सगरमाथाको काखमा (फोटो फिचर)

सगरमाथाको काखमा (फोटो फिचर)

काठमाडौं: समुद्री सतहबाट एक हजार पाँच सय मिटरको उचाइबाट पैदलयात्रा सुरु गर्नुथियो, पाँच हजार तीन सय ८० मिटरमा रहेको सगरमाथा आधार शिविरसम्म।

उमा  बिष्ट

काठमाडौंमा स्कुटरमा हिँडिरहेको र उति हिँड्ने बानी नपरेको मप्रति सबै सशंकित थिए। सबैको अनुहारको आश्चर्य म पढ्न सक्थेँ- के म त्यो उचाइसम्म पुग्न सक्छु त भन्ने भावको। सोलुखुम्बुको लुक्लासम्मको हवाईयात्रापछि बाँकी यात्रा पूरा गर्नु थियो। हिँड्नुको विकल्प थिएन। काठमाडौंको कोलाहलबाट बाहिरिएर लुक्ला पुगेपछि जो-कोहीको शरीरमा नयाँखाले ऊर्जा आउँछ, मेरो अनुभवले यस्तै भन्छ। त्यसमाथि कहिले पानी पर्ने, कहिले हिउँ र आक्कलझुक्कलको टन्टलापुर घामले शरीरमा फरक खाले ऊर्जा सञ्चारित हुन्छ। नीलो आकाशमुनि टलक्क टल्किएका हिमशृंखला जहाँबाट हेरे पनि केही पाइलापछि नै अँगालो मार्न सकिन्छझैं देखिन्छ।

लुक्ला, फाक्दिङ, नाम्चे, दिबोचे, दिङबोचे, थुक्ला, लोबुचे, गोरक्सेप अनि सगरमाथा आधारशिविर। क्रमैसँग छिचोल्दै जानुपर्ने यी ठाउँहरूमा छिनछिनमै फरक मौसमसँग भिज्नुपर्ने हुन्छ। बाटोभरि भेटिने भरियाले ध्यान खिच्छन्।

पिठ्युभरि गह्रुंगो भारी बोकेर उकालो लागिरहेका भरियाहरूमा १२,१३ वर्षदेखिका बालकदेखि ६०,६५ वर्षका वृद्धहरू हुन्छन्। उनीहरूलाई देख्दा लाग्छ, यस्तो ठाउँमा यत्रो भारी बोक्ने शक्ति कहाँबाट आउँछ ?

आफू ११ केजीको क्यामेरा ब्याग बोकेर हिँड्दा त उकालोमा हरेक पाँच मिनेटमा आराम गर्नुपर्ने हुन्छ। ती भरिया भने ४०/५० केजीको भार बोकेर सजिलै हिँडिरहेका हुन्छन्। हिमाली क्षेत्रका महिला देखेर पनि जोस बढ्ने।

 

यता महिलाहरू घरधन्दादेखि व्यापार व्यवसायसम्म सक्रिय देखिन्छन्। बालबच्चालाई हेरचाह गर्नेदेखि होटेलमा आएका पाहुनाको सत्कारसम्ममा उनीहरूकै अग्रसरता हुन्छ। खुम्बु उपत्यकामा अतिथिलाई भगवानलाई झैं सत्कार गरिन्छ।

खुम्बु उपत्यकामा सामान आयातको प्रमुख साधन भनेको भरिया, खच्चड, जोक्प्यो, याक र हेलिकप्टरमात्रै हुन्। यहाँ पुगेपछि सामानको भाउले पनि सगरमाथाकै उचाइलिन्छ।

विदेशी पर्यटकलाई जस्तो नेपालीलाई चाहिँ ब्याट्री चार्ज गरेको, इन्टरनेट चलाएको र पानीको पैसा लिइँदैन। बाटोभरि भेटिने थरीथरी रङका गुराँस अन्य बोटबिरुवाले यात्रालाई अझै रमणीय बनाउँछ।

थुक्लाको उकालो चढ्दा भारी बोकेर झर्दै गरेका याकको घाँटीमा झुन्डिएका घन्टीबाट आएको सांगीतिक तालले एक प्रकारको बेग्लै शक्ति दिन्छ। धारशिविरको यात्रामा बाटोमा भेटिने भनेको विभिन्न ट्रेकबाट फर्किंदै गरेका, ट्रेक जाँदै गरेका, पर्यटक, शेर्पाहरू, सगरमाथा आरोहण गरेर फर्किएकाहरू हुन्।

२०७२ सालको भूकम्पले पहिरो गएर बाटो उति सहज छैन। ढुंगैढुंगाको बाटो हिँड्नुपर्र्छ। गोरक्सेप पुग्ने ठाउँमा एउटा खुट्टा चिप्लियो भने सीधै खुम्बु ग्लेसियरमा पुगिन्छ।भारी बोकेर याक हिँडेको देख्दा आङ नै सिरिङ हुन्छ।

याकधनी लामाकाजी शेर्पा यस्तो बाटोमा मानिसलाई भन्दा याकलाई हिँड्न सजिलो हुने बताउँछन्। पाँच हजार तीन सय ८० मिटरको उचाइमा पाइला राखेपछि ठूलै सफलता हात पारेजस्तो अनुभूति हुने रहेछ। छुट्टै संसारमा पुगेझै लाग्ने।

ग्लेसियरमाथि मिलाएर राखिएको टेन्ट, भान्सामा खाना पकाउन व्यस्त शेर्पा दाइहरू, सुन्दर सानो बस्तीझैं लाग्छ यो ठाउँ। यहाँ अत्यावश्यक सम्पूर्ण सामानको व्यवस्था हुन्छ।

विभिन्न आकृतिमा ठडिएका ग्लेसियर अनि वरिपरि देखिने लोत्से, पुमारी र अन्य हिमाललाई छिनछिनमै ढपक्कै कुहिरोले लुकाइहाल्ने रहेछ।यस्तो लाग्छ, हामीसँग लुकामारी खेलिरहेका छन् लहरै ठडिएका हिमशृंखला। हामीलाई खेलाइरहेको छ यहाँको प्रकृतिले।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.