‘खरानी’ किताब लेख्दा यातना, सर्वोच्चको आदेशपछि पनि सकिएन दुःख
काठमाडौं : २३ वर्षीय प्रकाश भट्ट बसन्तपुरमा एक्लै हिँडिरहेका थिए। क्यामेरा बोकेका दुई जना युवाले आफूहरू सञ्चारकर्मी भएको परिचय दिँदै उनीसँग सरकारबारेको धारणा सोधे। तर प्रकाशले राजनीतिक टिप्पणी गर्न अस्वीकार गरे।
आफ्नो पुस्तक कुनै राजनीतिक दलसँग सम्बन्धित नभई नेपालको इतिहासदेखि वर्तमानसम्मका घटनालाई आधार बनाएर तयार पारिएको काल्पनिक कृति भएको बताएका थिए। व्यक्तिगत विवरण दिँदै उनले आफू मालीगाउँ–डबली क्षेत्रमा बस्ने गरेको जानकारी दिएका थिए। यो घटना हो, गत फागुन ८ गतेको।
त्यसको एक सातापछि, फागुन १५ गते दिउँसो करिब १२ बजे, उनी मालीगाउँस्थित कोठामा पुस्तक लेखिरहेका थिए। ढोकामा ढकढक आवाज आयो। तर ढोका खोलेर हेर्दा बाहिर कोही पनि थिएन। केही क्षणमै कालो चस्मा लगाएका केही व्यक्ति आएर ‘हामीसँग जानुपर्छ’ भनेर आफूलाई भनेको प्रकाशले बताए।
उनले कारण सोध्न नपाउँदै आँखामा पट्टी बाँधियो, दुवै हातमा हत्कडी लगाइयो र गाडीमा राखियो। त्यसबेलासम्म आफूलाई कहाँ–कहाँ लगिदैछ भन्ने जानकारी नदिइएको उनले बताए। दिउँसो करिब ३ बजे मालीगाउँ प्रहरी बिट पुर्याइएको र केही समयपछि फेरि गाडीमा राखेर काठमाडौंका विभिन्न ठाउँ घुमाउँदै साँझ करिब ६ बजे जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको प्रकाशले बताए। परिसर पुगेपछि एकजना प्रहरी जवानले ‘किन आएको ? भनेर प्रश्न गरेको उनले बताए।
‘मलाई नै थाहा छैन भनेर जवाफ दिएँ’ प्रकाशले भने, ‘त्यसपछि एक जना डीएसपीले मलाई पुस्तकबारे सोधपुछ गरी केही कुरा कापीमा लेख्न लगाउनुभयो। मैले लेखेको पढेपछि ‘गज्जब लेख्दो रहेछौं भन्नुभयो। तर त्यसलगत्तै अर्का प्रहरी कर्मचारी पप्पुकुमार यादवले आफूलाई राजनीतिक आस्था सोध्दै चुनावमा भोट केमा हालेको ? भनेर प्रश्न गरेको प्रकाशले बताए।
‘मैले कुनै दलमा आबद्ध नरहेको बताउँदा पनि कांग्रेस समर्थक भएको आरोप लगाइयो,’ प्रकाशले भने, ‘प्रहरी कर्मचारीले ‘बालेनलाई माया गर्छस् कि गर्दैनस् ?’ लगायतका प्रश्न सोध्नुभयो। तर मैले कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको स्पष्ट पारेँ।’ त्यति गर्दा पनि आफूलाई बारम्बार राजनीतिक रूपमा वर्गीकरण गर्ने प्रयास गरिएको उनको दुःखेसो छ।
- फागुन १५ गते मालीगाउँस्थित कोठाबाट कारण नबताई नियन्त्रणमा लिएको प्रकाश भट्टको दाबी।
- हिरासतमा राजनीतिक आस्था, मतदान र बालेन शाहबारे प्रश्न सोधिएको तथा कुटपिट, दुर्व्यवहार र अपमानजनक व्यवहार भएको आरोप।
- तीन दिनसम्म पक्राउको कारण नबताइएको र पछि देखाइएको पक्राउ पुर्जीमा अनियमितता भएको दाबी।
- सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण आदेशपछि रिहा भए पनि जिल्ला प्रशासन कार्यालयले पटक–पटक बोलाएर खाली कागजमा ल्याप्चे लगाउन दबाब दिएको आरोप।
त्यसपछि उनको मोबाइल जफत गरियो, लुगा फुकाल्न लगाइयो र पक्राउ पुर्जी नदेखाएर हिरासतमा राखियो। हिरासतभित्र आफूलाई शौचालय सफा गर्न लगाइएको, हात धुन नदिई त्यही हातले खाना खान बाध्य पारिएको तथा कुटपिटसमेत गरिएको प्रकाशको दाबी छ। प्रकाश नेपाल ल क्याम्पसका विद्यार्थी हुन्। हिरासतभित्र रहेको मुलुकी अपराधसंहिता पढ्न खोज्दा प्रहरी अधिकारीले पछाडिबाट लात्ताले हानेर आफूलाई घाइते बनाएको उनले बताए। यति मात्र होइन, हिरासतभित्र केही कैदी र प्रहरीबीच लागूऔषध कारोबारसम्बन्धी गतिविधि भइरहेको आफूले देखेको समेत उनको दाबी छ।
पक्राउ परेका तीन दिन
पक्राउ परेको तीन दिनसम्म आफूलाई किन नियन्त्रणमा राखिएको हो भन्ने जानकारी नदिएको उनले बताए। तीन दिनपछि पक्राउ पुर्जी देखाइए पनि त्यसमा पक्राउकै दिनको मिति राखिएको थियो। त्यसपछि उनलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको उनले बताए।
त्यहाँ आफूले पक्राउको कारण सोध्दा प्रहरीले ‘हामीलाई पनि खासै थाहा छैन’ भन्ने आशय व्यक्त गरेको उनले बताए। सरकारी वकिलहरूले प्रहरीले तयार पारेको पक्राउ पुर्जीमा प्रश्न उठाएपछि त्यो पुर्जी च्यातिएको र नयाँ पक्राउ पुर्जी तयार गरिएको उनले बताए।
पक्राउ परेको पाँचौं दिन प्रकाशका तर्फबाट उनकी सानीआमा गीता शाहले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन २७ गते प्रकाशलाई रिहा गर्न आदेश दिएको थियो।
रिहाइपछि पनि सकिएन प्रशासन धाउनुपर्ने क्रम
सर्वोच्च अदालतको आदेशपछि प्रकाश र उनकी सानीआमा जिल्ला प्रहरी परिसर पुगे। प्रकाशलाई रिहा गरियो। तर केही घण्टापछि जिल्ला प्रशासन कार्यालयबाट फोन आयो। आदेश लिएर कार्यालय आउन भनियो।
कार्यालय पुगेपछि नायब सुब्बा विष्णुप्रसाद अधिकारीले खाली कागजमा ल्याप्चे लगाउन दबाब दिए। उनले कागज खाली रहेको भन्दै कारण सोध्दा ‘पछि लेख्छु’ भन्ने जवाफ पाए।
त्यसपछि उनलाई विभिन्न मितिमा बारम्बार तारिखमा बोलाउने गरिएको छ। ‘प्रत्येक पटक खाली कागजमा ल्याप्चे लगाउन लगाइन्थ्यो, अरूलाई जानकारी दिए राम्रो नहुने भन्दै चेतावनी दिइन्थ्यो र मुद्दाको मिसिलसमेत हेर्न दिइँदैनथ्यो,’ प्रकाशले भने, ‘प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई भेट्न ११ वटा निवेदन दिएँ। तर कुनै पनि निवेदनको सुनुवाइ भएन।’
किताब पनि फिर्ता भएन
प्रकाश २ लाख ५० हजार रुपैयाँ ऋणमा ‘खरानी’ पुस्तक प्रकाशनको अन्तिम तयारीमा थिए। राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचकमा पहिलो चरणमा नाम निकालेका थिए।
दोस्रो चरणको परीक्षा दिने तयारी गरिरहेका क्रममा प्रहरीले पुस्तकको पाण्डुलिपिसहित राष्ट्रिय अनुसन्धान विभागको पास भएको प्रमाणपत्रसमेत खोसेर लगेको उनले बताए। पुस्तक फिर्ता माग्दा ‘त्यति जाबो किताब फेरि लेखिहाल्छस्’ भन्ने जवाफ आउने गरेका थियो। मिसिल हेर्न वा पक्राउको आधारबारे जानकारी माग्दा पनि आफूलाई सरकारी कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा लगाइदिने धम्की दिइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !