२४ वर्षमा पनि सकिएन कमेरोटार जग्गा एकीकरण आयोजना
भक्तपुर : शहरीकरणलाई व्यवस्थित बनाउने उद्देश्यले भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा सुरु गरिएको कमेरोटार जग्गा एकीकरण आयोजना सुरु भएको करिब २४ वर्ष बितिसक्दा पनि अझै पूर्ण हुन सकेको छैन । आयोजना लामो समयसम्म अधुरै रहँदा स्थानीय जग्गाधनी तथा सर्वसाधारणले सडक, ढल, खानेपानीलगायत आधारभूत पूर्वाधारको सुविधा पूर्ण रूपमा पाउन सकेका छैनन् ।
आयोजनासम्बन्धी संक्षिप्त जानकारी दिन आयोजनाको कार्यालयले सोमबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आयोजनाको काम अझै बांँकी नै छ । मध्यपुर थिमि नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन कार्यालय भक्तपुरद्वारा सञ्चालित आयोजनाको ९० प्रतिशत काम सकेको पत्रकार सम्मेलनमा जनायो ।
पत्रकार सम्मेलनमा निमित आयोजना प्रमुख दिगम्वर गोजा श्रेष्ठले जग्गा एकीकरण शहरी विकासको प्रभावकारी विधि भएकाले आयोजना थालेको जनाए । यसमार्फत निश्चित क्षेत्रभित्र रहेका साना–ठूला तथा अनियमित आकारका जग्गाहरूलाई एकीकृत गरी प्रत्येक प्लटबाट निश्चित प्रतिशत जग्गा सार्वजनिक प्रयोजनका लागि छुट्याइ सडक, वर्षा पानी निकास, खुला क्षेत्र तथा अन्य पूर्वाधार निर्माण गरेर पुनः व्यवस्थित घडेरीका रूपमा जग्गाधनीलाई फिर्ता गर्ने व्यवस्था गरिएको उनले जनाए ।
आयोजनाको पृष्ठभूमि अनुसार बढ्दो जनसंख्या, तीव्र बसाइँसराइ र आवासको चापका कारण साविक भिमसेन र बालकुमारी गाविसका विभिन्न वडामा अनियोजित रूपमा घर निर्माण बढ्दै गएको थियो । पर्याप्त सडक, ढल तथा वर्षा पानी निकासको व्यवस्था नहुँदा भविष्यमा अव्यवस्थित बस्ती विस्तार हुने जोखिम देखिएपछि नेपाल सरकार र मध्यपुर थिमि नगरपालिकाले कमेरोटार क्षेत्रमा जग्गा एकीकरण आयोजना लागू गर्ने निर्णय गरेका थिए ।
आयोजना काठमाडौं–भक्तपुर पुरानो सडक, अरनिको राजमार्ग, चपाचो–लामागोल–गुल्मुठ्ठा–पाटी विहार हुँदै जाने पुरानो सडक तथा राजकुलोबाट घेरिएको क्षेत्रमा सञ्चालन गरिएको हो । यसले व्यवस्थित शहरीकरण र आवासीय विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको थियो । तर, योजना सुरु भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि आयोजना अझै पूर्णता नपुग्दा स्थानीयवासी निराश बनेका छन् । कतिपय स्थानमा सडक तथा ढल निर्माण अधुरै रहेको, केही जग्गाधनीले अझै व्यवस्थित घडेरी प्राप्त गर्न नसकेको तथा प्रशासनिक र प्राविधिक प्रक्रियाका कारण काम लम्बिएको स्थानीयको गुनासो छ ।
स्थानीयवासीले लामो समयदेखि आयोजना सम्पन्न नहुँदा घर निर्माण, जग्गा कारोबार र पूर्वाधार उपयोगमा समेत समस्या झेल्नु परेको बताएका छन् । आयोजना छिटो सम्पन्न गरी व्यवस्थित सडक, ढल, हरियाली तथा सार्वजनिक सेवा उपलब्ध गराउन उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन् ।
शहरी विकास विज्ञहरूका अनुसार जग्गा एकीकरण आयोजना सफलतापूर्वक सम्पन्न भए व्यवस्थित बस्ती विकास, सार्वजनिक पूर्वाधार विस्तार, जग्गाको मूल्य वृद्धि तथा दीर्घकालीन शहरी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्नेछ । तर, कमेरोटार आयोजना २४ वर्षसम्म पनि पूरा हुन नसक्दा योजनाको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ ।
अब आयोजना सम्पन्न गर्ने स्पष्ट कार्यतालिका सार्वजनिक गर्दै बाँकी काम शीघ्र सम्पन्न गर्न स्थानीय तह, काठमाडौं उपत्यका विकास प्राधिकरण र सम्बन्धित सरकारी निकायले प्रभावकारी समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ । पत्रकार सम्मेलनमा भक्तपुरका सांसद् मदनकृष्ण श्रेष्ठ, कार्यबाहक आयोजना उपभोक्ता समितिका अध्यक्ष ओम श्रेष्ठले आयोजनाका विविध पक्षबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !