पुष्पलाल स्मृति दिवस आज, रामेछापसहित देशभर कार्यक्रम गरी मनाइँदै
काठमाडौं : एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाउँदैछ। स्मृति दिवसका अवसरमा आज पुष्पलालको जन्मभूमी रामेछापमा नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक अन्तर्क्रिया हुँदैछ।
यसैगरी नेकपा (एमाले) राजधानी प्रदेश कमिटीको आयोजना 'संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व' विषयक प्रवचन कार्यक्रम राखिएको छ।
कार्यक्रममा प्रमुख अतिथि एमाले अध्यक्ष के पी शर्मा ओली, नेपाली काँग्रेसकी उपसभापति पुष्पा भूषाल, नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठ, संविधान विद् राधेश्याम अधिकारी, संविधान विद् टीकाराम भट्टराई लगायतले सम्बोधन गर्नेछन्।
वि.सं. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाएका थिए। जहानियाँ राणा शासनविरुद्ध संगठित रूपमै संघर्ष भइरहँदा पुष्पलालका दाजु गंगालालसहितका ४ जनाले जीवन समर्पण गरेका थिए।
पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेका थिए।
वि.सं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए।
नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए।
नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राखेका थिए। उनको वि.सं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो। एमालेको भातृ संगठन प्रेस चौतारी नेपाल, रामेछापले पुष्पलालको स्मृतिमा 'पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार' वितरण गर्दैछ।
प्रतिक्रिया दिनुहोस !