सपनाको व्यापार

सपनाको व्यापार

सुन्दा अचम्म लाग्छ, के सपनाहरूको पनि व्यापार हुन्छ त ? यो पुँजीवादी दुनियाँ हो र यसमा जे सकिन्छ त्यो घनघोर तरिकाले बेच्नुपर्छ। यही समाज व्यवस्थाको पराकाष्ठामा हामी बाँचिरहेका छौं। यहाँ शरीर बेचिन्छ, अंगअंग काटेर बेचिन्छ। आजकल शरीरभन्दा पैसा ठूलो छ।

मिर्गौला बेचेर गुजारा गर्नेहरू हाम्रै समाजमा भेटिन्छ्न। देहव्यापार फस्टाएको छ। यतिसम्म हुन्छ कि यही व्यवस्थाले निम्त्याएका गरिबहरू र तिनका गरिबी बिक्री हुन्छन्। नपत्याए कर्णाली जाऔं, त्यहाँका गरिबहरूको फोटो खिचेर डलरमा बेच्नेहरू काठमाडौंका आलिसान महलहरूमा भेटिन्छन्। उताको झुप्रो हुरीले उडाएर लैजान्छ।

जे भेटे पनि बेच्ने बानी लागेकाहरू क्यामेराको लेन्सलाई फ्ल्यानेलको कपडाले मुसार्दै उनीहरू अझ गरिब हुने समयको प्रतीक्षा गर्दछन्। ता कि ती क्यामेराका लेन्सहरूले मान्छेको अनुहारलाई भन्दा बढ्ता गरिबीलाई फोकस गरोस्। फोटोमा एउटा छुट्टै प्रकारको गरिबीको चित्र आओस्, अनुहारभन्दा धेरै भिन्न।

जसको क्यामेराले जति धेरै फुटेका सपनाहरू र टुटेका आशाहरू कैद गर्न सक्छ, विश्वबजारमा सोही फोटोको माग उच्च र बिक्री दमदार हुने गर्दछ। आजकल मुस्ताङतिरका जनताले फोटो खिचाउन मान्दैनन्, कारण उनीहरूको फुटेको गाला, लट्टा परेका कपाल र कट्कटिएको सिंगानहरू थुप्रै पटक बजारमा बेचिए। अब उनीहरूलाई लागेको हुनुपर्छ, हाम्रो गरिबी बेचेर धेरै धनी भए, गरिबी हाम्रो सम्पत्ति हो, यसलाई अब बेच्न दिनु हुँदैन।

आजकल नयाँ तरिकाले मिडियाको प्रयोग गरेर गरिबी बेच्ने ढंगलाई परिवर्तन गरिएको छ। बेच्ने ढंग अलि फरक छ। अनलाइन साइटका हरेक हिटहरूमा एकएक रुपैयाँमा गरिबीको लिलाम हुन्छ। नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, डोल्पा, मुगुजस्ता ठाउँहरूमा ती स्तम्भकारहरूलाई तारेहोटेलमा बस्न पुग्ने खर्चसहित पठाइन्छ, जहाँ तारेहोटेल हुन्नन्, त्यहाँ कुनै विकल्प नभएपछि एउटा गरिबको घरमा पुगेर भान्छाको तस्बिर लिँदै दुनियाँलाई देखाइन्छ।

उनीहरूको गरिबी देखाएर एउटा सामान्य मान्छे लेखक हुन सक्छ। एउटा सामान्य पत्रिका राष्ट्रिय पत्रिका हुन सक्छ। एउटा टुटेफुटे सायरी र मुक्तक लेख्ने मान्छे उपन्यासकार हुन सक्छ।

 

साइकल चढ्ने मान्छे गाडी चढ्ने बन्छ तर जसजसको फोटो खिचिन्छ, उनीहरू अझ गरिबीको दिशातिर बामे सर्दै गरेका हुन्छ्न्। त्यसमा पनि सिन्डिकेट छ, फोटा खिच्ने संस्थाहरू पनि छन, जसलाई आईएनजीओ र एनजीओ भनिन्छ। उनीहरूको इलाका छ, जसरी एउटा फ्याउरोले नयाँ ठाउँमा गयो भने त्यसको चारैतिर पिसाब फेरेर आफ्नो इलाका निर्धारण गर्छ, त्यसै गरेर चार किल्ला गाडेर गरिबी बेचेर धनी हुने पसलहरू खोलिएका हुन्छन्। 

सपनाको बिक्री गर्ने एजेन्टहरू नयाँ परिस्थितिमा नयाँ प्याकेजसहित नयाँ मूल्यमा उही पुराना सपनाहरूलाई फरक बारकोडमा बेच्न तयार देखिन्छन्। क्रेताहरूको सुनुवाइ हुने कुनै अदालत छैन। 

हामीले कल्पना पनि गर्न नसकिएका कुराहरू बेचिन्छन्। गरिबी बेच्ने एजेन्टहरू धेरै भएर तुलनात्मक रूपमा कम आम्दानी हुने भएपछि सपना बिक्री गर्ने लक्ष्यका साथ केही झुन्डहरू बजारमा आफ्नो ब्रान्ड स्थापित बनाउने कसरतमा छन्। अब सपनाको कुरा गरौं, सपनाहरू पनि सजिलै कहाँ बेच्न सकिन्छ र ? तिनलाई प्याकेजको रूपमा घोषणा गरियो भने एउटा बेच्दा अर्को पनि सहजै बेचिन्छ।

जस्तै काठमाडौंमा मेट्रो रेल कुँदाउने सपनालाई बिक्रीमा राखियो भने त्योसँगै राखिएको समुद्रमा पानीजहाज चलाउने अर्को सपनामा मान्छेहरूको ध्यान जान सक्छ र बेच्न सजिलो हुन्छ। सात वर्षमा गरिबी अन्त्य गर्न सकिने सपनाको साथसाथमा १५ वर्षमा विश्वकै धनी बन्ने सपनाको पनि लिलामी हुने सम्भावना कायमै रहन्छ।

विज्ञापनहरूमा ती सपनाहरूको मूल्य प्रदर्शन गरिएको हुन्न, त्यसकारण स्वभावैले क्रेताहरू बढी आकर्षित हुन्छन्। पछि मात्र थाहा लाग्छ, ती सपनाहरूको मूल्य यतिसम्म महँगो हुन्छ, जसलाई चुकाउन जीवन नै दान गर्नु पर्ने पनि हुन सक्छ।

२०५२ सालतिर पनि सपना बेचिएका थिए यस्तै गरेर। मान्छेहरूले किन्न सुरु गरे। धेरै मान्छेहरूले ती सपनाहरू अर्डर गर्न सुरु गरेपछि घरघरमा ती सपनाहरूको मूल्य सूची आयो। विडम्बना ती सूचीहरूमा पैसादेखि लिएर जीवन नै मागिएको थियो।

एउटै सपनाहरूलाई फरकफरक मूल्य तिर्न बाध्य भए। कसैले पाँच हजार तिरे, करिब १७ हजारले आफ्नो जिन्दगी तिरिदिए। लाखौंले घरबार तिरे तर लिलामीमा राखिएका ती सपनाहरू कहिल्यै यथार्थमा आएनन।

भोग्न नपाउँदै संकटमा परेको गणतन्त्र र कार्यान्वयन हुनै नसक्ने संविधानलाई देखाएर सपना घरघरमा पुगेको घोषणा गरिएको छ। जसले जीवनको मूल्य गुमायो, उसका परिवारहरूले ती सपनाको उपभोग गर्न पाएका छैनन्।

त्यतिबेला सपनाको बिक्री गर्ने एजेन्टहरू नयाँ परिस्थितिमा नयाँ प्याकेजसहित नयाँ मूल्यमा उही पुराना सपनाहरूलाई फरक बारकोडमा बेच्न तयार देखिन्छन्। क्रेताहरूको सुनुवाइ हुने कुनै अदालत छैन। मागभन्दा बढी आपूर्ति गरिएका ती सपनाहरूको मूल्य बजार सिद्धान्तअनुसार घट्नुपर्ने हो।

तिनीहरूको मूल्य निर्धारण गर्ने र सपनाहरूको गुणस्तर अनुगमन गर्ने निकायहरू छैनन्। विक्रेताहरू उही पुराना हुन्, तर क्रेताहरू नेपाली बजारमा बर्सेनि नयाँ थपिने गर्दछन। सपनाका उपभोक्ताहरू बारम्बार ठगिएका छन्। सपना किन्दा खर्च भएका खुट्टाहरू अब फर्केर आउँदैनन्, डुँडा भएका हातहरू, गोलीका छर्राहरू गढेका शरीरहरू लिएर टीभीमा सपनाका नयाँ प्याकेजहरू हेर्दै बस्ने उपभोक्ताहरू पुनः फस्ने गर्दछन्।

पटकपटक बेचिने उही सपनाहरू, उनै क्रेताहरू र उनै बिक्रेताहरूबीच सामान्य अर्थशास्त्रीय बजारमा देखिनुपर्ने न्यूनतम आचारसंहिता लागू भएको छैन। बत्तीमा पुतली झुम्मिएजस्तो गरेर सपनामा उपभोक्ताहरू झुम्मिने क्रम जारी छ।

अर्थशास्त्रमा एउटा स्याउ खाएबापत प्राप्त हुने उपयोगिता र १० वटा स्याउ खाएबापत प्राप्त हुने उपयोगितामा नकारात्मकअन्तर हुने गर्दछ। तर सपना भने जति किन्यो, त्यसको उपयोगिता बढ्दै गएको देखिन्छ। त्यही भएर त आजकल गण्डकी, कोसी कर्णालीहरू बेचिँदा पनि सपनाको आसले चुप बस्नु परेको छ। आवाज उठाउन पाइँदैन, त्यसको कारण सपना हो।

सपनाको व्यापार यतिसम्म फस्टाउनुको कारण उपभोक्ताहरूमा देखिएको आत्मविश्वासको स्खलन हो। माथिल्लो प्याराग्राफमै भनिएअनुसार यहाँ सबैलाई सपना देख्ने र पूरा गर्ने छुट छैन। जोसँग सपना देख्ने अधिकार छ, उसैको पछि लाग्नुपर्ने बाध्यता छ। सपना किन्दा मान्छेले इज्जत, आत्मसम्मान, आत्मविश्वास सबै गुमाइसकेको छ। यदि कसैले आफ्नै बलबुतामा सपना देख्छ भने उसलाई सपना चोरेको अभियोगमा दण्डित गरिन्छ।

फलस्वरूप मान्छे आफैंले आफ्नो सपना देख्न बञ्चित छ। तर सपना प्यारो हुन्छ, ऊ कसैले देखेको सपनाको गुणगान गाउने समूहमा भर्ती भएर पनि सपनाको विज्ञापन गर्दछ। आफैंप्रति विश्वास नभएकाहरूको जमात नै अहिले कुनै अमूक मान्छेले देखेको सपनाको विज्ञापन र बिक्री गर्ने एजेन्टहरूको जमात बनेको छ।

सपना बेच्न एउटै एजेन्टले वेदका मन्त्रदेखि लिएर माक्र्सका किताबहरूका वाक्यवाक्य याद गरेको छ। गीत, गजल, कथा, मुक्तकदेखि लिएर उखान टुक्कासमेत उसको जिब्रोमा अटाउँछ। कहिलेकहिले ती एजेन्टहरूलाई देखेर प्रशंसा गर्न पनि मन लाग्छ,’ वाह ! क्या क्षमता छ, कहिल्यै बिक्री गर्न नसकिने चीज पनि एकै मिनेटमा एउटा वाक्य भनेर बेचिदिन्छन्।'

चीन घडी, टीभी र मोबाइल बेचेर धनी भएको छ। जापान कोरिया गाडी बेचेर धनी भएका छन्। अरब देशहरू तेल बेचेर धनी भएका छन। इजरायल हतियार बेचेर धनी भएको छ। तर नेपालका केही एजेन्टहरू सपना र गरिबी बेचेर धनी भइरहेका छन्।

लगानी गर्नु नपर्ने, जनशक्ति नचाहिने, कुनै भूगोल या क्षेत्रफल नचाहिने, फगत एउटा माइक भएदेखि आफ्नो मनमा उत्पादित सपना सहजै बेच्न सकिने विश्वको एउटामात्र देश हो नेपाल। गरिबीको अन्तर्राष्ट्रिय व्यापार भए पनि सपनाको अन्तर्राष्ट्रियकरण भएको छैन, किनभने संसारमा नेपाली उपभोक्ताबाहेक अरू कसैले सपना रुचाउन्नन्।

हामी बत्ती वरिपरि घुम्ने पुतलीको त्यस्तो डीएनएले बनेका छौं। बारम्बार मर्दा पनि हामीलाई त्यही सपना प्यारो हुने गर्दछ, बारम्बार संगीनले घोचिँदा पनि हामीले सपना किन्न छोड्दैनौं। सपना किन्न खुट्टा गुमाउँछौं तर ह्विलचेयरमा बसेर फेरि सपनाको लिलामी भइरहेको ठाउँमा गएर मनपर्ने सपना छान्छौं।

हामीले कहिल्यै त्यसलाई किन्नुभन्दा पहिले मूल्य सोधेनौं। हामीले प्रायजसो मूल्यको रूपमा तिर्ने गरेका भोटहरू यतिसम्म मूल्यवान् हुन्छन् कि तिनै भोटहरू हाम्रा नाडीमा बगेका रगतजस्ता नदीहरू बेच्न प्रयोग हुन्छन्। हामीले सपनाको नाममा ब्ल्यांकचेकमा ल्याप्चे हान्दिन्छौं, उनीहरूले त्यहाँ हाम्रो जीवन लेख्दिन्छन्। अनि चुँडेर लैजान्छन र हाम्रा सन्तानहरू टुहुरा बनाइदिन्छन्।०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.