युरोकपमा जर्सी व्यापार ह्वात्तै बढ्यो
काठमाडौं: गोल्डेन गेट कलेजमा पढ्ने मुगुका राजबहादुर बुढा क्षेत्रीले बिहीबार चाइना टाउनको आरजे स्पोर्टसमा बेल्जियमको जर्सी किने। 'फेवरेट प्लेयर इडन हाजार्ड भएकाले बेल्जियम मन पर्छ', उनी भन्दै थिए।
फुटवलप्रेमीबीच आफ्नो फेवरेट टिमको जर्सी किन्ने फेसनका कारण ठूला फुटवल प्रतियोगिताका बेला जर्सीको बजार गर्माउने गर्छ। १८ वर्षदेखि खेलकुद सामग्रीको व्यापार गरिरहेका जनक न्यौपानेका अनुसार फुटवलप्रति क्रेज भए पनि जर्सी किन्ने चलन सुरु भएको धेरै भएको छैन।
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपदेखि जर्सीको व्यापार ह्वात्तै बढ्न थालेको थियो। युरो कपमा पनि जर्सीको व्यापार हुन थालेको चाहिँ गएको (२०१२) युरोकपदेखि मात्र हो। उनका अनुसार युरोपका लिग प्रतियोगिताका साथै सोसल मिडियाले जर्सीको क्रेज बढाएका हुन्।
युरोसँगै कोपा अमेरिका चलिरहे पनि जर्सीको माग हेर्दा कोपा अमेरिकामा फुटवलप्रेमीको उतिसारो चासो देखिएको छैन। तैपनि अर्जेन्टिना र ब्राजिलका जर्सीको व्यापार भइरहेकै छ। ती दुईबाहेक कोपा अमेरिका कपमा सहभागी टिमको जर्सी उपलब्ध पनि छैन।
'विश्वकपका बेला मगाएर थन्किएका ब्राजिल र अर्जेन्टिनाको जर्सी कोपा अमेरिका कपका बेला पारेर बेचियो', उनी सुनाउँछन्। न्यौपानेले गरेको जर्सीको थोक र खुद्रा बिक्रीअनुसार युरो कपमा इङल्यान्डका फुटवलप्रेमी सबैभन्दा बढी देखिएका छन्।
यसपछि विश्वकप विजेता जर्मनी, युरो आयोजक फ्रन्सको टिमको जर्सीको माग छ। यसपछि इटाली, स्पेन, पोर्चुगल, बेल्जियमको जर्सीको माग छ। खेलकुद सामग्री व्यवसायी कपिलदेव नेपालका अनुसार उनीकहाँ सबैभन्दा बढी जर्मनी, यसपछि इङल्यान्ड, फ्रान्स, स्पेन, इटालीको जर्सीको माग छ। स्विडेनको जर्सी पनि फाट्टफूट्ट बिकेको छ। उनका अनुसार नेपालमा सबैभन्दा बढी माग हुने अर्जेन्टिनाको जर्सी हो।
फुटवल प्रेमीमा युरोपका चर्चित लिगको प्रभाव बढी छ। तिनले आफ्नोे फेवरेट क्लब र त्यसका मनपर्ने खेलाडीले खेल्ने देशप्रति झुकाव देखिने गर्छ। युरोपमा इंगलिस प्रिमियर लिग (इङल्यान्ड), ला लिगा (स्पेन), बुन्डेस लिगा (जर्मनी) र सिरि ए (इटाली) चर्चित छन्।
तिनमा पनि काठमाडौंमा इंगलिस प्रिमियर लिगको बढी हेरिने मानिन्छ। यसैले प्रिमियर लिगको मनपर्ने खेलाडी खेल्ने देशप्रति झुकाव बढी हुन्छ। 'इङल्यान्डको जर्सी माग हुनुमा प्रमुख कारण प्रिमियर लिग खेल्ने खेलाडीहरु हुन्', उनी भन्छन्।
क्लबको प्रभाव कतिसम्म छ भने प्रिमियर लिग क्लब आर्सनलको फ्यान समिरमणी दिक्षित आर्सनल खेलाडीहरु भएकै कारण विश्वकप र युरोमा इङल्यान्डको पक्षमा हुन्छन्। यस्तै कोपा अमेरिकामा उनी चिलीको समर्थनमा यसकारण छन, आर्सनल स्ट्राइकर सान्चेज चिलीको टिममा छन्।
यस्तै महिला फुटवलप्रेमीमा पोर्चुगलको जर्सी सर्वाधिक माग हुने गर्छ। यसपछि अर्जेन्टिना। क्रिश्टियानो रोनाल्डो र लियोनल मेस्सीको क्रेज महिलामा बढी भएकाले ती देशको जर्सीको माग बढेको हो। पोर्चुगल, अर्जेन्टिना, ब्राजिल बाहेकका जर्सीमा महिलाले लगाउने जर्सी पाउन मुश्किल छ।
जर्सी लगाएको फोटो फेसबुकमा पोस्ट गर्ने फेसनका कारण जर्सीको माग ह्वात्तै बढेको हो। दुई वर्षअघिको विश्वकपदेखि एउटै घरमा बाबुआमा, छोराछोरीले फरकफरक जर्सी लाउने क्रम सुरु भयो। 'घरका चारैजना फरक फरक टिमको फ्यान भएको पनि देखियो,' उनी सुनाउँछन्, 'जर्सीको व्यापार ५० प्रतिशत त फेसबुकले बढाएको हो।'
न्यौपानेका अनुसार ७ वर्षअघिसम्म काठमाडौंमा खेलकुद सामग्रीका पसल एउटा हातको औंलामा गन्न सकिने संख्यामा थिए। अहिले टोलटोलमा पसल खुलेका छन्। उपत्यकामा दुई सय पसल नाघेको उनको अनुमान छ। यी पसलको व्यापारको एउटा कारण जर्सी हो।
विश्व कप, युरो कप त ४÷४ वर्षमा हुन्छन्, त्यसैबेला ह्वात्तै व्यापार बढ्ने हो। तर लिगका कारण क्लबका जर्सी वर्षभरि माग हुन्छ। काठमाडौंमा सर्वाधिक माग म्यानचेष्टर युनाइटेडको हुन्छ भने दो स्रोमा आउँछ स्पेनिस क्लब बार्सिलोना। त्यसपछि जर्सी बिक्ने क्ल इङलिश क्लब छन्, चेल्सी, लिभरपुल, आर्सनल।
ठूला प्रतियोगितामा जर्सीको व्यापार बढे पनि जोखिम उत्तिकै छ। काठमाडौंका बजारमा बिक्री हुने जर्सी चीनबाट आयात हुन्छ। प्रतियोगिता अवधिमा बिक्री नभए बेच्न मुश्किल पर्छ। 'म इङल्यान्डको समर्थक हुँ, तर व्यापारका कारण फ्रान्सले जिते हुन्थ्यो भन्ने अवस्था छ', न्यौपाने भन्छन्। व्यापारीले आयोजक राष्ट्र भएकोकारण फ्रान्सको जर्सी बढी मगाएका छन्।
स्पोर्टस युनिभर्सका सञ्चालक दिपक विष्टका अनुसार जर्सीको व्यापारमा जोखिम भएकाले पपुलर ७, ८ टिमबाहेकका जर्सी आयात गरिन्न। युरो कपमा खेलिरहेको वेल्सको जर्सी खोज्न आए पनि जर्सी बजारमा छैन। बजारमा ब्रान्डेड जर्सी उपलब्ध भए पनि तिनको खासै माग छैन।
एडिडास बिक्रेता सञ्जिव तुलाधरका अनुसार एडिडास प्रायोजक रहेका टिमको जर्सी उपलब्ध भएपनि खासै माग छैन। बजारमा चीनमा बनेका जर्सी पाँच सयदेखि एक हजार रुपैया“सम्म पाइन्छन्। तर एडिडासको जर्सी किन्न कम्तीमा पाँच हजार तिर्न तयार हुनपर्छ।
गत विश्वकपमा इङल्यान्ड, इटाली, फ्रान्सजस्ता फुटवल पावरहाउस पहिलो चरणबाटै बाहिरिएका कारण तिनको जर्सी थन्कियो। ती जर्सी अहिले ५० प्रतिशतसम्म छुट दिएर बिक्री गर्नुपर्यो। विश्वकपमा बेल्जियमको जर्सीको माग एकदम बढे पनि जर्सी झिकाएका थिएनन्।
यही बेल्जियम प्रिन्ट गरेर पनि हारालुछ भएको थियो। तर,युरोमा बेल्जियमको जर्सीको माग अपेक्षितरूपमा भएन। इन्फोजर्सीको थोक र खुद्रा बिक्रीअनुसार युरो कपमा इङल्यान्डका फुटवलप्रेमी सबैभन्दा बढी देखिएका छन्। यसपछि विश्वकप विजेता जर्मनी र युरो आयोजक फ्रन्सका टिमको जर्सी माग छ।