्णय गरेको थियो। नेपाल सरकारले नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक), खुमलटारमार्फत आवश्यक प्रमाणहरू जुटाएर युरोपेली संघमा आधिकारिक प्रतिवाद पत्र पठाएको थियो।
नेपालको मुख्य प्रमाण र दाबी
बासमती धान परापूर्वकालदेखि नै विशेष गरी तराई र भित्री मधेसमा उत्पादन हुँदै आएको र नेपाली संस्कृतिमा यसको ऐतिहासिक महत्त्व रहेको प्रमाण पेस गरिएको छ। नेपालको राष्ट्रिय जीन बैंकमा रैथाने बासमतीका थुप्रै प्रजातिहरू (जस्तैः कालो बासमती, रातो बासमती आदि) संकलन र संरक्षण गरेर राखिएको वैज्ञानिक प्रमाणका रूपमा बुझाइएको छ।
नेपालका ६० भन्दा बढी जिल्लामा १ सय ३० भन्दा बढी प्रकारका बासमती रैथाने जातका धान उत्पादन हुने आधार सरकारले प्रस्तुत गरेको छ। नेपालले सन् १९६० को दशकदेखि नै आफ्ना सरकारी र राष्ट्रिय अनुसन्धान केन्द्रहरूमार्फत बासमती धानका विभिन्न जातहरू विकास र दर्ता गरेको तथ्यलाई प्रमुख आधार बनाएको छ।
विवादको वर्तमान स्थिति
प्राविधिक रूपमा यो विवाद पेटेन्टको नभई भौगोलिक संकेत (जीआई) को हो। पेटेन्ट नयाँ वैज्ञानिक आविष्कारमा दिइन्छ भने जीआई रैथाने तथा परम्परागत उत्पादनको भौगोलिक पहिचानका लागि दिइन्छ। नेपाल र पाकिस्तान दुवै देशले भारतको एकल दाबीमा विरोध जनाएपछि हाल युरोपेली संघमा यो मुद्दा विचाराधीन छ। नेपालले बासमती धान दक्षिण एसियाकै साझा सम्पत्ति हुनुपर्ने र यसमा नेपालका किसानहरूको पनि हक सुरक्षित हुनुपर्ने माग राखेको छ।
बासमती लोप हुँदै जानुका कारण
- कम उत्पादन हुने भएकाले किसानको मोह घट्योः बासमती धान सुगन्धित र स्वादिलो भए पनि यसको उत्पादन मोटो धानको तुलनामा कम हुन्छ। थोरै जमिन भएका किसानले वर्षभरि परिवार पाल्न धेरै उत्पादन दिने जातका धान रोज्न थाले र बासमती छाड्दै गए।
- सिँचाइको अभावः बासमती धानलाई वृद्धि र बाला लाग्ने समयमा पर्याप्त पानी चाहिन्छ। तर, तराईमा अहिले पनि धेरै खेती वर्षामा निर्भर छ। वर्षा ढिलो हुनु, बीचमै खडेरी पर्नु र सिँचाइ नहुनुले गर्दा किसान जोखिम मोल्न चाहँदैनन्।
- जलवायु परिवर्तनः पहिले असार–साउनमा नियमित वर्षा हुन्थ्यो। अहिले वर्षा अनियमित भएको छ– कहिले लामो खडेरी, कहिले अत्यधिक वर्षा। यस्तो मौसमले विशेष गरी बासमतीजस्ता संवेदनशील जातमा उत्पादन घटाएको छ।
- रोग र किराको प्रकोपः बासमती धानमा गन्धी किरा, स्टेम बोरर, ब्लास्टलगायत रोग–किराको असर बढी हुने किसानको अनुभव छ। रोग व्यवस्थापन महँगो र कठिन भएकाले पनि किसानले अन्य जात रोज्न थालेका छन्।
- उन्नत र हाइब्रिड जातको विस्तारः राधा–४, सावित्री, साँवा मन्सुली, हाइब्रिड लगायत धेरै उत्पादन दिने जात आएपछि किसानको रोजाइ ती जाततर्फ सरेको छ। बजार र सरकारी कार्यक्रमले पनि यिनै जातलाई बढी प्राथमिकता दिएको देखिन्छ।
- रैथाने बीउ संरक्षणको अभावः कालानमक, श्यामजिरा र स्थानीय बासमतीजस्ता रैथाने जातको बीउ उत्पादन र संरक्षणमा पर्याप्त सरकारी कार्यक्रम नहुँदा बीउ नै दुर्लभ बन्दै गएको छ। एकपटक किसानले रोप्न छाडेपछि ती जात बिस्तारै लोप हुने अवस्थामा पुगे। कुनै समय सुगन्धले फाँट भरिने बासमती आज कतिपय गाउँमा बीउसमेत खोजेर नपाइने अवस्थामा पुगेको छ।
प्रतिक्रिया दिनुहोस !