श्रीमतीको ज्यान मार्ने उद्योग गर्ने श्रीमान पक्राउ
सर्लाही : सर्लाहीमा श्रीमती कुटपीट गरी मार्न खोजेको अभियोगमा श्रीमान पक्राउ परेका छन्। बागमती नगरपालिका –०५ टेकानीस्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने बसन्ता बैठा धोबीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सर्लाही, धनकौल गाउँपालिका –०१ शेखौना बस्ने २१ वर्षीय धोबीले सोमबार राति करिब ८ बजे आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए। घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैया पुर्याएको थियो। सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकोमा पुन: थप उपचारको लागि राति १०:३० बजे रौतहटको बेटर नेपाल, गरुडामा लगेर उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !